Logo

‘ब्ल्याक’मा कारोबार हुँदै काँचो सुन, व्यवसायीले नै किन्छन् प्रतितोला ४ हजारसम्म बढीमा

‘ब्ल्याक’मा कारोबार हुँदै काँचो सुन, व्यवसायीले नै किन्छन् प्रतितोला ४ हजारसम्म बढीमा



काठमाडौं । नेपाली बजारमा सुन अभाव भएसँगै कालोबजारी बढेको छ । नेपाल राष्ट्र बैंकको प्रतिवन्धका कारण पछिल्लो २ हप्ता नेपालमा सुन आयात ठप्प रह्यो । जसका कारण बिहेकै सिजनमा बजारमा सुनको हाहाकार मच्चियो । यस्तो बेलामा सुन पसलेहरुले नै तोकिएको मूल्यभन्दा बढीमा सुन किनिरहेका छन् । सुन पसलेहरुले बढी मूल्यमा किनेको सुनका गहना बनाउँदा उपभोक्तामाथि ज्याला र जर्तीमा भार पार्छन् । यसको असर सिधै उपभोक्तालाई परेको छ ।

हालै छोरीको विहे सम्पन्न गरेको एक परिवारका अनुसार बजारबाट उनीहरुले तोकिएको मूल्यभन्दा ४ हजार २ सय रुपैयाँ बढी रकम तिरेर सुन खरिद गरे । ठूला व्यापारीले नै हाल बजारमा सुनको अभाव भएको भन्दै सुन पसलेलाई कालोबजारीमा सुन विक्रि गरेसँगै सुनको मूल्य वास्तविक भन्दा बढी पर्न थालेको छ । अहिले ग्राहकले बजार भाउमै सुन पाए पनि व्यापारीले जर्ती र ज्याला बढी लिन थालेका छन् ।

पछिल्लो समय राष्ट्र बैंकको निर्देशनका कारण सुन आयात नभएपछि बजारमा सुनको अभाव भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । उनका अनुसार बजारमा सुनको अभाव भइरहँदा कालोबजारी यत्तिकै फस्टाउँछ । तर, यसलाई रोक्न सरकारले आयात खुलाउनैपर्ने उनको धारणा छ ।

नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएको सुन आयात अहिले उद्योग मन्त्रालयले खोेलेको छ । अर्थात उद्योग मन्त्रालयले विभिन्न १० बस्तुको आयात रोक्दा त्यो सूचीमा सुनलाई अटाईएन । जसका कारण सुन आयात हुन सुरु भयो । अर्डर गरिएको सुन अझै नेपाल आइपुगेको छैन । तर, अबको केही दिनमा सुन नेपाल आए सुनमा भएको कालोबजारी आफै अन्त्य हुने अध्यक्ष शाक्यले बिजखबरलाई बताए ।

‘कुनैपनि वस्तुको अभाव हुनेवित्तिकै बजारमा एक दुई पैसा बढीमा वस्तु बेच्नेहरु हावी हुन्छन् यो स्वभाविकै हो,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्नका लागि सरकारले नै यसको व्यापारचक्रमा सहजीकरण गरिदिनुपर्छ ।’ उनले अबको एक दुई दिनपछि सुन नेपाली बजारमा आएपछि यस्तो कालोबजारी आफै घट्ने बताए ।

बैशाखको महिना यसै पनि धेरै बिहेको लगन भएको महिना हो । यहि बेलामा नेपाल राष्ट्र बैंकले सुनको आयात रोकिदिएको थियो । अघिल्ला बर्षहरुको बैशाख महिनामा दैनिक ३५ देखि ४० किलो सुनको माग हुन्थ्यो । यसपटक माग पनि त्यति थिएन तर, पनि सुनको अभाव भयो । महासंघका अध्यक्ष शाक्यका अनुसार यो बर्षको बैशाख महिनाको पहिलो हप्तासम्म १५ देखि २० किलो सुनको माग थियो । अघिल्ला बर्षहरुमा चोरीको सुन, विदेशबाट आउनेले ल्याएको सुन र घरघरमा भएको सुन पनि व्यवसायीकहाँ पुग्थ्यो ।

यसपटक भने सरकारले भन्सार नाकाहरुमै चोरीको सुनमा कडाई गर्न थाल्यो, घरघरको सुन पनि आएन । जसका कारण बजारमा सुनको अभाव भयो र यसको फाईदा हाल व्यवसायीले लिईरहेका छन् । हाल नेपाल राष्ट्र बैंकले प्रतिदिन १० किलोमात्रै सुन आयात गर्न पाईने व्यवस्था गरेको छ । तर, व्यवसायीहरुले भने २० देखि २५ किलो सुनको माग आउने गरेको बताउँदै आएका छन् । यसैले आयात कोटा बढाउनुपर्ने उनीहरुको माग छ ।

नेपाल राष्ट्र बैंकले वैदेशिक मुद्रा संचितिमा दवाव परेको भन्दै सुन आयातमा कडाई गरेको थियो । चालु आर्थिक बर्षको पछिल्लो ९ महिनामा नेपालमा २८ अर्व ५४ करोड ९० लाख रुपैयाँ बराबरको ४ हजार ९ सय किलो सुन आयात भएको छ । गत बर्षको यही अवधिमा नेपालमा १९ अर्ब ३१ करोड रुपैयाँ बराबरको २ हजार किलो सुन आयात भएको थियो । यो बर्ष सुनकै आयात उच्च भएपछि पनि राष्ट्र बैंकले कडाई गरेको थियो । जसका कारण बजारमा कालोबजारी मौलाएको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL