Logo

सेयर बजारमा खतराको खेल सुरु, लगानीकर्ता उच्च जोखिममा

सेयर बजारमा खतराको खेल सुरु, लगानीकर्ता उच्च जोखिममा



काठमाडौं । भनिन्छ सेयर बजारमा हुने घटबढनै त्यसको सुन्दरता हो । जसले गर्दा बजारमा लगानीकर्ताहरु सहज रुपमा प्रवेश र बाहिरिने गर्दछन । तर पछिल्लो समय बजारमा जुनखालको घटवढ हुन थालेको छ त्यसले लगानीकर्ताहरु थप अन्यौलमा परेका छन् ।

पछिल्लो समय सेयर बजार लगानीकर्ताको स्वविवेकभन्दा पनि नियामक निकाय र केही लगानीकर्ताका समयसापेक्ष आउने बोलीका कारण जोखिममा पर्न थालेका छन् । केही लगानीकर्ता जति घाटा भएपनि सेयर बिक्री गर्न हुन्न बजारमै रहिरहन पर्छ भन्दै अन्य लगानीकर्तालाई उस्काइरहेका छन् भने सरकारमा रहेका जिम्मेवार व्यक्ति भने सेयर बजारमा गरिने लगानीले देशमा घनी र गरिवको खाडल झन बढाएको भन्दै त्यसलाई निरुत्साहित गर्नुपर्ने जस्ता वक्तव्य दिन थालेका छन् ।

जसको मारमा सोझा र साना लगानीकर्ता परेका सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘एक दिन सरकार संचालन गर्ने दलका प्रमुख वा सरकारमै रहेका जिम्मेवार व्यक्तिबाट सेयर बजारले कामछैन यसले झन बढीलाई गरिव बनायो भन्दै बोल्छन,’ एक लगानीकर्ताले भने, ‘भोलीपल्टै लगानीकर्ता सम्बन्धी संगठनका नेताहरु अब सेयर बिक्री गर्न हुँदैन भन्दै बोल्न थाल्छन् ।’ यस्ता खालका प्रतिक्रियाले लगानीकर्तामा थप अन्यौलता सिर्जना गरेको समेत ती लगानीकर्ताले जानकारी दिए ।

सामान्यतया सेयर बजारमा जसले बढी जोखिम बहन गर्न सक्छ उसैले बढी नाफा बुक गर्दछ । तर पछिल्लो समय बजारमा अनावश्यक हल्ला फैल्याएर खतराको खेल सुरु भएको एक लगानीकर्ताले जानकारी दिए । ‘हिजो र आजको हल्ला अनुसार बजारमा जसरी घटबढ भैरहेको छ त्यसले छोटो अबधिमै धेरै लगानीकर्ता फस्ने जोखिम बढेको छ,’ अर्का एक लगानीकर्ताले भने, ‘सोमबार दिनभर बजारमा भएको उतारचढालाई विश्लेषण गर्ने हो भने धेरै लगानीकर्ता फस्ने देखिन्छ ।’

सोमबार बजार खुलेको १० मिनेटमै करिव ७० अंले घटेको नेप्से परिसुचक त्यसलगत्तै ४५ अंकको बाउन्स व्याक भएको थियो । तर त्यसयता ओरालो यात्रा तय गरेको नेप्से साढे १ बज्दासम्म १ सय अंकभन्दा बढीले घट्न पुगेको थियो । त्यसलगत्तै ४३ अंकले बाउन्स भएको बजार पुनः ७९ अंकले ओरालो लाग्दै २२८२ अंकमा झरेर बन्द हुन पुग्यो । एकै दिनमा हुने उच्च अंकको घटवढका कारण लगानीकर्तामा थप अन्यौलता सिर्जना भई साना र सोझा लगानीकर्ता फस्ने सम्भावना उच्च हुने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

पछिल्लो समय बजारप्रति नियामक निकायमा रहने व्यक्तिले दिएको अभिव्यक्तिप्रति त्रसिमा लगानीकर्ताहरुले बजारमा सेलिङ प्रेसर ल्याएका छन् । लगानीकर्ता सम्बन्धी संघसंस्थाका नेताहरुले सेयर बिक्री नगर्न आग्रह गरेपनि त्यसप्रति आम लगानीकर्ता विश्वस्त हुन नसकेको बजारमा भइरहेको सेयर कारोबार र त्यसको ट्रेण्डले देखाउँछ ।

सोमबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी फाइनान्स समुहको परिसुचक ओरालो लाग्दा विकास बैंक र निर्जीवन बीमा समुहको परिसुचक पनि सोही अनुरुप घट्न पुगेका छन् । घट्दो बजारमा कारोबार रकममा भने केही वृद्धि भएको छ । दिनभर ३ अर्ब ९९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २३३ कम्पनीको ९६ लाख ७९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL