Logo

नेप्से सिथिल बन्दा दैनिक ओरालो लाग्दै कारोबार रकम, के गर्दैछन् लगानीकर्ता ?

नेप्से सिथिल बन्दा दैनिक ओरालो लाग्दै कारोबार रकम, के गर्दैछन् लगानीकर्ता ?



काठमाडौं । नेप्से परिसुचक सुस्त गतिमा ओरालो लाग्दा कारोबार रकमले पनि साथ छोड्दै गएको छ । पछिल्लो समय दैनिकजसो दोहोरो अंकले घटेको नेप्सेमा कारोबार रकम ६० करोड रुपैयाँ हाराहारीमा आएको छ ।

लामो समयदेखि ओरालो लागेको नेप्से परिसुचक अहिले १८ सय अंक आसपास आईसकेको छ । सेयर विश्लेषक तथा ठूला लगानीकर्ताले यसभन्दा पहिलाको उच्चतम विन्दु १ हजार ८८१ बाट नेप्से परिसुचक तल नझर्ने बताईरहँदा अहिले नेप्से विन्दु १ हजार ८३० अंकको हाराहारीमा ओर्लिसकेको छ । यसअघि ३२ सय अंक टेकेर ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचकले २८ सय २३ र पुनः १९ सय अंकबाट बढ्दै सुस्त गतिमा ओरालो यात्रा तय गरेको हो ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा देखिएको मन्दी, उच्च ब्याजदर, तरलता संकट र सेयर कर्जामा गरिएको कडाईका कारण अहिले लगानीकर्ताहरु पुनः बजारमा प्रवेश गर्न नसक्ने अवस्थामा पुगेका छन् । जसका कारण हाल नेप्सेमा सुचिकृत धेरैजसो कम्पनीका सेयर मूल्य हालसम्मकै सस्तोमा आउँदा पनि लगानीकर्ताहरु खरिद गर्ने पक्षमा नदेखिएका हुन्। ‘पछिल्लो समय बजार नपत्याउँदो तरिकाले सुस्त गतिमा घटिरहेको छ कुन बेला गति लिन्छ भन्ने विश्लेषण नै गर्न नसकिने अवस्था छ,’ एक लगानीकर्ताले भने, ‘यस्तो अवस्थामा बजारमा लगानी गर्दा थप समस्यामा पर्ने भएकाले अहिले पर्ख र हेरको अवस्थामा बसेका छौं ।’

साथै बजारले १-२ सय अंकको गति नलिएसम्म बजारमा प्रवेश गर्ने सोच नरहेको समेत उनको भनाई थियो ।
यस्तै एक अर्का लगानीकर्ता भने आफुले बजार २६ सयबाट माथि जाँदा लगानी गरेको तर अहिलेसम्म उक्त सेयर बिक्री गरेर बजारबाट बाहिरिन नसकेको बताउँछन् । ‘बजार २६ सय अंकबाट केही बढेर ओरालो लाग्न थालेको थियो अहिलेसम्म उक्त अंकमा पुग्न सकेन,’ ती लगानीकर्ताले भने, ‘आफुले खरिद गरेको भन्दा कम मूल्यमा विक्री गर्न सकिएन अहिले बैंकको ब्याज तथा मार्जिन कलले गर्दा दोहोरो मारमा परिएको छ ।’

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको कसिलो व्यवस्थामा केही सहजता नअपनाएसम्म अहिलेको अवस्थामा सेयर बजार नबढ्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘साना तथा मध्यम स्तरका लगानीकर्तासँग लगानी गर्ने क्षमता कम छ उनीहरुले बढीमा ८-१० करोड रुपैयाँको सेयर किन्ने हुन,’ ती लगानीकर्ताले भने, ‘बजारलाई चलायमान बनाउन ठूला र संस्थागत लगानीकर्ताको बाक्लो उपस्थिती हुनुपर्छ तर उनीहरुलाई राष्ट्र बैंकले विभिन्न खालका नीति नियम ल्याएर कसी लगाएको छ ।’ राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोड रुपैयाँको क्याप र जोखिम भारित औसतलाई नहटाएसम्म अहिलेको अवस्थामा बजारले गति नलिने संकेत ती लगानीकर्ताको थियो । यदि राष्ट्र बैंक सेयर कर्जा सम्बन्धी मौजुदा व्यवस्थामा लचिलो भएमा बजारले तत्कालै गति लिने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

सोमबार पनि नेप्से परिसुचक १७ अंकले घट्दै १ हजार ८३३ अंकमा ओर्लिएको छ भने कारोबार रकम ७९ करोड रुपैयाँमा सिमित भएको छ । कुनै समय दैनिक २२ अर्ब रुपैयाँसम्म कारोबार हुने बजारमा राष्ट्र बैंकले नयाँ व्यवस्था गरेर सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा, संस्थागत लगानीकर्ताको प्रवेशमा कडाई तथा जोखिम भारित औसत बढाएसँगै बजार घट्न सुरु गरेको थियो । जुन गति अहिलेसम्म रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्