काठमाडौं । दक्षिण कोरियाली सिनेमा र पप उद्योग पछि अब सौन्दर्य उद्योग (कस्मेटिक इण्डष्ट्रि) ले पनि आफ्नो प्रभुत्व जमाउन थालेको छ । कोरियाली सौन्दर्य उत्पादनहरूले चीनदेखि अमेरिकासम्म सबैतिर तरंग श्रृजना गरेका छन् । दक्षिण कोरियाले कस्मेटिक्स र प्लास्टिक सर्जरी क्षेत्रमा नयाँ उचाइृ हासिल गरेको छ । सोमबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार दक्षिण कोरियाले सन् २०२४ मा यस क्षेत्रमा १० अर्ब डलर (करीब १४ खर्ब रुपैयाँ) नाघेको छ ।
स्थानीय समाचार एजेन्सी योनहापले रिपोर्ट गरेको छ कि खाद्य र औषधि सुरक्षा मन्त्रालयका अनुसार दक्षिण कोरियाको कस्मेटिक निर्यात वार्षिक २०.६ प्रतिशतले बढेर १०.२ बिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो । यो वृद्धिको श्रेय हल्यु वेभलाई दिइन्छ । हल्यु वेभको अर्थ कोरियाली लहर हो । यो शब्द दक्षिण कोरियाली संस्कृति (मनोरञ्जन, संगीत, चलचित्र र टेलिभिजन) लाई बढावा दिन विश्वव्यापी रूपमा प्रयोग गरिन्छ ।
कोरियाली सौन्दर्य उत्पादन चीन र अमेरिका लगायत धेरै देशहरूमा ठूलो माग छ । यद्यपि यसमा चीन पहिलो स्थानमा छ । चीनले सन् २०२४ मा दक्षिण कोरियाबाट २.५ अर्ब डलरको सौन्दर्य सामग्री खरिद गरेको छ । यसमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकाले सन् २०२४ मा १.९ बिलियन डलरको उत्पादन खरिद गरेको थियो । योसँगै जापान एक अर्ब डलरको आयातसहित तेस्रो स्थानमा छ । खाद्यमन्त्री ओ यु–क्युङले सरकारले स्थानीय फर्महरूलाई कस्मेटिक निर्यात बढाउन मद्दत गर्ने बताए । यसले व्यापार साझेदार देशहरूसँगको सहकार्यलाई पनि बलियो बनाउनेछ । यसबाहेक यसले स्थानीय फर्महरूलाई अमेरिका र चीनको सुरक्षा मापदण्ड पूरा गर्न पनि मद्दत गर्नेछ ।
दक्षिण कोरियाको कस्मेटिक निर्यात सन् २०१४ देखि लगातार बढिरहेको छ । तर, बीचमा एक वर्ष अलिकति गिरावट आएको थियो । सौन्दर्य प्रसाधन मात्र होइन, दक्षिण कोरियाले स्वास्थ्यसँग सम्बन्धित जडीबुटी उत्पादनको बिक्रीमा पनि तीव्र गतिमा प्रगति गरिरहेको छ । गत वर्षको तुलनामा तेस्रो त्रैमासमा २२.५ प्रतिशतले वृद्धि भएको छ । कोरिया हेल्थ इन्डस्ट्री डेभलपमेन्ट इन्स्टिच्युटका अनुसार २०२४ को जुलाई–सेप्टेम्बर अवधिमा जडीबुटीको निर्यात ६.३४ बिलियन डलर पुगेको छ भने २०२३ को सोही अवधिमा ५.१७ बिलियन डलर थियो । हंगेरी, जर्मनी र बेल्जियममा जडिबुटीको उत्पादनको माग उच्च थियो ।