काठमाडौं । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधीमण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासंग भेट गरेको छ । नाडाले पछिल्लो समय नेपाल राष्ट्र बैंकले अटो व्यवसायीसँग कुनै सल्लाह नै नगरी सवारीसाधन आयातको प्रतितपत्र (एलसी) बन्द गरिएको गुनासो पुर्याउन उक्त भेट गरेको हो ।
भेटघाटमा अध्यक्ष थापाले २ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पुर्याउँदै आएको अटोमोबाईल क्षेत्रलाई सरकारले नै उपेक्षा गरेको गुनासो गरेका थिए । यस्तो बेलामा सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको समेत आयातका लागी एलसी नखोल्दा यो क्षेत्र नै पीडामा परेको थियो ।
अध्यक्ष थापाले बन्द गरिएको एलसी खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन आग्रह गरेका छन् । सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइल क्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गरेका छन् ।
उक्त छलफलको क्रममा प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिँदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासनसमेत दिए । सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।