Logo

दैनिक सेयर बजार घट्दा प्रतिनिधिसभामा सांसदको प्रश्न, लगानीकर्ताले १६ खर्ब गुमाउँदा सरकार किन मौन ?

दैनिक सेयर बजार घट्दा प्रतिनिधिसभामा सांसदको प्रश्न, लगानीकर्ताले १६ खर्ब गुमाउँदा सरकार किन मौन ?



काठमाडौं । पछिल्लो समय सेयरबजारमा देखिएको ओरालो यात्राबारे प्रतिनिधिसभा बैठकमा कुरा उठेको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एवं सांसद एलपी सावाँ लिम्बुले सबैभन्दा धेरै नेपाली संलग्न भएको सेयरबजारमा लगातार गिरावट आउँदा पनि सरकारले ध्यान नदिनु गम्भिर भएको बताएका हुन् । ‘पूँजीबजारमा सबैभन्दा बढी नेपालीहरु संलग्न छन् ।

विगतमा दैनिक २२ अर्बभन्दा बढीको कारोबार भईरहेकोमा १ अर्बमा सीमित भएको छ,’ उनले भने, ‘३२ सय बाट १८ सयमा झरेको छ । सेयरबजारका आकार ४४ खर्बबाट घटेर २८ खर्बमा झरेको छ । पुँजीबजार आर्थिक संकटतर्फ उन्मुख छ ।’
यस्तै उनले बैठकमा उच्च ब्याजदरले उद्योगी व्यवसायी आक्रान्त भएको बताएका छन् । ‘दैनिक पत्रिकामा कालोसूचीमा पर्नेहरुको नाम भटाभट आउन थालेको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दुवानीको लागत बढेको छ, गरिव र मध्यम वर्गका मान्छेलाई बाँच्न गाह्रो परेको छ,’ उनले भने, ‘सटरहरु बाहिर टु लेट लेख्ने क्रम बढेको छ । निर्माणजन्य उद्योगहरु धरासायी बनेका छन् ।’

अर्थतन्त्रका सबैजसो सूचकहरुमा निराशाजनक संकेत देखिँदा बैदेशिक रोजगारमा जानेको संख्या बढेको उनले बताए । यस्तै उनले चालु आर्थिक बर्ष बर्ष राजस्व उठौतिमा गत बर्षभन्दा १ खर्ब बढीको गिरावट आएको बताएका छन् । सरकार भएपनि नभएको जस्तो अनुभव भएको उनले बताए । यस्तो बेला सरकार मन्त्रालय भागबण्डा गर्नमै व्यस्त रहेकाले सरकारबाट जनताले आश गर्ने वातावरण नै नभएको उनको आरोप छ ।

उच्च व्याजदरका कारण समयमा ऋण तिर्न नसकेका र भाखा नाघेका उद्योगी व्यवसायीको भाखा थपेर कर्जा नविकरणको व्यवस्था मिलाउन उनले ध्यानाकर्षण गराएका छन् । कर्जा लिँदाका बखत गरिएको सम्झौतामा बैंकहरुले ८ देखि १० प्रतिशतसम्म ब्याजदर थपी १६ प्रतिशतसम्म ब्याजदर लिने प्रवृत्ति बढेको भन्दै उनले यो प्रवृत्ति हटाउनसमेत आग्रह गरेका छन् । उनले भारतसँगको खुला सिमानाका कारण नाकामा वस्तुको चोरी निकासी बढेको र यसले नेपाली उद्योगी व्यवसायीलाई नै धराप पारेकाले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL