काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले सम्वत बस्नेतलाई उनको शैक्षिक उत्कृष्टताको लागि प्रतिष्ठित ‘श्री शंकरलाल गोल्ड मेडल अवार्ड २०७९’ प्रदान गरेको छ । इन्जिनियरिङ अध्ययन संस्थानको ५७ औं वार्षिक उत्सवको अवसरमा २०७९ फागुन २९ गते सोमबार थापाथली क्याम्पसमा आयोजित कार्यक्रममा बस्नेतलाई प्रदान गरिएको उक्त पुरस्कारमा पदक, प्रमाणपत्र र नगद रु.५१,०००।– समावेश छ ।
कार्यक्रमा उपस्थित प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको ईन्जिनियरिङ शाखाका डिन, विद्यावारिधी, प्रो. शशिधर राम जोशी, थापाथली क्याम्पसका कार्यकारी क्याम्पस प्रमुख डा. खेम ज्ञवाली र जगदम्बा स्टील्स लिमिटेडका अप्रेसन एण्ड मार्केटिङ डाइरेक्टर रवी प्रकाशले बस्नेतलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।
यो अवार्डको नाम नेपालका प्रख्यात उद्यमी तथा जगदम्बा स्टिल्स लिमिटेडका संस्थापक श्री शंकरलाल अग्रवालको नाममा राखिएको हो । सन १९८० को दशकबाट उद्यमशीलताको यात्रा शुरु गरेका अग्रवाल नेपालको नामी उद्योगीको साथ साथै परोपकारी कार्यको लागि पनि उत्तिकै परिचित छन् ।
‘जगदम्बा स्टिल्स लिमिटेडले यस्ता कार्यक्रम र पुरस्कारहरुले विद्यार्थी लाई समाजमा अर्थपूर्ण योगदान गर्न प्रेरित गर्ने विश्वास लिएको छ । जगदम्बा स्टिल्स लिमिटेड बस्नेतलाई उहाँको सफलताको लागि बधाई र उहाँको आगामी कार्यहरुको लागि शुभकामना व्यक्त गर्दछ । यसका साथै विद्यार्थीहरूलाई उनीहरूको पूर्ण क्षमता महसुस गर्ने अवसर प्रदान गरेकोमा थापाथली क्याम्पसलाई बधाई ज्ञापन गर्दछौं’, विज्ञप्तिमा छ ।