Logo

सुनको भाउ अझै बढ्न सक्छ, हेर्नुहोस सात कारण

सुनको भाउ अझै बढ्न सक्छ, हेर्नुहोस सात कारण


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सुनको भाउ डेढ बर्षयताकै महंगो भएको छ । लामो समयसम्म ५० हजार भन्दा तल रहेको सुनको भाउ केही दिनदेखि लगातार महंगिदै गएको हो । शुक्रवार सुन प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको थियो ।

यसअघि २०७१ भदौ १ गते ५४ हजार ६ सय पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनका भाउ बढेकोले प्रभाव नेपाली बजारमा परेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । सुनको भाउ अझै केही बढ्न सक्ने अनुमान व्यवसायीहरुको छ ।

विश्व बजारमा सेयर बजार ओरालो लागेकोले लगानीकर्ताहरु सुनमा लगानी गर्न आकर्षित भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘लगानीकर्ताहरु सेयर बेचेर सुनमा लगानी गर्न थालेका छन् ,’ उनले भने  ‘त्यसले गर्दा पनि सुनको भाउ बढेको हो ।’

त्यस्तै अमेरिकाको रोजगारीमा सोचेजस्तो राम्रो नभएको भन्दै सुनमा लगानी गर्नेको संख्या बढेकोले यसको मूल्यमा पनि बृद्धि भएको सरोकारवालाहरु बताउँछन् ।
सुन महंगो हुनुको अर्को कारण त्यस्तै अमेरिकी डलर युरो करेन्सिको तुलनामा कमजोर हुनु भएको मेरिगोल्ड ज्वेलर्सका प्रोप्राइटर ज्योत्सना श्रेष्ठ बताउँछीन् । चीनको नयाँ बर्ष चलिरहेकोले सुन खरीद गर्नेको  संख्या बढेकोले सुनको भाउ बढेको उनले जानकारी दिइन् ।

सुनको भाउ लगातार उकालो लाग्नुको अर्को कारण जापानले बैंकमा मौज्दात व्याज शून्यमा झार्ने निर्णय पनि भएको बताइएको छ । जापानले दुई हप्ता अघि मुद्रा स्फिर्ती नियन्त्रण गर्न बैंकको मौज्दातमा व्याजलाई शून्यमा झार्ने निणर्य गरेको थियो । व्याजदर घटेपछि अर्थतन्त्रमा अगाडी रहेको जापानका लगानीकर्ता सुनका आकर्षित भएको देखिन्छ ।
त्यस्तै अन्तरराष्ट्रिय राजनितीले पनि यस क्षेत्रलाई असर पारेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । उत्तर कोरियाले आणविक वम अन्वेशष तथा इन्डोनेशियामा आतंक हमला बढ्नु सुनको भाउ उकालो लाग्नुको कारण भएको बताइएको छ ।

सुनको भाउ केही समय अझै बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । ‘सुन यस साता करिव १ हजारले बढ्ने सम्भावना छ’ उनले भने ।

सिजनमा पनि बढेन सुनको व्यापार

विश्व बजारमा सुनको भाउ बढ्नुको असर नेपाली बजारमा प्रत्यक्ष परेको देखिन्छ । विवाहको सिजन भएपनि अहिले सुनको भाउ गत बर्षको यो सिजनको तुलनमा घटेको व्यवसायीहरु बताउँछन् । गत बर्ष यो सिजनमा दैनिक ६० केजी सुन विक्री हुने गरेकोमा यस साल ५० केजीमा झरेको शाक्यले जानकारी दिए ।

त्यस्तै भुकम्प तथा नाकाबन्दीले पनि यस व्यवसायमा असर पारेको उनले जानकारी दिए । भुकम्प तथा नाकाबन्दीले दैनिक उपभोग्य सामग्रीको मूल्यमा बृद्धि भएकोले उपभोक्ताहरु सुन खरीद गर्न आकर्षित नभएको उनले बताए । ‘उपभोक्ताहरु बचत रकमबाट सुन खरीद गर्न रुचाउँछन्’ उनले भने ‘ महंगीले उपभोक्ताको क्रयशक्ति घटेकोले सुनको विक्री घटेको हो ।’

प्रतिक्रिया दिनुहोस्