Logo

सार्वजनिक यातायातको भाडा बढाउने तयारी, व्यवसायी भन्छन–११ पटक तेलको मूल्य बढ्दा पनि भाडा बढेन

सार्वजनिक यातायातको भाडा बढाउने तयारी, व्यवसायी भन्छन–११ पटक तेलको मूल्य बढ्दा पनि भाडा बढेन



काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाउने तयारी थालेको छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा सार्वजनिक यातायात व्यवसायीहरुले भाडा बृद्धिको माग गर्दै आएका छन् । लगातार बढेको तेलको मूल्यका कारण लागत उठाउन पनि नसक्ने अवस्था आएको भन्दै यातायात व्यवसायीले तुरुन्त भाडा समायोजन गर्न सरकारलाई दबाब दिँदै आएका छन् । सोहीअनुसार सरकारले भाडा समायोजनका लागि तयारी थालेको हो ।

यातायात व्यवस्था विभागमा पनि व्यवसायीहरुले भाडा समायोजन हुनुपर्ने भन्दै मागपत्र पेश गरिसकेका छन् । विभागका महानिर्देशक नमराज घिमिरेले व्यवसायीले मागपत्र पेश गरेपनि हालसम्म कुनै निर्णय नभएको बताए । घिमिरेका अनुसार इन्धनको मूल्यवृद्धिसँगै स्वभाविक रुपमै भाडा समायोजन गर्नुपर्ने भएपनि विभागले एकलौटी भाडा समायोजन गर्न सक्दैन । विभागले व्यवसायीको मागपत्र मन्त्रालयमा पठाउने र मन्त्रिपरिषदले नै निर्णय गर्ने उनले बताए । ‘मकहाँ व्यवसायीहरुले भाडा समायोजन गर्नुपर्ने भन्दै मागपत्र पठाउनु भएको छ,’ उनले भने, ‘म यो मागपत्र मन्त्रालयमा पठाउँछु र उतै निर्णय हुन्छ ।’

उनले पछिल्लो समय बढेको तेलको मूल्यका कारण भाडा बढाउनुपर्नै अवस्था आएको बताए ।

पछिल्लो समय उच्च रुपमा बढेको तेलको मूल्यका कारण पुरानै भाडामा सार्वजनिक सवारीसाधन चलाउन नसकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘हामीलाई वैज्ञानिक भाडादर समायोजन पद्धतिअन्तर्गत भाडा बढाउने अधिकार दिइएको छ,’ उनले भने, ‘सरकारले आगामी २५ गतेसम्म भाडा बढायो या समायोजन गर्यो भने ठिकै छ नत्र हामी आफै नयाँ भाडादर सार्वजनिक गरेर लागु गर्नेछौं ।’ उनका अनुसार गत असार २८ गते यता मात्रै नेपालमा ११ पटक पेट्रोलियमको मूल्य बढेको छ । यसरी लगातार पेट्रोलको मूल्य बढ्दा सार्वजनिक सवारीसाधन पुरानै भाडादरमा चलाउन नसकिने अवस्था आएको छ ।

यस्तो बेलामा भाडा समायोजन सरकारले नै गरिदिनुपर्ने यातायात व्यवसायी केन्द्रिय महासंघका महासचिव भरत नेपाल बताउँछन् । उनका अनुसार गत असारयता नेपालमा डिजेलको मूल्य २८ रुपैयाँले र पेट्रोलको मूल्य प्रतिलिटर ३९ रुपैयाँले बढिसकेको छ । तर, व्यवसायीहरु भने पुरानै भाडामा सार्वजनिक सवारीसाधन चलाउन बाध्य छन् । ‘हामी अब पुरानै भाडामा गाडी चलाउन नसक्ने अवस्थामा पुग्यौं,’ उनले भने, ‘अब कि हाम्रा गाडीहरु सरकारले खरिद गरेर आफै चलाओस कि भाडा बढाओस ।’

सरकारले बजारमा भइरहने उत्तारचढाव र गाडी भाडाको बिषयलाई सम्बोधन गर्नेगरी वैज्ञानिक भाडादर समायोजन पद्धतिको विकास गरेको छ । अर्थात बजारमा सार्वजनिक सवारीसाधनमा उपयोग हुने वस्तुहरुको मूल्य बढेपछि सोही अनुसार भाडा पनि बढ्नुपर्ने तर्क यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । वैज्ञानिक भाडादर अनुसार बजारमूल्यको प्रभाव ६५ प्रतिशत र बाँकी अन्य खर्च हुन्छ । बजारमा उपलब्ध वस्तुहरुको मूल्य लगातार बढिरहेपनि भाडा भने बढ्न नसकेको गुनासो उनको छ ।

हुन त, वैज्ञानिक भाडादर समायोजन पद्धतिअनुसार बजारमा वस्तुको मूल्य बढेपछि यातायात व्यवसायी आफैले भाडा बढाउन पाउने व्यवस्था छ । यसअघि यातायात व्यवस्था विभागलगायतको संलग्नतामा र उनीहरुकै निर्णयलाई आत्मसात गर्दै आएकाले यो पटक पनि भाडा सरकारी तवरबाटै बढ्ने आशा व्यवसायीको थियो । यातायात व्यवस्था विभागले बजारमा सबै वस्तुको मूल्य बढदा पनि गाडीभाडा बढाउने छाँटकाँट नदेखाएपछि आफै भाडा बढाउने तयारी गरेको व्यवसायीहरु बताउँछन् । ‘हामीले गाडीभाडा बढाउनुपर्छ भनेर सबै निकायमा पत्राचार गरिसकेका छौं,’ सिटौला भन्छन्, ‘आगामी २५ गतेसम्म सरकारले बढाए ठिकैछ नत्र हामी आफै छलफल गरेर कति प्रतिशतले बढाउनुपर्ने हो भाडा बढाउँछौं ।’

बिहीबार मात्रै नेपालमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर डिजेल १ सय ३३ र पेट्रोल १ सय ५० रुपैयाँ प्रतिलिटर पुगेको छ । पछिल्लो समय रुस र युक्रेनको द्वन्दका कारण विश्वबजारमा नै तेलको मूल्य उच्च रुपमा बढेको छ । जसको असर नेपालमा पनि परेको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL