Logo

फ्लोरा एक्स्पो चैत १८ देखि, ६४ ओटा स्टल रहने

फ्लोरा एक्स्पो चैत १८ देखि, ६४ ओटा स्टल रहने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । १९औं फ्लोरा एक्स्पो आगामी चैत १८ देखि हुने भएको छ । एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजक फ्लोरिकल्चर एशोसिएशनले जानकारी दिएको छ ।

४ दिन सम्म चल्ने यो एक्स्पोको मुल नारा ‘स्वच्छ वाताबरण र आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’भन्ने रहेको छ । एक्स्पोको कृषि विकास मन्त्री हरिबोल गजुरेलले उद्दघाटन गर्ने कार्यक्रम छ ।

आइतवार सो एक्स्पो बारे जानकारी दिन आयोजिक पत्रकार सम्मेलनमा कृषि बिकास मन्त्रालयका उपसचिब डा. रुद्रबहादुर श्रेष्ठले पुष्प क्षेत्रमा भएको निर्यात भन्दा ७गुणा बढि भएको आयातलाई कम गर्न कृषि बिकास मन्त्रालय लागि परेको बताए । साथै यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको औल्याए । मेलामा ६४ वटा स्टलमध्ये अफिसियल स्टलका लागि ६ वटा, प्रतियोगितात्मक प्रदर्शनीका लागि ३ वटा, ल्याण्डस्केपिङका लागि ४ वटा र व्यवसायीक स्टलका लागि ५१ वटा स्टल छुट्याईएको छ ।

मेलामा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानालगायत प्रदर्शन गरिने छ । त्यस्तै कृषि औजार, उपकरण, प्याकेजिङका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधि र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहनेछन् ।

साथै मेलामा सहभागि भएका विभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु बिच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेकोछ । प्रतियोगिता उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा,उत्कृष्ट फूल्ने बिरुवा,उत्कृष्ट ल्याण्डस्केप,उत्कृष्ट पुष्प सजावट,उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर, उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा) र उत्कृष्ट कट फ्लावर गरी १० विधा छुट्याइने छ ।

साथै लामो समय देखि पुष्प व्यवसायको क्षेत्रमा संलग्न रहि व्यवसाय गरिरहेको मा गोदावरीस्थित एभरग्रीन नर्सरीलाई कदर–पत्र प्रदान गरिने बताइएको छ ।

पुष्प व्यवसायका क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने छ । फ्यानका महासचिब मिन बहादुर तामाङका अनुसार प्रविधीको विषयमा ५ वटा बिदेशी स्टलहरु राखिएको बताए ।

गत बर्षको फ्लोरा एक्स्पोमा ५० हजार अवलोकनकर्ता तथा ६० लाख भन्दा बढिको कारोबार भएको र यो मेला अवधिभरमा गत वर्षको तुलनामा १० देखि १५ प्रतिशतले अवलोकनकर्ता तथा कारोबारमा वृद्धि हुने अपेक्षा फ्यानले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL