काठमाडौं । नेपाल राष्ट्र बैंकले साना सेयर लगानीकर्ताहरुलाई सहयोग पुग्ने ढंगले सेयर धितो कर्जाको नयाँ व्यवस्था गरेको छ । यस अन्तरगत २५ लाख रुपैयाँसम्मको सेयर कर्जामा शतप्रतिशत मात्र जोखिम भार राख्नुपर्ने व्यवस्था गरिएको छ । तर, ठूला लगानीकर्ताको हकमा भने १५० प्रतिशत जोखिम भार रहने व्यवस्था यथावत राखिएको छ ।
यस्तै सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ राखेको छ । यसअघि एक बैंकबाट अधिकतम ४ र सबै बैंकबाट गरी १२ करोड रुपैयाँ लिन पाउने व्यवस्था गरेकोमा चालू आर्थिक वर्षको मौद्रिक नीतिले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँको सीमा यथावत राखेको हो । तर ब्रोकर कम्पनीबाट मार्जिन लेण्डिङको सेवा सुरु भएसँगै उक्त सीमा हट्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।
एउटा वा सबै बैंकबाट १२ करोड रुपैयाँको सेयर धितो कर्जा लिन पाउने व्यवस्थाले प्रक्रियागत सरलता मात्र भएको छ । तर यो सीमा कम भयो भन्ने मागलाई भने चालू आर्थिक वर्षको मौद्रिक नीतिले सम्बोधन गरेको छैन । तर, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रतिशत मात्रै जोखिम भार राख्दा बजारमा साना लगानीकर्ताको बाहुल्यता बढ्दै जाने छ ।