काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १४ दशमलव ६७ अंकले घटेको छ । कारोबार समयको सुरुवातिदेखि नै ओरालो लागिरहेको परिसुचक अन्तिममा २६ सय १६ को विन्दुमा पुगेर रोकिएको हो ।
बजारमा कारोबार भएका समुहमध्ये आज ईन्भेष्टमेन्ट बाहेकका सबै समुहका परिसुचक ओरालो लागेका छन् । आईतबार ईन्भेष्टमेन्ट समुहको परिसुचकमा १.४४ अंकको सुधार देखिएपनि अन्य सबै समुहहरु ओरालो लागेका हुन् । नेप्सेका अनुसार आज ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचकमा पहिरो गएको छ ।
जीवन बीमा समुहको परिसुचकमा आज १९७ अंकको पहिरो जाँदा निर्जिवन बीमा समुहको परिसुचकमा ७४ अंकको गिरावट आएको छ । यस्तै आज जलविद्युत, लघुवित्त, वित्त, विकास बैंक र अतिरिक्त समुहको परिसुचकमा क्रमशः १३, ५, २५, ५३ र ३२ अंकको गिरावट आएको छ । बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आईतबार ८ अंकको गिरावट आएको छ ।
आज विहानैदेखि बजार ओरालो लागेपनि दिनभर २ सय २४ कम्पनीका ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता सेयर किनबेच भएका छन् । तर, आज दिनभर २ अर्ब २७ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ ।
आज राष्ट्र उत्थान लघुवित्त र ईमर्जिङ नेपालको सेयरमूल्य १० प्रतिशतले बढेपनि धेरैजसो कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।