४६ बर्षको इतिहास बोकेको व्यवसायीक घरना हो लक्ष्मी ग्रूप । पोखराबाट सानो व्यवसायबाट व्यवसायीक यात्रा शुरु गरेको लक्ष्मी ग्रूप अहिले नेपालको ठूलो व्यवसायीक घरनामा उदाईसकेको छ । कम्फेक्सनरी, डेरी, अटोमोवाईलदेखि स्टिल उद्योगसम्ममा व्यवसाय विस्तार गरी सफलता हात पारेको सो ग्रूपले नेपाल उद्योग वाणिज्य महासंघका पनि आफ्नो प्रतिनिधित्व जमाउँदै आएको छ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएका तिनै सफल लक्ष्मी ग्रूपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठसँग चुनावी एजेण्डामा केन्द्रित रेहर बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :
नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी कार्यकालको निर्वाचन सन्निकट छ । अन्तिम तयारी कस्तो छ ?
चुनाव आउन अब १/२ दिन मात्रै बाँकी छ । यस्तो बेलामा हामी एकदमै तदारुकताका साथ चुनावी अभियानमा लागिपरेका छौं । हाम्रा बस्तुगत र जिल्ला एसोसिएटतर्फका साथीहरु सम्बन्धित मतदाताहरुसँग भेटघाट र छलफलमा व्यस्त हुनुहुन्छ । हामीले टिमवर्कमा आधारित रहेर काम गरिरहेका छौं । जसमध्ये हाम्रो बस्तुगततर्फको टिम वर्क भईरहेको छ । सबै साथीहरु चुनावी प्रचारप्रसारका लागि तल्लिन भएर लागि पर्नुभएको छ । हामीले बस्तुगततर्फ बृहत्तर क्षेत्रलाई प्रतिनिधित्व गर्नेगरी १४ जनाको टिम बनाएका छौं । हाम्रो टिमलाई म गहनाको रुपमा लिन्छु । हाम्रो टिमले महासङ्घमा सशक्त भुमिका खेलेको छ । सोही कारण हामीले अभियानलाई तदारुकताका साथ अघि बढाएका छौं । जसका कारण हाम्रो टिमले विजय पनि हात पार्नेछ ।
बस्तुगततर्फ १ सय १ जनाले भोट गर्दै हुनुहुन्छ । जसको नेतृत्व तपाईँले गर्दै हुनुहुन्छ । तपाईँलाई १ सय १ जनाले के आधारमा भोट दिने ?
हामी निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने सबैको एउटै उद्देश्य हो व्यावसायीक वातावरण बनाउने र लगानीको सुरक्षा गर्ने । मैले विगत ४६ बर्षदेखि आफ्नो जीवनकाल खण्डमा आफ्नो नेतृत्व क्षमता देखाईसकेको छु । ४६ बर्षअघि स्थापना भएको लक्ष्मी ग्रुपलाई आजको दिनसम्म राष्ट्रको स्तरिय व्यावसायिक घरानाको रुपमा स्थापित गराएको छु । मैले र मेरा आफन्तहरु मिलेर उक्त व्यावसायिक ग्रुपलाई स्तरिय व्यवसायमा स्थापित गरेसँगै मेरो व्यावसायिक नेतृत्व क्षमतासमेत झल्केको छ । यस्तै म पछिल्लो १६ बर्षदेखि उद्योग वाणिज्य महासङ्घमा संलग्न छु । म कुशकुमार जोशीको पालामा उद्योग समिति अन्तर्गतको ब्राण्ड प्रोटेक्सन ग्रुपको सह संयोजकको भुमिकामा प्रवेश गरेको थिए । त्यसपश्चात म संयोजकसमेत भएँ । त्यसबेला हामीले ट्रेडमार्क सम्बन्धमा भएका समस्याहरुलाई कसरी निराकरण गर्ने र यसको दर्ता प्रक्रियालाई सरल र भरपर्दाे बनाउने उपायहरुमा विभिन्न कार्यहरु गरेका थियौं । यस्तै म रोजगारदाता परिषदको सदस्य पनि भएँ र यसमा म ९ बर्षसम्म कार्यरत रहें । उक्त अवधिमा मैले हालै आएको श्रम ऐनका विषयमा धेरै पहलहरु पनि गरेको थिएँ । मैले रोजगारदाता परिषदका सभापति पशुपति मुरारका, शेखर गोल्छालगायतसँग लामो समय काम गरें । मैले राजस्व समितिमासमेत बसेर भन्सारलाई व्यवस्थित गर्ने, भन्सारसम्बन्धी समस्याहरुलाई निराकरण गर्ने, भन्सारलाई डिजिटाईजेसन गर्ने, आधुनिकिकरण गर्नेलगायतका काम महासङ्घमा रहेर योगदान गरेको छु ।
यस्तै पछिल्लो पटक उद्योग समितिको सभापति भएर औद्योगिक व्यवसाय ऐन, नियमावली ल्याउनसमेत योगदान गरेको छु । साथै गुणस्तर तथा नापतौल विभागमा संलग्न भएर नेपालमा अन्य गुणस्तर चिह्नहरु पनि आउनुपर्छ, विदेशबाट आएका बस्तुहरु गुणस्तरिय हुनुपर्छ, व्यवसायीको हितका लागि गुणस्तरको मापदण्ड राम्रो हुनुपर्छ भन्ने पहल गरिरहेको छु । यस्तै मैले विशेष आर्थिक क्षेत्र (सेज)को तिव्र विकासको लागि पनि पहल गरिरहेको छु । यतिमात्रै नभएर मैले व्यवसायीको हकहित र सम्मानका लागि विभिन्न नेतृत्वमा रहेर काम गरिरहेको छु । यस्तै हामीले फीटा कानुनमा भएको नेपालमा सञ्चालित विभिन्न पेशा व्यवसायको सुरक्षा हुनुपर्छ भन्ने नीति लिएका छौं । मैले संसदीय समितिमा समेत राष्ट्रले देशभित्र सञ्चालित पेशा व्यवसायको रक्षा गर्नुपर्छ भनेर लबिङ गरेको छु । यस्तै मैले काठ ओसारपसारसम्बन्धी समस्याहरुको पनि निराकरणका लागि संसदीय समितिमा गएर लबिङ गरिरहेको छु । त्यसैले बस्तुगततर्फका सबै साथीहरुले मेरो नेतृत्व क्षमता देख्नुभएको छ । सोही नेतृत्व क्षमतालाई विश्वास गरेर सबै साथीहरुले मलाई अगाडी बढाउनुहुनेछ ।
जुन् पदका लागि तपाईं समुहसहित निर्वाचनमा होमिदैं हुनुहुन्छ, भविष्यमा अहिलेको प्रतिबद्धता पुरा गर्ने रणनीति अथवा आधार चाहीं के हो ?
नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य संस्थाहरु केही महासङ्घ थिए भने अब सबै संस्थाहरु महासङ्घ बन्नेतर्फ उन्मुख छन् । हालको संविधानले पनि प्रदेशको परिकल्पना गरेपछि सोहीअनुसार बस्तुगततर्फका संस्थाहरु पनि महासङ्घमा परिणत हुँदैछन् । हाल यस्ता महासङ्घका सञ्जालहरु देशभर फैलिँदैछन् । नेपाल उद्योग वाणिज्य महासङ्घ पनि सबै संस्थाहरुको प्रतिनिधित्व गर्दै महासङ्घ भएको हो । त्यसकारण उक्त संस्थाहरुको समस्या समाधान गर्न, उहाँहरुलाई सहभागिता गराएर सहयोग गर्छौैं । उहाँहरुसँगै बसेर हामीले उहाँहरुका समस्याहरुको समाधान गर्ने पाटो रोज्ने गरेका छौं ।
विगतमा पनि मेरो अनुभव, मैले हासिल गरेको सफलता र लगाव हाम्रा सबै साथीहरुले देखिसक्नुभएको छ । सोहीअनुसार साथीहरुले मलाई विश्वास गर्नुभएको छ जस्तो मलाई लाग्छ । र म त्यो विश्वास कुनै पनि हिसाबले घट्न दिन्न । मैले बस्तुगततर्फ रहेका सबै क्षेत्रहरुलाई सहभागि गराएर र समेटेर ४ वटा क्षेत्रमा विभाजन गर्ने सोचेको छु । जसमध्ये एउटा म्यानुफ्याक्चरिङ, ट्रेडिङ, सर्भिस र एग्रिकल्चर गरी क्षेत्र विभाजन गर्ने भनेको छु । उक्त चार ओटा क्षेत्रका गतिविधिलाई म बढाउँछु । म आफूले मात्रै नेतृत्व लिने नभएर नेतृत्व विकास गर्ने हिसावले अघि बढ्छु । सोही चार ओटा क्षेत्रलाई छुट्याएर टिमवर्क प्लस लिडरसीप गर्ने तयारी गरेको छु । जसमा बस्तुगत तर्फका सबै साथीहरु समेटीनु हुनेछ । हामीले कोरोना महामारीले थलिएको मुलुकको अर्थतन्त्रलाई चलायमान र तिव्र बनाउन १० बर्षे भिजन बनाएका छौं । हामीले १० प्रतिशतको आर्थिक वृद्धि, व्यापारघाटा न्यूनिकरण, रोजगारी सिर्जनालगायतलाई मुख्य भागमा राखेर उक्त भिजन बनाएका हौं । म नेतृत्वमा गईसकेपछि सोही भिजनअनुसार र व्यावसायीक वातावरणसँगै लगानी सुरक्षणसम्बन्धी भरपुर काम गर्नेछौं ।
चुनावको संघारमा पुग्दै गर्दा कोरोनाबाट ग्रसित नेपालको अर्थतन्त्रसँगै व्यापार व्यवसायलाई रिफर्म गर्न तपाईँले कस्तो उपाय अपनाउनु हुनेछ ? र मतदाताले कस्तो आश गरेका छन् ?
हामीले हाम्रो १० बर्षे गाइडलाईनमै नेपालमा १० प्रतिशतको आर्थिक वृद्धिदरको कुरालाई जोड दिएका छौं । जसको प्रमुख अश्त्र नै व्यावसायिक लागत घटाउनु हो । जसका लागि हामीले पूर्वाधारको विकासलाई विशेष प्राथमिकता दिनुपर्छ । सरकारको लगानी बढाउने, सरकारले खर्च बढाएर मनी सर्कुलेसन बढाईदिने गर्नाले नेपालमा व्यवसाय बढ्दै जान्छ । यस्तै व्यवसाय चलायमान बनाउन सरकारले खपत बढाईदिनुपर्याे भन्ने कुरा हामीले प्राथमिकतामा राखेका छौं । हाल नेपालका सबै जिल्ला सदरमुकामहरु बाटोघाटोले छोएको भएपनि बाटो स्तरिय छैन जसमा सरकारले खर्च गरेर विकास गर्न सक्छ । यस्तै नेपालको आयात व्यापारको कस्ट घटाउनका लागि रेलमार्ग सेवा चाँडो विस्तार गर्नुपर्दछ । यस्तै मध्यपहाडी राजमार्गलगायत विभिन्न राजमार्गको निर्माण गरी स्तरोन्नती गरिदिँदा पैसा चलायमान भई खर्च बढाउन सकिन्छ र लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल गर्न पनि सकिन्छ । यस्तै मध्येपहाडी राजमार्गको जस्तै उत्तर दक्षिण जोड्ने रेलमार्गको परिकल्पना गरी निर्माण गर्न सकिएको खण्डमा व्यवसायीक लागत घटाउन सकिन्छ । यस्तै ब्याजदर पनि एकल अंकको हुनुपर्दछ । ब्याजदर कहिले ह्वात्तै बढ्ने र कहिले घट्ने हुँदा व्यवसायीक लागत बढेको छ । यसरी बैंक ब्याजदरलाई एकल अंकसहित स्थिर बनाउँदा व्यवसायीक लागत घट्छ । यस्तै सेवाशुल्कमा पनि कटौति गरिनुपर्छ भन्ने हाम्रो माग छ ।
साथै कच्चा पदार्थको उपलब्धतालाई जोड दिन कृषि क्षेत्रलाई विशेष जोड दिईनुपर्दछ । जसका लागि कृषि कार्यक्रमका लागि चक्लाबन्दीको निकै महत्व छ । कृषि क्षेत्रलाई विशेष ध्यान दिईएको अवस्थामा कच्चा पदार्थको उपलब्धता स्वदेशमै हुनेछ । यसरी चक्लाबन्दी बनाई ठुलो ठुला जमिनमा हामीले खेति गर्न थाल्यौं भने हाम्रो कच्चा पदार्तामा लाग्ने व्यवसायीक लागत अझै घट्ने देखिन्छ । यस्तै सिँचाईको लागि पनि उत्तिकै व्यवस्था हुनुपर्छ । नेपालको सबैजसो जमिन सिँचाई हुन पायो भने उत्पादन बढेसँगै कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य हुने देखिन्छ । यस्तै नेपालमा कृषि क्षेत्रलाई अघि बढाउन मल कारखाना नेपालमा स्थापित हुनैपर्छ । त्यसका लागि हामी निजी क्षेत्र पनि तयार छौं । जहिले पनि बालि पाक्ने बेलामा र पाक्नुभन्दा केहिदिन अघि मात्रै मल आउने प्रवृत्तिको अन्त्य गर्नलाई पनि नेपालमा मल काराखानाको अति नै आवश्यकता छ । जसका लागि सरकारले कदम अघि बढाए निजी क्षेत्र सधैं तयार रहनेछ ।
हामीले प्राथमिकताान राखेको रोजगारी पनि हो । रोजगारी उपलब्धताका लागि निजी क्षेत्रमात्रै भएर हुँदैन सरकारले पनि उत्तिकै मात्रामा ध्यान पुर्याउनु आवश्यक छ । सरकारले आवश्यक सिप, तालिम, शिक्षालगायतको भरपुर ग्यारेन्टी गरिदिनुपर्छ । साथै विदेशबाट फर्केका युवालाई फारम भर्ने व्यवस्था गरिँदा पनि नेपालमा डेटाबेसको सिर्जना भई सोहीअनुसार रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहन्छ ।
साथै हामीले व्यावसायीक लागत घटाउनका लागि यीसँगै बन पैदावरलाई पनि विशेष ध्यान दिनु जरुरी छ । हामीले विदेशबाट काठ आयात गरेर काम गर्ने भन्दा पनि नेपालका वनजंगलमा पाईने काठको सही सदुपयोग गर्नुपर्छ र नेपालको वनजंगलमा भएको जडिबुटीलाई पनि प्रशोधन गरेर विदेश निर्यात गर्नसकिने वातावरण बनाईनुपर्छ । जडिबुटी प्रशोधनलाई भने विशेष प्राथमिकतामा राख्नुपर्याे जसका कारण नेपालबाट जडिबुटीको निर्यातलाई जोड दिन सकियोस । साथै सरकारले विभिन्न खनिज पदार्थका खानीहरुलाई सरकारले आफै गर्ने भन्दा पनि निजी क्षेत्रलाई जिम्मा दिएर निर्यात व्यापारलाई बढाई व्यापारघाटा घटाउन सकिन्छ । यसका लागि हामीले पहिले आफुलाई पुग्नेजति वस्तुको उत्पादन गरी बाँकी वस्तुहरु बाहिर निर्यात गर्न सक्नुपर्दछ । यी नै हाम्रा प्रमुख एजेन्डा हुन र हामीले यी एजेन्डाहरुलाई सर्वाेपरी ठानेर आफ्नो कार्यकालभरी काम गर्नेछौं ।
अन्तिममा मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
हाम्रो टिम सशक्त छ । हाम्रो टिममा १० देखि २७ बर्षको अनुभव बोकेका सदस्यहरु छौं । हामी टिमभित्रका सबैजना नेतृत्व क्षमतामा निखारिएका छौं । हामीलाई विश्वास गर्नुस र हाम्रा साथीहरु पनि आफ्नो आफ्नो क्षेत्रमा निखारिएको हुनुहुन्छ । सोही अनुसार हामीलाई तपाईँहरु सबैले विश्वास गरेर एकपटक काम गर्ने मौका दिनुहोस र हामीले सामाजिक आर्थिक विकासका लागि काम गर्र्नेछौं भन्ने विश्वास दिलाउन चाहान्छु ।