काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ४.८९ अंकले उकालो लागेको छ । पछिल्लो समय उकालो यात्रा तय गरेको नेप्से परिसुचक बुधबार २०५० को विन्दुमा पुगेर रोकिएको हो ।
आज नेप्से सामान्य अंकले बढ्दा बजारमा ७ समुहको परिसुचक उकालो लागेका छन् भने अन्य ५ समुहको परिसुचकमा गिरावट आएको छ । आज उकालो लाग्ने समुहमध्ये सबैभन्दा बढी वृद्धि उत्पादनमुलक र निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ ।
आज उत्पादनमुलक समुहको परिसुचक ६३ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक ५६, वित्त समुहको परिसुचक ३१ र अतिरिक्त समुहको परिसुचक १७ अंकले उकालो लागेका छन् । यस्तै आज लघुवित्त ७ र विकास बैंक ५ अंकले उकालो लाग्दा म्युचुअल फण्ड र ईन्भेष्टमेन्ट समुहको परिसुचकमा सामान्य वृद्धि देखिन्छ ।
आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । बुधबार जीवन बीमा समुहको परिसुचक २८ अंकले ओरालो लाग्दा जलविद्युत र व्यापार समुहको परिसुचकमा १२ १२ अंकको गिरावट आएको छ । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा बुधबार ०.६२ अंकको गिरावट आएको छ ।
आज दिनभर कुल २ सय १५ कम्पनीका ४१ लाख ३३ हजार ७ सय ९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो दिन मंगलबारको तुलनामा करिव ६० करोडले कम हो ।