काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शुक्रबारदेखि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले भोलीदेखि नै प्रतिकित्ता १ सय रुपैयाँ दरका २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । सो मध्ये कम्पनीले २ % अर्थात ५० हजार ३ सय ६५ कित्ता सेयर कर्मचारी र ५ % ले हुने १ लाख २५ हजार ९ सय ११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको लगानी रहेको लमजुङ जिल्लामा ४.४० मेगावटको राधी विद्युत कम्पनी र ०.१८ मेगावटको स्यागे खोला जलविद्युत आयोजना गरी २ वटा हाइड्रोपावर परियोजना सञ्चालन भइरहेको छ । कम्पनीको लगानी रहेको राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रकशन लिमिटेड, दोर्दी खोला जलविद्युत लिमिटेड तथा खारे खोला जलविद्युत कम्पनी लिमिटृड गरी ३ वटा आयोजनाहरु निमार्ण भइरहेको छ । साथै कम्पनीको लगानी रहेको संखुवासभा मकालु गाउँपालिका–०२ मा ४५ मेगावटको कसुवा खोला जलविद्युत आयोजना पनि निर्माण गर्ने क्रममा रहेको छ ।
कम्पनीले सन् २००९ मा स्थापना सीइडीबी हाइड्रोपावर लिमिटेडको चालु आ.ब. मा प्रति सेयर आम्दानी १३ दशमलव ०५ र प्रति सेयर खुद सम्पत्ति १३८ दशमलव ७९ रहेको छ । कम्पनीले आ.व. २०७५/०७६ मा १०.५४ प्रतिशत र २०७६/०७७ मा ७.३७ प्रतिशत नगद लाभाँश बितरण गर्न सफल रहेको छ भने कम्पनीले आगामी आ.ब. मा पनि लाभांश प्रदान गर्ने समेत प्रक्षेपण गरेको छ । साधारण सेयर बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७०ः३० कायम हुनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ५८ करोड ७५ लाख ९० हजार छ । साधारण सेयर बिक्री पश्चात कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँ हुनेछ ।
इच्छुक लगानीकर्ताले मिति २०७८ वैशाख १७ गतेदेखि सि—आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत अनलाइनबाट साधारण सेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् । उक्त सीइडीबीको साधारण सेयर निष्काशन बन्द मिति छिटोमा वैशाख २१ गतेसम्म रहने छ ।