काठमाडौं । पछिल्लो समय बैंकहरुले आफुखुसी ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको छ । लगातार कर्जाको व्याजदर बढ्दा लगानीकर्ताले त्यसको भार थेग्न नसक्दा सस्तो मुल्यमै भएपनि सेयर बेच्न बाध्य भएका छन् । जसका कारण मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसुचकमा उच्च अंकको गिरावट आएको छ ।
आज बजार खुलेदेखिनै घट्न सुरु गरेको नेप्से परिसुचक अन्तमा ३८.८१ अंकले ओरालो लाग्दै १८ सय ३७ को विन्दुमा झरेको छ । यस्तै आज कारोबार अवधिभर २ सय ३१ कम्पनीका ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ । पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभाव तथा उच्च व्याजदरका कारण लगानीकर्ताहरुले आफुसँग भएको सेयर सस्तो मुल्यमै भएपनि बिक्री गरेर बजारबाट बाहिरिन थालेका छन् । जसका कारण बजारमा सस्तो मुल्यमा सेयर आउँदा समेत खरिदकर्ता भेटिन छाडेका छन् ।
उच्च अंकले घटेको बजारमा सबै उपसमुहका परिसुचकहरु ओरालो लागेका छन् । त्यसमध्ये जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसमुहको परिसुचकमा उच्च अंकको गिरावट आएको छ । आज यी ३ उपसमुहको परिसुचकमा क्रमशः १९७, ११९, १०६ अंकको गिरावट आउँदा लघुवित्त उपसमुहको परिसुचक १०४ र उत्पादनमुलक उपसमुहको परिसुचक ९७ अंकले घटेका छन् ।
बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ उपसमुहको परिसुचकमा आज २० अंकको गिरावट आउँदा, वित्त, अतिरिक्त, म्युचुअल फण्ड तथा जलविद्युत उपसमुहको परिसुचक पनि सोही अनुरुप घटेका छन्