Logo

गैरकानुनी बाटो रोकिदा सुन आयात ३ गुणाले बढ्यो, ८ महिनामै १४ अर्बको खरिद

गैरकानुनी बाटो रोकिदा सुन आयात ३ गुणाले बढ्यो, ८ महिनामै १४ अर्बको खरिद


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भुकम्प र नाकाबन्दीका कारण निर्यात व्यापार ओरालो लागेको बेला सुन आयात भने उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो ८ महिनामा सुन आयात झण्डै ३ गुणाले बढेको छ ।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुन मसान्तसम्म १४ अर्ब १३ करोडको सुन आयात भएको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा २ सय ९१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सुन आयात झण्डै ८० प्रतिशतले घटेर कुल ३ अर्ब ६१ करोड रुपैयाँको मात्र आयात भएको थियो ।

भुकम्प तथा नाकाबन्दीका कारण गैरकानुनी बोटोमार्फत सुन आयात हुने क्रम रोकिएकोले आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘पहिला हवाइ तथा स्थलमार्गबाट गैर कानुनी बाटोमार्फत सुन आयात भइरहेको थियो,’ उनले भने, ‘भुकम्प तथा नाकाबन्दी पछि सो क्रम रोकिएको छ ।’

भुकम्प तथा नाबाकन्दी भन्दा अघि भन्सार छलिका सुन प्रहरीले समात्ने क्रम बढेको थियो । तर पछिल्लो समय त्यसमा कति आएको समेत उनले जानकारी दिए । विशेष गरी चीनबाट नेपाल भित्रने सुनमध्ये ९० प्रतिशत गैर कानुनी तरिकाले आउने गरेकोमा हाल सवै कानुनी बाटोबाट आउने गरेको समेत उनले जानकारी दिए ।

शाक्यका अनुसार भुकम्प तश्चात हवाईमार्गबाट सुन तस्कर गर्नेको संख्यामा पनि कमि आएको छ । ‘पहिला हवाइमार्गबाट सुन तस्कर गर्थे तर भुकम्पमा ठूलो आहात भएकाले सो क्रम रोकिएको छ,’ उनले भने ।

नेपालमा सुन आयात घट्ने वा बढ्ने विषय भारतीय बजारमा निर्भर गर्ने एक बैंकरले जानकारी दिए । ‘हाल नेपालमा जति सुन आयात भइहेको छ त्यो सवै आन्तरिक रुपमा खपत भइरहेको छैन,’ ती बैंकरले भने, ‘विभिन्न बाध्यमबाट भारतमा सुन तस्करी भइरहेको छ ।’ भारतीय बजारमा सुनको माग बढ्दा आयात बढ्ने र घट्दा सोही अनुरुप गिरावट आउने समेत उनको भनाइ थियो ।

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य भने केही समय अघिसम्म सम्म बैंकहरुले सुन आयात गर्ने क्रम बढेपनि पछिल्लो समय रोकिएको बताउँछन् । ‘पहिला एकदमै बढी सुन आयात भएको थियो,’ उनले भने, ‘तर, अहिले सुन नविकेर आयात गर्न छाडेका छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL