Logo

हकप्रदको हल्लामा बेलगाम जलविद्युत कम्पनीको सेयर, यस्तो छ धितोपत्र बोर्डको तयारी

हकप्रदको हल्लामा बेलगाम जलविद्युत कम्पनीको सेयर, यस्तो छ धितोपत्र बोर्डको तयारी



काठमाडौं । मंगलबार प्रायजसो जलविद्युत कम्पनीको सेयर मूल्यमा सर्किट लागेर बढ्न पुगेको छ । सोही अनुरूप सो समुहको परिसुचक समेत ११९ अङ्कले उकालो लागेको छ । गतहप्तादेखि उच्च रुपमा बढ्न सुरु गरेको जलविद्युत समुहको सेयर मूल्य करिव ४ दिनको अन्तरालमा ३० प्रतिशतभन्दा बढिले उकालो लागिसकेका छन । तर, जलविद्युत कम्पनीहरूले राम्रो प्रतिफल दिन नसकेपनि हकप्रदको हल्लाको कारणले गर्दा लगानीकर्ताहरूको आकर्षण बढेको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । 


केही समय अघि विद्युत नियमन आयोगले बैंकको ऋण तिर्ने प्रयोजनका लागि पनि जलविद्युत कम्पनीहरूले हकप्रद सेयर जारी गर्न पाउने व्यवस्था गरिदिएको थियो । सोही अनुरुप आर्थिक बर्ष सकिएसँगै सम्बद्ध कम्पनीहरूले हकप्रद ल्याउने भन्दै लगानीकर्ताहरू झुम्मिएका छन् भने बजारमा पनि सोही अनुरूपको हल्ला फैल्याइएको छ । अहिले धेरेजसो जलविद्युत कम्पनीका संचालक तथा सीईओहरुले आफु नजिकका व्यक्तिहरुमार्फत बजारमा २ सयदेखि ५ सयप्रतिशतभन्दा बढि हकप्रद दिने हल्ला फैल्याएको र त्यसैलाई आधारमान्दै लगानीकर्ताहरु झुम्मिन थालेको सम्बद्ध लगानीकर्ताहरू बताउँछन् । ‘अहिले केही कम्पनीले खुलेआमनै भनेका छन् भने कतिपयले लगानीकर्ताहरुमाझ सुचनाको पासो थाप्दै आफु नजिकका व्यक्तिहरुमार्फत बजारमा ठूलो मात्रामा हकप्रद सेयर जारी गर्ने भन्दै हल्ला फिजाएका छन्,’ एक लगानीकर्ताले भने, ‘कतिपय जलविद्युत कम्पनीहरुको लकिङ पिरियड सकिन लागेको र त्यस्ता कम्पनीको संस्थापकहरुले हकप्रदको हल्ला चलाएर उच्च मूल्यमा सेयर बिक्री गरेर बाहिरिने एउटा स्क्याम मात्र हो यो ।’

जलविद्युत कम्पनीहरूले सर्वसाधारणमा सेयर जारी गरेको ३ वर्षसम्म लगानीकर्तालाई केही नदिने र लकिङ पिरिएड खुल्ने समयमा बोनस दिने अनि सोही अनुरूप हकप्रद सेयरको हल्ला चलाएर आफूसँग भएको सेयर बिक्री गरेर बाहिरिने गरेका छन् । ‘जलविद्युत कम्पनीलाई ऋण तिर्न दिनकै लागि हकप्रद सेयर जारी गर्न दिने भन्ने विद्युत नियमन आयोगको निर्णय गलत भएको र त्यसैमा खेलेर अहिले बजारमा जलविद्युतका प्रवर्द्धकले सेयर मुल्य बढाउने काम गरिरहेका छन्,’ अर्का एक लगानीकर्ताले भने, ‘यदि यस्ता विषयमा नियामक निकायले छानविन गरेर कारबाहीको दायरामा नल्याउने हो भने धेरै लगानीकर्ताहरू फस्ने सम्भावना उच्च रहेको छ ।’

अहिले लामो समयदेखि लगानीकर्तालाई बोसन निदएको र १० प्रतिशत पनि बोसन दिनसक्ने क्षमतामा नभएका कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार आसपास पुगिसकेको छ । अहिले हकप्रदको हल्ला चलाउने र पछि नियामक निकायले सोही अनुरूप स्वीकृति नदिने हो भने धेरै लगानीकर्ताहरू घरबार विहीन हुने जोखिम बढेको समेत सम्बद्ध लगानीकर्ताहरू नै बताउँछन् । ‘पहिलापनि एउटा जलविद्युत कम्पनीले अर्को आयोजना प्रवर्द्धन गर्ने भन्दै १ः८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको थियो तर नियामकले स्वीकृति नदिँदा त्यसैको पछि लागेर सेयर किन्ने धेरै लगानीकर्ताहरू फस्न पुगे,’ सम्बद्ध लगानीकर्ताहरू बताउँछन्, ‘अहिले पनि जलविद्युत कम्पनीहरूले बजारमा ल्याएको हल्ला त्यस्तै प्रकृतिको हो यस्ता हल्लाले धेरै लगानीकर्ता फस्ने सम्भावना उच्च छ ।’

यसैगरी नेपाल धितोपत्र बोर्डले पनि विद्युत नियमन आयोगले भनेझै जलविद्युत कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न नदिने बताएको छ । ‘अहिले बजारमा हकप्रदको हल्ला चलाएर चलखेल गरिरहेको बुझिएको छ तर हामीले बैंकलाई ऋण तिर्ने प्रयोजनका लागि कुनै पनि जलविद्युत कम्पनीलाई हकप्रद सेयर जारीका लागि स्वीकृति दिँदैनौं,’ बोर्डका एक उच्च अधिकारीले भने, ‘कुनै आयोजनाले अर्को आयोजना प्रवर्द्धन गर्छ भने त्यस विषयमा सोच्न सकिन्छ तर नयाँ बन्ने आयोजनाले सर्वसाधारणमा छुट्टै आईपीओ जारी गर्ने भएकाले त्यस विषयमा पनि थप अध्ययनको जरुरी देखिन्छ ।’ कुनै पनि कम्पनीलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिने वा नदिने भन्ने अधिकार धितोपत्र बोर्डमा निहित रहेको र अन्य संस्थाले सिफारिस वा सहमति दिँदैमा त्यसलाई बोर्डले स्वीकृत नगर्ने समेत बोर्ड स्रोतले जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्
MBL