Logo

एक्सचेन्जका लागि ३ र कमोडिटीका लागि ४ कम्पनीको आवेदन, कुनमा कसको लगानी

एक्सचेन्जका लागि ३ र कमोडिटीका लागि ४ कम्पनीको आवेदन, कुनमा कसको लगानी



काठमाडौं । नेपाल धितोपत्र बोर्डसमक्ष ३ समुहले नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन आईतबारसम्म हिमालयन, नेशनल र अन्नपुर्णको नामबाट ३ समुहका प्रतिनिधिले नयाँ स्टक एक्सचेन्ज संचालनका लागि आवेदन दिएका हुन् ।

नेपाल धितोपत्र बोर्डले २६ भदौ, २०७९ मा धितोपत्र बजार सञ्चालन नियमावलीको संशोधनमार्फत २ असोजमा स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज कम्पनी र धितोपत्र दलाल व्यवसायका लागि आवेदन माग गरेको थियो ।

तर, त्यसको मुद्दा सर्वाेच्च अदालतमा पुगेर ४ कात्तिकमा अन्तरिम आदेश दिंदै लाइसेन्स प्रक्रिया रोकेको थियो । त्यसपश्चात गत चैत अन्तिम साता सर्वोच्चले उक्त रिट खारेज गरेपछि लाइसेन्सको प्रक्रिया अगाडि बढेको थियो ।

त्यसपश्चात बोर्डले एक हप्ताको समय दिएर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको अनुमतिपत्रका लागि आवेदन माग गरेको थियो । सोही अनुसार आज अन्तिम दिनसम्म शंकर समूहको नेतृत्वमा हिमालयन स्टक एक्सचेन्ज, गैर आवासीय नेपालीहरुको बाहुल्य लगानीमा नेशनल स्टक एक्सचेन्ज र अर्काे अन्नपुर्ण स्टक एक्सचेन्जले अनुमतिपत्रका लागि आवेदन दिएका हुन् ।

यीमध्ये हिमालयन स्टक एक्सचेन्जमा भने हिमालयन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुको समुह रहेको बोर्ड स्रोतले जानकारी दिएको छ । जसमा शंकर ग्रूपका शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, दीपक भट्टलगायतको लगानी रहेको देखिएको छ ।

यस्तै यो कम्पनीमा खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्र्र्रूपका सतिशलाल मोर, दुगड ग्रूपका विवेक दुगड, ज्योति समूहका शौरभ ज्योति सहित रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङको समेत लगानी रहेको पाईएको छ ।

यस्तै अर्काे कम्पनी नेशनल स्टक एकसचेन्जमा भने दीपक तिमल्सिना एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जिवा लामिछाने तथा हालका अध्यक्ष कूल आचार्य, बद्री केसी लगायतको लगानी रहेको देखिन्छ । यो कम्पनीमा भने प्राय लगानीकर्ताहरु गैरआवासीय नेपाली छन् । यससँगै यो कम्पनीमा केडिया समूहका मनोज केडिया, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ लगायत व्यवसायिक घरानाको समेत लगानी रहेको छ ।

यस्तै अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडमा अन्नपुर्ण मिडिया हाउसका संचालक रामेश्वर थापा, गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद न्यौपाने, नारायण पाैडेल, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलगायतको लगानी छ ।

यता कमोडिटी एक्सचेन्जका लागि भने विभिन्न ४ कम्पनीले आवेदन दिएको बोर्डले जानकारी दिएको छ । बोर्डका सूचना अधिकारी तेज प्रसाद देवकोटाका अनुसार आज ५ बजेसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले अनुमतिपत्रका लागि आवेदन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL