Logo

लाइसेन्सको अनलाईन आवेदनमा नयाँ प्रक्रिया थपिँदै, राजस्वसमेत अनलाईनबाटै तिर्न मिल्ने

लाइसेन्सको अनलाईन आवेदनमा नयाँ प्रक्रिया थपिँदै, राजस्वसमेत अनलाईनबाटै तिर्न मिल्ने



काठमाडौं । यातायात व्यवस्था विभागले हाल सवारीचालक अनुमतिपत्र(लाइसेन्स)को अनलाइन आवेदन स्थगित गरेको छ । आवेदन दिने सेवाग्राहीको संख्या लगातार बढ्ने र सोही अनुसार परिक्षाहरु समयमै नहुँदा आवेदन भरेकाको पालो ३ बर्षसम्म धकेलिएको थियो । सोही समस्यालाई समाधान गर्नका लागि भन्दै विभागले हाललाई अनलाईन आवेदन लिने प्रक्रिया नै स्थगित गरेको छ ।

हाल आवेदन दिएका सबै सेवाग्राहीले ट्रायल दिने प्रक्रिया अन्त्य भएपछि पुनः अनलाईन आवेदन सुरु गर्ने योजना विभागको छ । तर, अब अनलाइन आवेदन खुल्दा भने पहिलेको भन्दा नयाँ प्रक्रियासहित खुल्ने विभागस्थित आइटी शाखाका कम्प्युटर ईन्जिनियर सन्तोष पोख्रेल बताउँछन् । उनका अनुसार विभागले नयाँ प्रक्रियासहित अनलाईन आवेदनलाई खुलाउने गरी तयारी गरिरहेको छ । ढाँचा बनाएर सोहीअनुसारको प्रणाली विकास गर्ने काम अघि बढिसकेको उनी बताउँछन् । सम्बन्धित सफ्टवेयर बनाउने कम्पनीले यसमा काम गरिरहेको उनको भनाई छ ।

के के हुनेछ नयाँ प्रणालीमा ?

विभागले विकास गरिरहेको नयाँ प्रणालीमा सेवाग्राहीलाई आगामी दिनमा कुनै झन्झट नहुनेगरी काम गर्न सकिने सुविधाहरु थपिनेछन् । जसमा नागरिकता, फोटो, ब्लड ग्रुपको कागजपत्र र अन्य आवश्यक कागजपत्रहरु अनलाइनबाटै पेश गर्न पाईने सुविधा हुनेछ ।

हाल सेवाग्राहीले केहि सरल कुराहरु मात्रै भरेर अनलाईन आवेदन भर्न पाउँछन् र रिफरेन्स नम्बर प्राप्त गर्छन । त्यसपछिको प्रक्रियाका लागि सेवाग्राहीले रिफरेन्स नम्बर, नागरिकताको सक्कली प्रति, ब्लड ग्रुपको कागजातलगायत बोकेर सम्बन्धित यातायात कार्यालय जानुपर्छ । तर, अब नयाँ अनलाईन आवेदन भर्ने सेवाग्राहीको बायोमेट्रिकका लागि आवश्यक फोटो र औँठाछापसमेत आवेदन भर्ने बेलामै अपलोड गर्न सकिने सुविधा हुने बताईएको छ ।

यस्तै राजस्व तिर्नकै लागि सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयमा घण्टौं लाईन बस्नुपर्छ । त्यसको समस्या समाधानका लागि पनि विभागले अनलाईनबाटै राजस्व तिर्न सकिने सुविधा पनि सुरु गरिँदैछ ।

‘राजस्व तिर्नकै लागि सेवाग्राहीहरु घण्टौं घाममै लाईन बस्नुपर्ने समस्याको अन्त्य गर्न अनलाईनबाटै राजस्व तिर्न सकिने गरी प्रणाली विकास गर्दैछौं,’ कम्प्युटर ईन्जिनियर पोख्रेलले भने, ‘यत्ति काम गर्दा पनि सेवाग्राहीको समय बचत हुनेछ भने सास्तीबाट मूक्ति पाउनेछन् ।’

विभागले नेपालभरका यातायात कार्यालयहरुलाई आगामी जेठसम्ममा ट्रायल दिन बाँकी रहेका सेवाग्राहीको काम सम्पन्न गर्न निर्देशन दिएको छ । तर, उक्त काम बैशाख १५ देखि २० सम्ममा सम्पन्न हुने विभागको आँकलन छ । त्यसो हुँदा विभागले विकास गरिरहेको नयाँ प्रणालीसहितको अनलाईन आवेदन जेठ १ गतेदेखि नै खुल्ने बताईएको छ । त्यसरी अनलाईन आवेदन खोल्दा एक दिनमा कति जनाको ट्रायल गर्न सकिन्छ त्यसको हिसाव गरेर आवेदन लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL