Logo

दशैंका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्दै, अनलाइनमार्फत टिकट काट्नेलाई सहुलियत

दशैंका लागि असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्दै, अनलाइनमार्फत टिकट काट्नेलाई सहुलियत



काठमाडौं । दशैंका लागि यसपटक असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बिहीबार यातायात व्यवस्था विभाग, सार्वजनिक यातायात केन्द्रिय महासंघ र ट्राफिक प्रहरी महासाखाबीच भएको छलफलमा १० गतेदेखि टिकट बुकिङ खोल्ने निर्णय भएको हो । अघिल्ला बर्षहरुमा दशैंमा गन्तब्यमा जाने यात्रुहरुका लागि केहिदिन अघिदेखि नै अग्रिम टिकक बुकिङ खोल्ने परम्परालाई निरन्तरता दिँदै यो बर्ष पनि उक्त निर्णय गरिएको हो ।

काठमाडौं उपत्यकाबाट प्रत्येक बर्ष दशैंमा लाखौं यात्रुहरु आफ्नो गन्तब्यमा जान्छन् । दशैंमा यात्रुहरुको उच्च चाप हुने अवस्थालाई मध्यनजर गर्दै अग्रिम टिकट बुकिङ खोल्ने गरिएको छ । यस्तो बेलामा मौकाको फाइदा उठाउँदै व्यवसायीहरुले ह सार्वजनिक सवारीसाधनको भाडा बढ्नेलगायतका समस्या यात्रुहरुले भोग्दै आएका थिए । तर, यो बर्ष सरकारले नै भाडा २८ प्रतिशतले बढाइसकेकाले दशैंमा भाडा नबढ्ने महासंघका महासचिव भरत नेपाल बताउँछन् ।

उनका अनुसार यसअघि दशैंमा यात्रुलाई दुखः दिने प्रचलनको अन्त्य भएको छ । व्यवसायीहरुले सरकारसमक्ष विभिन्न मागहरु राख्ने र सोहीअनुसार सरकार पनि बाध्य भएर उनीहरुका माग सम्बोधन गरिदिने परिपाटीले यात्रुहरु पिल्सिँदै आएको अवस्था थियो । तर, यो बर्ष भाडाको समस्या समाधान भएकाले व्यवसायीहरु पनि यात्रुहरुलाई कसरी सुरक्षित र सरल तरिकाले गन्तब्यमा पुर्याउने भन्नेमा केन्द्रित हुने उनको भनाई छ ।

बिहीबार बसेको बैठकले टिकट काट्ने नाममा जताततै खुलेका टिकट काउन्टर नियन्त्रण गर्ने, यात्रु सहायता कक्ष विभिन्न स्थानमा संचालनमा ल्याउने, व्यवस्थित टिकट काउन्टरमा कर्मचारीलाई पोशाक अनिवार्य गरिने, सिटसंख्याभन्दा बढि यात्रु बोक्न नपाउनेलगायतका निर्णय गरिएको उनले बताए ।

पुरानो बसपार्कको विकल्प मनोहरा करिडोर

हाल केही स्थानका लागि पुरानो बसपार्कबाट छुट्ने बसहरुका लागि भने नयाँ बसपार्ककको खोजी गरिएको छ । खुलामञ्चस्थित पुराना बसपार्क हाल नरहेको र बन्दै गरेको बसपार्क संचालनमा आइनसकेका कारण यसको विकल्पमा दशैंका लागिमात्रै मनोहरा करिडोरलाई प्रस्ताव गरिएको महासंघका महासचिव नेपालले बताए । उनका अनुसार यात्रुलाई बस खोज्ज सास्ती हुने अवस्थाको अन्त्य गर्न तिनकुनेदेखि बालकुमारीसम्मको सडक करिडोरलाई वैकल्पिक बसपार्ककको रुपमा राखिनेछ ।

उक्त करिडोरलाई भने दशैं, तिहार र छठ पर्वसम्मका लागि मात्रै प्रयोगमा ल्याइने उनले बताए । त्यहाँबाट विभिन्न स्थानमा जान सजिलो हुने भएपछि यो विकल्प रोजेको उनको भनाई छ ।

अनलाईनमार्फत टिकट काट्नेलाई सहुलियत

सार्वजनिक यातायात व्यवसायीले यसपालीको दशैंमा अनलाईनमार्फत अग्रिम टिकट बुकिङ गर्ने यात्रुलाई भने विशेष सहुलियत दिने योजना बनाएका छन् । नेपाल सरकारको डिजिटल नेपालको अवधारणालाई सहयोग पुग्नेगरि उनीहरुले टिकट काट्नेबेला यात्रुलाई सहुलियत दिने योजना बनाएका हुन् । सार्वजनिक यातायात केन्द्रिय महासंघका महासचिव भरत नेपाल यसपालिको दशैंमा अनलाइननमार्फत टिकट लिनेलाई भाडामा छु, खानामा छुट वा खाजालगायतका सुविधा उपलब्ध गराउन सकिने छ । यसका लागि थप छलफल गरेर निष्कर्ष निकाल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्