Logo

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन मूल्यांकन समिति गठन, १ महिनाभित्रै टुङ्गो लाग्ने

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन मूल्यांकन समिति गठन, १ महिनाभित्रै टुङ्गो लाग्ने



काठमाडौं । नयाँ स्टक एक्सचेन्ज कम्पनीलाई लाइसेन्स प्रदान गर्न नेपाल धितोपत्र बोर्डले मूल्यांकन समिति गठन गरेको छ । बोर्डको आइतबार बिहान बसेको संचालक समितिको बैठकले ५ सदस्यीय मूल्यांकन समिति गठन गरेको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।

उक्त समितिको संयोजकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम रहेका छन् । यसैगरी सदस्यहरुमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् । संयोजक गौतम कानून मन्त्रालयको तर्फबाट, शाक्य अर्थमन्त्रालयको तर्फबाट र क्षेत्री राष्ट्र बैंकको तर्फबाट बोर्डको संचालक समिति सदस्य रहेका छन् ।

हाल बोर्डमा स्टक एक्सचेन्जका लागि ३ वटा कम्पनीको आवेदन परेको छ । तर बोर्डले एउटा स्टक एक्सचेन्ज कम्पनीलाई मात्रै लाईसेन्स दिने बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए ।

लाइसेन्सका लागि आवेदन दिएका कम्पनीको मूल्यांकन गर्नेछ । उक्त समितिले कम्पनीको कम्पनीको व्यवसायीक कार्य योजना, सञ्चालकको योग्यता तथा अनुभव, प्रस्तावित प्रविधिको गुणस्तर र चुक्तापूँजीको आधारमा मुल्यांकन गर्नेछ । जसका १०० अंकमा हुने मूल्यांकनमा कार्ययोजना अन्तरगत ६० अंक, प्रविधिको गुणस्तरमा २४ अंक, सञ्चालकको योग्यतमा ८ अंक र चुक्ता पूँजीको अंकभार ४ रहनेछ । सोही आधारमा बोर्डले स्टक एक्सचेञ्जर कमोडिटी एक्स्चेञ्जको लाईसेन्स दिने समेत बोर्डले स्रोतले जानकारी दिएको छ । उक्त कमिटिले एक महिनाभित्रै मूल्यांकको विषय टुङ्ग्याउने भएको छ ।

बोर्डमा नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज कम्पनीले आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL