काठमाडौं । चालु आर्थिक बर्षको अन्तिम दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ७.९३ अंकले उकालो लागेको छ । आज नेप्से परिसुचक उत्तारचढावसँग अन्तिममा उकालो लाग्दै २ हजार ९ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कारोबार समयभर अर्थात २ घण्टामा २ सय ३१ कम्पनीका ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८ सय ३३ रुपैयाँ पुगेको छ ।
आज लघुवित्त, जीवन बीमा, बैंकिङ, विकास बैंक र म्युचुअल फण्डबाहेकका अन्य समुहका परिसुचकमा गिरावट आएको छ । आज उकालो लाग्ने समहुमध्ये लघुवित्त समुहको परिसुचक ६८, जीवन बीमाको, ३८, बैंकिङको १८, विकास बैंकको ५ र म्युचुअल फण्डको सामान्य अंकले उकालो लागेका छन् ।
आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट अतिरिक्त समुहमा देखिन्छ । आज अतिरिक्त समुहको परिसुचक २५ अंकले ओरालो लाग्दा उत्पादनमुलक समुहको परिसुचक १४ अंकले घटेको छ ।
आज नेपाल ईन्भेष्टेमन्ट डिबेन्चर, माछापुच्छ्रे बैंक डिबेन्चर, सानिमा बैंक डिबेन्चर र नबिल ब्यालेन्स फण्डको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।