काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही फागुन १० गतेदेखि आयोजना पीडित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो ।
कम्पनीले आफ्नो जारी पूँजी ४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय बराबरको प्रतिसेयर १ सय दरका ५ लाख ४२ हजार ५ सय ८३ कित्ता सेयर आयोजना पीडित क्षेत्र सङ्खुवासभावासीका लागि निष्कासन गर्न लागेको हो । त्यसमा पनि अति पीडित सङ्खुवासभाको साबिक सिद्धिकाली, सिद्धपोखरी र मावादिन गाविसका बासिन्दामा २ लाख ७१ हजार २ सय ९२ कित्ता र त्यसबाहेक सङ्खुवासभाका बासिन्दामा २ लाख ७१ हजार २ सय ९१ कित्ता छुट्याइएको छ ।
त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुने १ लाख ८ हजार ५ सय १७ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
स्थानीय लगानीकर्ताले सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन । जसमा आयोजना पीडित क्षेत्रका बासिन्दाका लागि निष्कासन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ९ गते हुने कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्नेछ । स्थानीय बासिन्दाले आयोजना स्थलमा रहेको कम्पनीको कार्यालय, मादी नगरपालिका–७, चैनपुर नगरपालिका–३ मा रहेको रेडक्रस भवन, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु र अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर नेपालले ‘केयर एनपी बिबी इस्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । कम्पनीले सङ्खुवासभामा चार दशमलव ७२ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।