Logo

२० वर्ष यतानै न्यून मुल्यमा उत्कृष्ट कमर्सियल बैंकका सेयर, हतोत्साहित हुँदै लगानीकर्ता

२० वर्ष यतानै न्यून मुल्यमा उत्कृष्ट कमर्सियल बैंकका सेयर, हतोत्साहित हुँदै लगानीकर्ता



काठमाडौं । लामोसमय यता ओरालो लागेको सेयर बजारमा ‘ब्लूचिप’ मानिएका वाणिज्य बैंकका सेयर मुल्यमा उच्च गिरावट आएको छ । मंगलबार नेप्से परिसुचक २ हजार १५० अंकभन्दा तल झर्दा कुनै समय सबैभन्दा बढी मुल्यमा सेयर खरिदबिक्री भएका वार्णिज्य बैंकहरुको सेयर मुल्य २ दशकयताकै न्यून विन्दुमा झरेको छ ।

कुनै समय प्रतिकित्ता ९ हजार रुपैयाँभन्दा माथि पुगेको स्टाण्डर्ड चाटर्ड बैंकको सेयर मुल्य मंगलबार ४१८ रुपैयाँमा झरेको छ । पछिल्लो समय नेप्से परिसुुचक लगातार ओरालो लाग्दा कुनै बेला ब्लुचिप मानिएका कम्पनीको सेयर मुल्यमा हालसम्मै न्यून विन्दुमा झरेको छ ।

यस्तै बजारमा एभरेष्ट बैंकको सेयर मुल्य प्रतिकित्ता ४७५ रुपैयाँमा झर्दा नेपाल एसवीआई बैंकको सेयर मुल्य प्रतिकित्ता ३०४ रुपैयाँमा झरेको छ । यसैगरी मर्जरका कारण लामो समयदेखि कारोबार रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सोमबारबाट कारोबार खुलेसँगै लगातार नेगेटिम सर्किट हानेको छ । कुनै बेला सेयर मुल्यको आधारमा उत्कृष्ट बैंकको सुचिमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य ३३१ रुपैयाँमा झरेको छ । यसैगरी अन्य कमर्सियल बैंकको सेयर मुल्य पनि ज्यादै न्यून मुल्यमा झरेका छन् ।

अहिले नेप्से परिसुचक २१५० को बिन्दुमा रहेपनि कतिपय वाणिज्य बैंकहरुको सेयरमुल्य नेप्से परिसुचक २९३ अंकमा झर्दाभन्दा कममा सेयर मुल्य झरेको एक लगानीकर्ताले जानकारी दिए । ‘सेयर बजारमा निरन्तर लागेको साढे २ दशकभन्दा बढी भयो तर राम्रा भनिएका बाणिज्य बैंकहरुको सेयर मुल्य अहिलेको मुल्यमा झरेको थाहा पाएको छैन,’ ती लगानीकर्ताले भने, ‘अहिले सेयर मुल्य एकदमै न्यून विन्दुमा झरेको छ भने लगानीकर्ताहरु समेत एकदमै हतोत्साहित भएका छन् ।’

पछिल्लो समय नियामक निकायको वेवास्ताका कारण बजारमा दैनिकजस्तो दोहोरो अंकले गिरावट आउँदा लगानीकर्ताहरु एकदमै हतोत्साहित भएको समेत सम्बद्ध लगानीकर्ताहरुनै बताउँछन् । ‘बजार ३२ सय अंक माथि पुगेर अहिलेको अवस्थामा आईपुग्दा धेरै लगानीकर्ता पलायन हुन पुगेका छन्,’ एक लगानीकर्ताले भने, ‘अझै पनि सम्बद्ध निकायले बजार सुधारका लागि नयाँ उपाय नल्याउने र यसैगरी बजार घटिरहने हो भने लगानीकर्ताहरु आत्महत्यागर्न बाध्य हुनेछन् ।’ पछिल्लो समयको घट्दो बजारमा कतिपय लगानीकर्ताले आफ्नो पोर्टफोलियोको ६० प्रतिशतसम्म गुमाउन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL