काठमाडौं । मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखिनै गिरावट आएको नेप्से अन्तिममा ७९.७९ अंकले घट्न पुगेको हो ।
बजार सबै समुहका परिसुचकहरुमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा बढी फाइनान्स समुहको परिसुचक ५.२९ अंकले घट्दा विकास बैंक समुहमा ५.२३ अंकको गिरावट आएको छ ।
यसैगरी बजारमा अतिरिक्त समुहको परिसुचक ४.१२ अंकले घट्दा निर्जीवन बीमा ३.५८, होटल तथा पर्यटन ३.४५ र जलविद्युत समुहका परिसुचकमा ३.२१ अंकको गिरावट आएको छ ।
मंगलबार बजारमा सेलिङ प्रेसर आउँदा नेप्से परिसुचकमा उच्च अंकमा घट्न पुगेको हो । उदाहरणका लागि सोमबार अन्तिम समयमा उच्च माग देखाई सकारात्मक सर्किट हानेको आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको मंगलबार उच्च सेलिङ प्रेसर आउनुका साथै नेगेटिभ सर्किट लागेको छ । मंगलबार बजारमा धेरैजसो कम्पनीको माग भन्दा बिक्री चाप बढी देखिएको थियो ।
दशैं र तिहारको बीचमा बढेको बजारमा धेरैजसो लगानीकर्ता बाहिरिएको र सोही अनुरुप अहिले आएर बजारमा गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘लकडाउनको समयमा प्रवेश गरेका व्यापारी तथा कतिपय ठूला लगानीकर्ताहरु बजारले ३१ सय अंक पार गर्दानै बजारबाट निस्किएका थिए,’ एक ठूला लगानीकर्ताले भने, ‘अहिले कतिपय लगानीकर्ता राष्ट्र बैंकको सेयर धितोकर्जाको अधिकतम १२ करोड रुपैयाँको नीतिका कारण बाहिरिएका छन् भने कपिपय दशैं र तिहारबीच बढेको बजारमा आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिएका छन् ।’
मंगलबार घट्दो बजारमा पनि कारोबार रकममा भने वृद्धि भएको छ । बजारमा सोमबार ४ अर्ब ४२ करोड रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार बढ्दै ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । दिनभर कुल २२५ कम्पनीको १ लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।