काठमाडौं । कोबेल्को कन्सट्रक्सनको ‘एसके १४० एचडी एलसी’ एस्काभेटर नेपाली बजार भित्रिएको छ । कोबेल्कोको नेपालका लागि आधिकारीक विक्रेता विशाल ग्रूप अन्तरगतको पूजा कन्सट्रक्सन नेपालले उक्त एस्काभेटर नेपाली बजारमा भित्र्याएको हो ।
इँटा कारखाना, सिँचाइ, सडक कटिङ तथा अन्य विविध सिभिल काममा १४ टन एस्काभेटरको माग बढेपछि कम्पनीले एसके१४०एचडी नेपाली बजारमा भित्र्याएको कम्पनीले जानकारी दिएको छ । कोबेल्को यसअघि एसके२१० र एसके३८० एस्काभेटर नेपाली बजारमा भित्र्याएको थियो । यी दुवै नेपाली बजारमा माग बढी रहेको छ । साथै, नेपाली बजारमा यो सेग्मेन्टमा कोबेल्कोको हिस्सा २५ प्रतिशत रहेको कम्पनीको दावी छ ।
कोबेल्को कन्सट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका डाइरेक्टर तथा कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले एसके१४०एचडी नयाँ मोडल विहीबार एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् । विश्वबजारमा कोबेल्को एस्काभेटर धेरै ग्राहकको पहिलो रोजाइ बनेको उनको दावी थियो । कम इन्धन खपत, समान क्षमताका एस्काभेटरको तुलनामा उच्च प्रतिफल र उत्पादकत्वका कारण यसलाई धेरैले रुचाएको समेत उनले जानकारी दिए । ‘उच्चस्तरीय जापानी प्रविधिबाट बनेकोले यसमा अत्याधुनिक प्राविधिक विशेषताहरु छन्,’ उनले भने, ‘अधिकांश मेसिनहरु २० हजार घन्टाभन्दा बढी समयसम्म चलेका छन् र यस क्षेत्रका कठिन ठाउँमा पनि यिनीहरुले राम्ररी काम गरेका छन् ।’ साथै, यतिबेला नेपाल र भारतमा ५ हजार ४ सय कोबेल्को एस्काभेटर कार्यक्षेत्रमा परिचालित भएको समेत उनले जानकारी दिए ।
नाकागावाका अनुसार कोबेल्कोले सन् २०१३ मा स्थानीय अवस्था र आवश्यकता अनुसारका थुपै्र विशेषता र अतिरिक्त सुविधासहित सार्वजनिक गरिएको एस्काभेटरको एचडी शृंखला विकासको श्रेय पनि पाएको छ । ‘हामी सधैं विश्वसनीय र उच्च प्रतिफल दिने मेसिन ग्राहकलाई उपलब्ध गराउनेमा केन्द्रित छौं,’ उनले भने ।
पत्रकार सम्मेलनमा कोबेल्को कन्सट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अघिकृत विक्रम शर्माले हरेक ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप नयाँ एस्काभेटर ल्याइएको जानकारी दिए ।
यस्तै, पुजा कन्स्ट्रक्सनका प्रमुख कार्यकारी अघिकृत बिवेक विजुक्छेले नेपालका विभिन्न स्थानमा १ सय २० भन्दा बढी कोबेल्को एस्काभेटरले उच्च कार्यक्षमता प्रदर्शन गरिरहेका जानकारी दिए । ‘इन्धन खपत, उत्पादकत्व र विश्वसनीयताको हिसाबले कोबेल्कोका मेसिनहरु निकै प्रशंसित छन्,’ उनले भने, ‘कम्पनीले सर्भिसिङ र पार्टपुर्जामा ग्राहकको आवश्यकता पूरा गर्न प्रभावकारी बन्दोबस्ती प्रणालीसहितको व्यवस्था मिलाएको छ ।’
काठमाडौं, भिनसेनस्थानको परोपकारनजिकै प्रधान कार्यालय रहेको पूजा कन्सट्रक्सन नेपाल प्रालिको पोखरा, नेपालगन्ज र विराटनगरमा चाँडै सेल्स र सर्भिस आउटलेट खोल्ने योजना बनाएको छ । ‘हाम्रो उद्देश्य ग्राहकलाई उच्चस्तरको सन्तुष्टि प्रदान गर्नु हो,’ उनले भने, ‘ग्राहकको चासो सम्बोधन गर्नु कम्पनीको कर्तव्य हो ।’
सरकारलाई एक थान एसके १४० निःशुल्क
एसके१४० एचडिएलसी सार्वजनिक गर्न आयोजित कार्यक्रममा कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड, जापानले नेपाल सरकारलाई एक थान एस्काभेटर निशुल्क उपलब्ध गराएको छ ।
कम्पनीको सामाजिक उत्तर दायित्व अन्तरगत भुकम्प पछिको पुनर्निर्माणलाई सहयोग गर्न नेपाल सरकारलाई एसके१४० एचडिएलसी एस्काभेटर दिइएको कम्पनीले जानकरी दिएको छ । उक्त एस्काभेटरको मुल्य ६९ लाख रुपैयाँ पर्ने छ । कम्पनीका कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले सडक विभागका उप महानिर्देशक हरिराम आचार्यलाई उक्त एस्काभेटरको साँचो हस्तान्तरण गरे ।
कम्पनीको इतिहास
हाइड्रोलिक एस्काभेटरको विश्व प्रख्यात निर्माता हो, कोबेल्को । एसियाको जापान, चीन, थाइल्यान्ड र भारतमा यसका उत्पादन प्लान्टहरु छन् ।
निर्माण उपकरण उद्योगमा कोबेल्को कन्सट्रक्सन मेसिनरीको इतिहास ८० वर्षभन्दा लामो छ । कोबेल्कोको आफ्नै अनुसन्धान तथा विकास केन्द्र छ भने जसले उत्पादनलाई अझ परिस्कृत, प्रभावकारी तथा अत्याधुनिक विशेषतायुक्त बनाउन अध्ययन, अनुसन्धान गर्ने गर्छ ।
कोबेल्कोले अन्तरराष्ट्रिय गुणस्तर मापदण्ड अनुसार दक्षिणपूर्वी एसिया र मध्यपूर्वका थुपै्र बजारको आवश्यकता पूरा गर्ने खालका उपकरणहरु उत्पादन गर्दै आएको छ ।