Logo

अर्थमन्त्रीको फोनले चढेको सेयर बजारको ओरालो यात्रा, गभर्नरको फोनमा फेरि बज्ला त घण्टी !

अर्थमन्त्रीको फोनले चढेको सेयर बजारको ओरालो यात्रा, गभर्नरको फोनमा फेरि बज्ला त घण्टी !



काठमाडौं । सेयर बजारको सुन्दरता भनेको समयसापेक्ष हुने घटवढ हो । एक कदम पछि र दुई कदम अघि हुने बजारको वृद्धिलाई बजार बढाईको परिपक्वता मानिन्छ । कुनै पनि सेयर बजारमा एकै किसिमको बढाई वा घटाई हुँदैन । तर, नेपालका सीमित स्वार्थ केन्द्रित लगानीकर्ता भने सेयर बजार सधै उच्च गतिमा बढिरहनु पर्ने र कुनै पनि दिन घट्नु हुँदैन भन्ने मानसिकताबाट ग्रसित भएको देखिन्छ । बजार बढ्दा उत्साहति हुने र बजार घट्दा गभर्नर, अर्थमन्त्री तथा सरकारकै विरोध गरेर आन्दोलनमा उत्रने गरेका छन् ।

पछिल्लो समय नेप्से परिसुचकले उच्च अंकको बिन्दु छोएर केही तल झरेसँगै लगानीकर्ताहरु अन्दोलनमा उत्रिनुका साथै रिले अनसनमा बसेका छन् । उनीहरुले राष्ट्र बैंकको मौद्रिक नीतिलाई देखाएर आन्दोलनमा उत्रिएका छन् । विशेषगरि राष्ट्र बैंकले ल्याएको मार्जिन प्रकृतिको कर्जाको सीमाका कारण बजार घटेको भन्दै उक्त नीतिलाई नै प्रभावित पार्नेगरी सोमबार आन्दोलनमा उत्रिएका थिए । राष्ट्र बैंकले सेयर बजारभन्दा पनि मुद्रा बजारलाई केन्द्रित गर्दै मौद्रिक नीति बनाउने गर्छ । जसमा सरकारले बजेटमार्फत लिएको लक्ष्यपुर्ति गर्नु नै प्रमुख उद्देश्य रहन्छ भने सेयर बजार भनेको एकदमै गौण विषय हो अर्थात सेयर बजारलाई धेरै स्थान दिइएको हुँदैन । राष्ट्र बैंकले सेयर बजारभन्दा पनि बैंक तथा वित्तीय संस्थाको जोखिम, सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य, रोजगारी सिर्जना, मुद्रास्फिति आदिलगायत विषयलाई केन्द्रित गरेर मौद्रिक नीति निर्माण गर्छ । तर लगानीकर्ताले भने राष्ट्र बैंकले सेयर धितोमा प्रदान गरिने मार्जिन प्रकृतिको कर्जामा एक परिवार भित्रको सीमा एक बैंकबाट ४ करोड रुपैयाँ र अधिकतम १२ करोड रुपैयाँ तोकिदिएका कारण बजारमा असर परेको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

डिम्याट खाताकै आधारमा हेर्ने हो भने सेयर बजारमा ४० लाखभन्दा लगानीकर्ता छन् भने सोही अनुरुप अनलाईन युजर्स पनि थपिने क्रम बढ्दो छ । तर राष्ट्र बैंकको तथ्याङ्कअनुसार जम्मा २ जना लगानीकर्ताले मात्र १ अर्बभन्दा बढि माजिन कर्जा लिएका छन् भने १६२ जनाले सेयर धितो राखेर १२ करोड रुपैयाँ अर्थात राष्ट्र बैंकले तोकिदिएको सीमा भन्दा बढि कर्जा लिएका छन् । राष्ट्र बैंकले उक्त सीमा तोक्नु भन्दा पहिला अर्थात असार मसान्त सम्मकै तथ्याङ्क हेर्ने हो भने पनि सेयर धितो कर्जाअन्तरगत साढे ८ हजार जना लगानीकर्ताले भने १ खर्ब ४ अर्ब रुपैयाँ लिएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । समग्रमा भन्ने हो भने राष्ट्र बैंकको उक्त नीति १६२ जना लगानीकर्ता बाहेक अन्यको हितमा रहेको देखिन्छ । अर्थात राष्ट्र बैंकको उक्त नीतिले लगानीकर्तालाई कुनै असर गरेको देखिँदैन । मात्र ठूलो आकारमा मार्जिन कर्जा लिएर बजारमा चलखेल गर्ने स्वार्थ केन्द्रित लगानीकर्तालाई मात्रै लगाम लगाएको छ ।

तर, राष्ट्र बैंकले उक्त नीति ल्याएसँगै सिमित स्वार्थ केन्द्रित लगानीकर्ताहरु दीपेन्द्र अग्रवालको नेतृत्वमा यसै हप्ताको सोमबार राष्ट्र बैंक घेराउन गर्ने भन्दै आन्दोलनको घोषणा गरे र आईतबार अप्राकृतिक रुपमा बजारमा लामो समयपछि नकारात्म सर्किट लगाईयो । जसको उद्देश्य बजारमा सामान्य प्रक्रियाबाट घटबढभन्दा पनि भोलिपल्ट अर्थात सोमबार हुने आन्दोलनको कार्यक्रमलाई सघाउ पुर्याउनु थियो । सोहीअनुरुप स्वार्थ केन्द्रित लगानीकर्ताहरु मोटरसाईकल र्यालीसहित राष्ट्र बैंक घेराउ गर्न पुगे । त्यसलगत्तै अर्थमन्त्री जनार्दन शर्माले पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अघिकारीलाई टेलिफोन गरी बजार के कारणले घटेको हो बजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरे । अर्थमन्त्रीले गभर्नरलाई पुँजी बजारमा देखिएको समस्या समाधान गर्न टेलिफोनमार्फत आग्रह गरेको सूचना बाहिर आएसँगै सोही दिन बजार हालसम्मकै उच्च अर्थात १६१ अंकले बढ्न पुग्यो ।

सेयर बजारमा देखिएको समस्या समाधान गर्ने आधिकारीक निकाय नेपाल धितोपत्र बोर्ड भएपनि अहिले राष्ट्र बैंकसँग बढि जोडिन पुगेको छ । राष्ट्र बैंकले विशेषगरी मुद्रा बजार र आफुले लाइसेन्स दिएका बैंक तथा वित्तीय संस्था जोखिममा नपरुन भनेर नीति नियम बनाउने गर्दछ । पछिल्लो समय सेयर धितोमा प्रवाह भएको कर्जामा जोखिम उच्च देखिएकै कारण राष्ट्र बैंकले पुनः सेयर खरिद गर्ने प्रयोजनका लागि १२ करोड रुपैयाँको सीमा तोकिदिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । तर, अर्थमन्त्री शर्माले पनि सेयर बजारमा भएको उतार चढावको विषयमा आधिकारिक नियामक निकाय धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेञ्जसँग छलफल नगरी सिधै गभर्नर अधिकारीलाई टेलिफाने गरेर समस्या समाधान गरिदिन आग्रह गरे । जसका कारण सो दिन बजार उच्च अंकमा बढेपनि बजारको उक्त गति भने धानिएन । त्यसको भोलिपल्टै अर्थात मंगलबार बजार ४४ अंकले घट्न पुग्यो भने बुधबार पनि ओरालो यात्रा तय गरेको छ ।

बजारमा लामो समयपछिको वृद्धिपश्चात केही करेन्सनको बाटो समातेको थियो । तर,राष्ट्र बैंकको कारण बजार घटेको भन्दै नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सेयर धितोमा प्रबाह हुने कर्जाको सीमा तत्काल हटाउन माग गरेर भने दीपेन्द्र अग्रवालको नेतृत्वमा भएको आन्दोलने अर्थमन्त्रीलाई गभर्नलाई टेलिफोन गराउन बाध्य बनाए । तर त्यसयता पुनः बजार ओरालो लागेकाले पुनः गभर्नरको फोनमा अर्थमन्त्री घण्टी बझ्न वा बझ्दैन त्यो भने हेर्न बाँकी छ ।

अहिले जसरी सिमित स्वार्थ केन्द्रित लगानीकर्ताले वित्त नीतिको विरोधमा आन्दोलन गरिरहेका छन् त्यो पनि एक प्रकारको वित्तीय अपराध नै हो । अहिले जति लगानीकर्ताहरु बजारको घटाईप्रति आन्दोलनमा उत्रिएका छन् उनीहरुले आफ्नो पैसाभन्दा पनि अन्य व्यक्तिको पैसा कमिसनका लिएर सेयर बजारमा कारोबार गर्दै आएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । यदि अबका दिनमा पुँजी बजारलाई शुद्धीकरण गर्ने हो भने बैंकिङ प्रणाली र पुँजी बजारमा त्यस्ता लगानीकर्ताले कसरी पैसा भित्र्र्याइरहेका छन राष्ट्र बैंकले त्यसको स्रोत समेत छानविन गर्नुपर्छ । साथै अर्थमन्त्री जनार्दन शर्माले भनेझै पुँजी बजारलाई समग्र जनताको हितमा बनाउने हो भने त्यसरी हुने छानविनमा अर्थमन्त्रालयले पनि सहयोग गर्नु जरुरी छ ।

अर्को कुरा विश्वका धेरै देशमा सेयर खरिद गर्न कर्जा पाईँदैन । दोस्रो बजारमा सेयर खरिद गर्न बैंकमा सेयर धितो राखेर कर्जा लिन पाइने नेपालको व्यवस्था अन्तरराष्ट्रिय अभ्यासविपरीत रहेको सम्बद्ध विज्ञहरु बताउँछन् । अमेरिका, युरोप, चीनलगायत ठूला सेयर बजार भएका मुलुकमा सेयर खरिद गर्न लगानीकर्ताले बैंकबाट कर्जा पाउँदैनन् भने विश्वका धेरैजसो राष्ट्रमा लगानीकर्ताले सेयर ब्रोकर र मर्चेन्ट बैंकिङमार्फत सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था छ । छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने मार्जिन लेण्डिङको सीमा १ करोड भारु छ । त्यस्तो सीमा २ करोड भारु रहेकोमा त्यसरी कर्जा लिएर सेयर खरिदबिक्री गर्दा उच्च चलखेल भएको भन्दै केही समयअघि मात्रै भारतीय धितोपत्र बोर्ड (सेबी)ले ५० प्रतिशतले घटाएर १ करोड भारुमा झारिदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL