काठमाडौं । नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाहरुको धितोपत्र निष्काशन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ को मस्यौदा सार्वजनिक गरेको छ । साना तथा मझौला कम्पनीहरुको सेयर कारोबारमा सरोकारवालाहरुको सुझाव लिनका लागि बिहीबार बोर्डले उक्त मस्यौदा सार्वजनिक गरेको हो ।
बोर्डले सार्वजनिक गरेको मस्यौदामा २५ करोड रुपैयाँभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई एसएमई कम्पनीमा गणना गर्ने उल्लेख छ । यस्तै मस्यौदामा अहिलेकै अवस्थामा दोस्रो बजारमा जान सकिने गरी साना तथा मझौला कम्पनीहरुलाई सुविधा दिईने उल्लेख छ ।
यस्ता कम्पनीले जारी गरेको आइपीओमा कम्तिमा २ सय ५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने मस्यौदामा उल्लेख गरिएको छ । तर, जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशत भन्दा बढी हुनेगरी आइपीओ भने जारी गर्न नपाईने व्यवस्था गरिएको छ ।