भीष्मराज ओझा
काठमाडौं । काठमाडौं भन्दा प्रदुषित शहर अरु होला भन्ने सायदै कसैलाई लाग्ला । किनकी जनसंख्या र सवारी साधनको अत्यधिक घनत्व भएको काठमाडौँ उपत्यकाका मुलुकमै सबभन्दा बढी प्रदूषित सहर भन्ने भ्रम धेरैमा छ । तर वातावरणीय प्रदूषण मापन तथ्यांकले लुम्बिनी काठमाडौँभन्दा पनि बढी प्रदूषित देखिएको छ ।
वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांकअनुसार काठमाडौँभन्दा लुम्बिनी डेढ गुणा बढी प्रदूषित पाइएको वातावरण विभागले जनाएको छ ।
मानव स्वास्थ्यमा असर गर्ने मसिनो धुलोका कण औषतमा काठमाडौँभन्दा लुम्बिनीमा बढी पाइएको विभागका सहप्रवक्ता मोहनदेव जोशीले बताए ।
सहप्रवक्ता जोशीले भने ‘लुम्बिनी बढी प्रदूषण हुनुको खास कारण यही भन्न नसकिए पनि तीव्र औद्योगिकीकरणमा रहेको भारतीय सीमाबाट बहने वायु प्रदूषण र लुम्बिनी आसपासमा बढी मात्रामा रहेका नेपाली सिमेन्ट उद्योगबाट उड्ने धुलोका कण हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
विभागले एक वर्षअघि नै मुलुकको समग्र वायु प्रदूषणको स्थिति जाँच र अनुगमन गर्न मुुलुकभर १२ स्टेशन स्थापना गरेको छ । त्यस्ता स्टेशन काठमाडौँको पुल्चोक, रत्नपार्क, कीर्तिपुर, धुलिखेल, शंखपार्क, भैँसेपाटी, भक्तपुरमा छन् भने उपत्यका बाहिर सौराहा, लुम्बिनी र पोखरामा (तीन वटा) छन् । यद्यपि मुलुकभर ५६ स्टेसन आवश्यक पर्ने विभागको भनाइ छ ।
दिउँसोभन्दा बिहान र बेलुकी बढी प्रदूषण
वायु प्रदूषणको स्थिति जाँच गर्ने स्टेनशको २४ घण्टे तथ्यांक केलाउँदा दिउँसोको समय (११ देखि ४ बजेसम्म) कम प्रदूषित रहन्छ भने बिहानी र बेलुकीको समय बढी प्रदूषित छ । वार्षिक तथ्यांक हेर्दा भने कात्तिकदेखि फागुनसम्म अत्यधिक प्रदूषित हुने गरेको छ ।
काठमाडौँको हानिकारक प्रदूषणको स्रोतमा योगदानका आधारमा क्रमशः सवारी साधन, धुलो, कृषि कर्म र इँटाभट्टा रहेका छन् । वातावरण क्षेत्रमा कार्यरत संघसंस्थाको सहभागितामा विभागद्वारा आज आयोजित कार्यक्रममा सरोकारवालाले वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी बनाउन आपसी समन्वय हुनुपर्नेमा जोड दिए ।
वातावरण मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्सालले नेपालमा वातावरणसँग सम्बन्धित तथ्यांक एवं स्रोत सधानको कमी नभए पनि त्यसलाई प्रभावकारी परिचालन र उपयोग गर्न नसक्दा अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताए ।
मन्त्रालयले वातावरण संरक्षणका कार्यमा एकरुपताका लागि प्राथमिकता निर्धारण गरेको अवगत गराउँदै भने ‘वातावरण संरक्षण अभियानका लागि सरकारले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरोकारवाला सबैको सहयोग र योगदान आवश्यक छ ।’ कार्यक्रममा वातावरण क्षेत्रका विज्ञहरुले विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरेका थिए ।
वायु प्रदूषण जाँचपास गरेका ४७ प्रतिशत सवारी साधन असफल
हानिकारक प्रदूषणको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको संख्या काठमाडौँमा तीव्र गतिमा वृद्धि भइरहेको छ । काठमाडौँमा आर्थिक वर्ष २६२/६३ मा करिब २८ हजार सवारी साधन दर्ता भएकामा क्रमशः बढेर २०७२/७३ मा लगभग ९८ हजार सवारी साधन दर्ता भएको तथ्यांक छ ।
सवारी प्रदूषण नियन्त्रण नापजाँच पास गरेका (ग्रिन स्टिकर) सवारी साधनमध्ये करिब ४७ प्रतिशत सवारी साधन प्रदूषण उत्सर्जनमा असफल भएको पाइएको विभागले जनाएको छ ।