Logo

२४ सयबाट झरेको बजारमा ८९ अंकको गिरावट, जतिमा खरिदकर्ता पायो त्यतिमै सेयर बिक्री गर्दै लगानीकर्ता

२४ सयबाट झरेको बजारमा ८९ अंकको गिरावट, जतिमा खरिदकर्ता पायो त्यतिमै सेयर बिक्री गर्दै लगानीकर्ता



काठमाडौं । तरलता संकट र मार्जिन कलको दबाबमा परेको सेयर बजारमा आईतबार उच्च अंकको गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै गिरावट आएको नेप्से परिसुचक बजार बन्द हुँदा ८८.७० अंकले घट्न पुगेको छ ।

सस्तो मुल्यमा बजारबाट थप सेयर उठाउन बैंकले कर्जा नदिने र ब्रोकरले पनि लिमिट सुन्यमा झारिदिएका कारण लगानीकर्ताहरु दबाबमा परेका छन् । पछिल्लो समय लेण्डिङ क्रञ्च भएपछि बैंकहरुले कर्जा प्रबाह ठप्पजस्तै बनाएका छन् । राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त क्षेत्रमा केही कर्जा दिए पनि सेयर धितो कर्जा लगायतका अन्य कर्जाहरु पूर्ण रुपमा रोकेका छन् । जसको ठूलो असर सेयर बजारमा देखिएको छ ।

केही महिनायता ओरालो लागेको सेयर बजारमा पछिल्लो समय दैनिक जसो उच्च अंकको गिरावट आउन थालेको छ । सोही अनुरुप आईतबार पनि बजारमा उच्च गिरावट आउँदा नेप्से परिसुचक २४ सय अंकबाट तल ओर्लिदै २३६१ अंकमा झरेर अडिएको छ छ ।

घट्दो बजारमा कारोबार रकममा समेत गिरावट आएको छ । केही दिनयता बजारमा खरिदकर्ताले जति मुल्यमा सेयर खरिदका लागि अर्डर राख्यो बिक्रीकर्ताले सोही मुल्यमै भएपनि बिक्री गरेर बाहिरिने गरेको एक लगानीकर्ताले जानकारी दिए । ‘आईतबार पनि बजारमा उच्च अंकले घट्दा पनि बजारमा बिक्रीकर्ताको तुलनामा खरिदकर्ता देखिएको छ,’ एक लगानीकर्ताले भने, ‘खरिदकर्ताले सुरुमै कम मुल्यमा खरिद अर्डर राखेका छन् अनि सोही मुल्यमा बिक्रीकर्ता आयो भने पुनः मुल्य घटाउँदै तल झारिरहेका छन् ।’ बजारमा देखिएको खरिदकर्ताबाट वास्तविक रुपमा सेयर खरिद नभई बजार झार्ने काम भैरहेको समेत ती लगानीकर्ताले जानकारी दिए ।

आईतबार बजारमा सबैजसो समुहका परिसुचक २ प्रतिशतभन्दा माथिले घटेका छन् । जसमा सबैभन्दा बढी व्यापार समुहको परिसचक ७.४५ प्रतिशतले घट्दा विकास बैंक समुहको परिसुचकमा ६.४१ प्रतिशतको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि २.६६ प्रतिशतले गिरावट आएको छ ।

विन्दुगतरुमा हेर्दा बजारमा जीबन बीमा समुहको परिसुचक ५०७ अंकले घट्दा जिर्नीबन बीमा समुहको परिसचकमा ४९० अंकको गिरावट आएको छ । यसैगरी जलविद्युत समुहको परिसुचक १२५ अंकले ओरालो लाग्दा माईक्रोफाइनान्स समुहका १७६ अंकले घट्न पुगेको छ ।

घट्दो बजारमा आईतबार ३ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २२८ कम्पनीको ७२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भए । आईतबार बजारमा ४० कम्पनीभन्दा बढीको सेयर मुल्यमा ५ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्