Logo

गलत नियत हुनेका लागि महामारी स्वर्णिम समय हुनपनि सक्छ, बैंकरहरु सचेत हुनुपर्छ : सीईओ अधिकारीको अन्तरवार्ता

गलत नियत हुनेका लागि महामारी स्वर्णिम समय हुनपनि सक्छ, बैंकरहरु सचेत हुनुपर्छ : सीईओ अधिकारीको अन्तरवार्ता


बिजखबर संवाददाता
31.1k
Shares

नेपाल राष्ट्र बैंकले कोरोना र लकडाउनका कारण उद्योग व्यवसायमा असर पुर्याएको भन्दै व्यवसायीहरुसँग असार मसान्तमा मात्र कर्जाको किस्ता र ब्याज उठाउन निर्देशन दिएको छ । यसबाट बैंकहरु चैतमा उठाउनुपर्ने किस्ताको त कुरै छाडौ ब्याज पनि उठाउन सकेनन् । यसैगरी लकडाउन लम्बिदै जाने हो भने असारमा पनि उठाउन असम्भव जस्तै देखिएको छ । जसका कारण बैंकिङ क्षेत्रमा ठूलो असर पार्ने देखिएको छ

लकडानका कारण नेपालको अर्थतन्त्र र बैंकिङ क्षेत्रमा हाल देखिएको प्रभाव र आगामी दिनमा पुर्याउन सक्ने असरका बारेमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारीसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीले अर्थतन्त्रका धेरै क्षेत्रमा असर पारेको देखिन्छ । पर्यटन्, घरेलु तथा साना उद्योगलगायत क्षेत्र सवैभन्दा बढी प्रभावित भएका छन्, कोरोनाले नेपालको बैंकिङ क्षेत्रमा कस्तो प्रभाव परेको छ ?

कोरोना भाईरसले आर्थिक, सामाजिक राजनीतिकलगायत सबै क्षेत्रमा असर पारेको छ । यसबाट बैंकिङ क्षेत्र अछुतो रहन सक्दैन । बैंकिङ क्षेत्र अर्थतन्त्रका सवै क्षेत्रसँग जोडिएको हुन्छ । देशको आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य मुरुदण्ड भनेकै बैंकिङ कारोबार हो । यसर्थ, कोरोनाले अर्थतन्त्रका अन्य क्षेत्रलाई असार गर्दा बैंकिङ क्षेत्र त्यसबाट स्वतः प्रभावित हुन्छ । कोरोनाको असरका कारण व्यवसाय नै केही समयसम्म संकुचनको अवस्थामा रहन्छ कि भन्ने आँकलन गरिएको छ ।

अहिले हामीले व्यवसायमा जुन खालको गुणस्तरीयता कायम गरेका थियौं, त्यसमा पक्कै पनि नकारात्मक प्रभाव पार्ने छ । जसले गर्दा आगामी दिनमा खराब कर्जा (एनपीएल) बढ्ने सम्भावना अत्याधिक देखिन्छ । व्यवसाय संकुचन हुने, खराब कर्जा बढ्ने, नयाँ कारोबार नहुने, अन्य खर्च निरन्तर बढिरहने सम्भावना देखिएको छ ।

कोरोना महाहमारीको यस्तो अवस्थमा पनि बैंकहरुले आफ्नो कारोबार संचालन गरिरहेका छन्, यसले गर्दा अघिपछिका तुलनमा खर्च बढेको छ भने आम्दानीका स्रोतहरु बन्द भएको छन् । यसले बैंकिङ व्यवसायमा संकुचन ल्याउने निश्चित छ । महामारीको बेलामा बैंकिङ क्षेत्र संचालन गर्न कर्मचारीहरुको मनोबल उच्च राख्नुपर्छ यसका लागि केही ईन्सेन्टिभको व्यवस्था पनि गर्नुपर्छ – जुन खर्च बढाउने कुरा हो । कारोबार भएपनि नभएपनि सबै बैंकहरुले महामारीको बेलामा पनि ग्राहकको सेवामा समर्पीत हुँदै आफ्ना कुनै न कुनै शाखाहरु संचालनमा ल्याएका छन् । त्यसले पनि खर्च बढाउँछ । ग्राहकहरुलाई बैंकिङ क्षेत्रले दिने सेवाहरुमा छुट पनि दिईरहेका छौं भने आम्दानीका स्रोत बन्द नै छ । त्यसैले बैंकिङ क्षेत्रको नाफामा उच्च गिरावट आउने छ । यी भए नकारात्मक कुराहरु ।

यसका सकारात्मक पक्षहरु पनि छन् । बैंकहरुले सबै ग्राहकलाई बैंकसम्म आउने झन्झटबाट मुक्त हुन डिजिटल पोर्टलहरु प्रयोग गर्न आग्रह गरिरहेका छन् । विद्युतीय माध्यमबाट कारोबार गर्न संस्कारको विकास हुने छ । ग्राहकहरु पनि केही शुल्कहरु छुट हुनेभएपछि यसतर्फ आकर्षित पनि भईरहेका छन् । डिजिटल बैंकिङले हाम्रो लागत घटाउने छ । यसले भावी दिनमा डिजिटल प्लेटफर्मलाई प्रश्रय दिएर समग्रमा बैंकिङ क्षेत्रलाई नै सकारात्मक भुमिका खेल्न मद्दत पुर्याउनेछ ।

राष्ट्र बैंकले असार मसान्तसम्म बैंकको कर्जाको किस्ता र ब्याज तिर्न छुट दिएको छ । तर, लामो समयसम्म लकडाउन भईरहने र व्यापार व्यवसाय ठप्प हुँदा खराब कर्जा धेरैनै बढ्ने, यसलाई बैंकहरुले कसरी व्यवस्थापन गर्नुपर्ला ?

नेपाल राष्ट्र बैंकले ल्याएको पहिलो चरणको राहत प्याकेज तत्कालिन समयमा भर्खरै सुरु भएको लकडाउनका लागि थियो । त्यस बेला लकडाउन यति लामो समयसम्म चल्छ भन्ने सोचाई थिएन । त्यसैले चैत मसान्तको कर्जाको साँवा र ब्याज असार मसान्तसम्म तिर्न सकिने गरी राहतको प्याकेज ल्याईएको थियो । यसको मतलब चौथो त्रैमासिक र तेस्रो त्रैमासिकको कर्जाको सावाँ र व्याज एकैचोटी तिर्नुपर्ने भन्ने हो । चैतको २० दिनको लकडाउनका कारण ग्राहकहरुले आफ्नो नियमित रुपमा तिर्नुपर्ने किस्ताहरु तिर्न असमर्थ देखाईरहेका छन अझ वैशाख महिनाभरी नै लकडाउन भयो भने त व्यवसायले तत्कालै आफ्नो लय समात्न सक्दैन । त्यसैले असार झन चुनौतिपुर्ण देखिएको छ । असारको लागि के गर्ने भनेर निर्णय गरिसकेको अवस्था छैन । बैशाख १५ गतेसम्म लकडाउन घोषणा गरिएको छ । अझै पनि के हुने हो अनिश्चिता नै छ । अब लकडाउन नै खुलेपनि व्यापार व्यवसायले लय समात्न समय लाग्नेछ । तर, असारमा गएर के गर्ने भनेर सोचिएको छैन ।

उदाहरणका लागि बैंशाख १५ गतेसम्मको लकडाउनलाई मध्यनजर गर्दै एउटा योजना बनाउने तर त्यसपछि अर्को चरणको लकडाउन थपियो भने त्यसरी बनाईएको योजनाले पनि काम नगर्न सक्छ । तसर्थ केही समय धैर्य गर्नुपर्छ जस्तो लाग्छ । ग्राहकहरुलाई चैत मसान्तसम्म त्यति धेरै समस्या परिसकेको थिएन थिएन जुन पिडा आगामी लकडाउनले ल्याउन सक्ने छ ।

अब राष्ट्र बैंकले पनि आफ्ना नियमनमा केही परिवर्तन गरेर नयाँ नियम ल्याउन सक्छ । व्यवसायीहरुलाई पहिलेकै ब्याज र किस्ता तिर्न धौधौ भईरहेको अवस्थामा अबका दिनमा थप राहत प्याकेजहरु ल्याउनुपर्ने हुन सक्छ, रिभाईभका लागि नयाँ व्यवस्थाहरु गर्नुपर्ने हुन्छ । हामी बैंकरले बैशाख १ गतेबाट निक्षेपको ब्याजदर घटायौं । यसकै कारण हाम्रो वेसरेट बैशाख मसान्तमा घट्ने छ भने जेठ १ गतेदेखि लागू हुनेगरी कर्जाको पनि ब्याजदर घटाउँदै छौं । त्यसपश्चात बैंकहरुले व्यवसायको नेचर अनुसार अन्य निर्णयहरु गर्न सक्छन् ।

कतिपय गतल नियत भएकाहरुका लागि यो स्वणिम समय पनि हुनसक्छ । साईबर क्राईम र फ्रडरहरुले यसैलाई मौकाको रुपमा लिएका हुन्छन् । उनीहरुले यही मौकामा विभिन्न कुराहरु सोचिरहेका हुनसक्छन् र फ्रडको काम पनि गर्न सक्छन् । यसका लागि नेपाल बैंकले साईबरसम्बन्धी हुनसक्ने फ्रडहरु र म्यानुअल फ्रडलाई व्यवस्थापन गर्न सोही अनुरुप कमिटि बनाएर अघि बढेका छौं ।

बैंकले डिफल्डरको व्यवस्थापन गर्नका लागि कर्जाहरुको पुनरसंरचना (रिस्ट्रक्चरिङ), पुनरतालिका (रिसेड्युलिङ) गर्नुपर्ने हुन्छ, ब्याजलाई पुँजीकरण गरिनुपर्ने पनि हुन सक्छ । हामीले केही समय थप्नुपर्ने अवस्था पनि आउन सक्छ । यस्ता सवै काम बैंक एक्लैले गर्न सक्दैन, राष्ट्र बैंकले सोही अनुसारको सहयोग र समर्थन गर्नुपर्छ । राष्ट्र बैंकले यो विषयमा अध्ययन गर्न एउटा समिति बनाएको छ, त्यसले केही न केही सम्बोधन गर्नेछ ।

यस्तो अवस्थामा बढ्ने अपरेशनल रिस्कलाई व्यवस्थापन गर्न के कस्ता रणनीतिहरु अपनाउनु हुन्छ ?

कतिपय गतल नियत हुनेहरुका लागि यो स्वर्णिम समय पनि हुनसक्छ । साईबर क्राईम र फ्रडरहरुले यसैलाई मौकाको रुपमा लिएका हुन्छन् । उनीहरुले यही मौकामा विभिन्न कुराहरु सोचिरहेका हुनसक्छन् र ठगीको काम पनि गर्न सक्छन् । साईबर सम्बन्धी हुनसक्ने फ्रडहरु र म्यानुअल फ्रडलाई व्यवस्थापन गर्न नेपाल बैंकले सोही अनुरुप कमिटि बनाएर अघि बढेको छ । हामीले यस विषयमा निरन्तर मनिटरिङ गरिरहेका छौं जसका कारण हाम्रो बैंकमा अहिलेसम्म कुनै घटना घट्न सकेको छैन । कतिपय अवस्थामा आन्तरिक रुपमा पनि यस्तो फ्रड हुनसक्छ । यसमा पनि हामी विशेष सतर्क छौं । हामीले क्विक रेस्पोन्स टिम र अपरेशनल टिम बनाएर काम गरिरहेका छौं । क्वीक रेस्पोन्स टीमले कहिले, कहाँ, कसरी काम गर्ने समेत सेड्युल नै बनाएका छौं । हामी सुपरभिजन र मनिटरिङमा निरन्तर लागिरहेका छौं ।

अहिले धेरै उद्योगी व्यवसायीहरुको गुनासो छ कि बैंकले राष्ट्र बैंकको निर्देशन विपरित् खाताबाट कर्जावापतको पैसा काट्यो । बैंकहरुले राष्ट्र बैंकको निर्देशन्लाई पालना नगरेको हुन् ?

राष्ट्र बैंकको निर्देशन यदी कुनै ग्राहकले तिर्न नसक्ने अवस्था रह्यो भने असार मसान्तसम्म समय दिनु र यदि कुनै ग्राहकले तिर्न सक्ने क्षकता छ भने ब्याजदरमा १० प्रतिशत छुट दिनु भन्ने हो । यदि कुनै ग्राहको खातामा पैसा छ भने बैंकको सिस्टमले नै उसको तिर्न सक्ने क्षमता रहेछ भन्ने बुझ्छ । तसर्थ ग्राहकको खातामा पैसा छ भने जति लिनुपर्ने हो त्यतिबराबरको रकम सिस्टमले नै स्वत तानिदिन्छ । तर, १० प्रतिशत ब्याजदर छुटमा भने बैंकहरुले म्यनुअल्ली फिर्ता गर्नेछन् जुन काम सुरु भैसकेको छ । यसमा ग्राहकहरुले पनि आफ्नो क्षमता हुँदाहुँदै असार मसान्तसम्म तिरेपनि हुन्छ भनेर पर्खीराख्दा झन अप्ठ्यारो अवस्था आउँछ । ग्राहकले पाएको वास्तविक सुविधा भनेको ब्याजदरमा १० प्रतिशत छुट हो तसर्थ उहाँहरुले यसलाई सदुपयोग गर्नुनै बुद्धिमानी हुनेछ

बैंकहरुले यसमा नेपाल राष्ट्र बैंकको निर्देशन अवज्ञा गरेका छैनन । राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरुले पैसा नहुने ग्राहकसँग किस्ता र ब्याजका लागि फलो गरेका छैनन्, जसको क्षमता छ अथवा जसको खातामा पैसा छ उनीहरुसँगमात्र लिएका हौं । चैत मसान्त भनेको ग्राहकहरुलाई पनि धेरै अप्ठ्यारो परिसकेको अवस्था होईन । उदाहरणका लागि चैतमा व्यवसाय बन्द भयो होला, बैंकसम्म आउनका लागि असुविधा भयो होला तर यस त्रैमासको ९० दिनमा ७० दिन त राम्रोसँग व्यापार व्यवसाय चलेको थियो नि, त्यसकारण चैतको सावाँ र ब्याज तिर्न उहाँहरु सक्षम हुनुपर्ने हो । तर असारसम्म डबल तिर्नुभन्दा अहिले ब्याजदरमा पाएको छुट उपयोग गर्दै कर्जा तिर्नु उत्तम विकल्प हो ।

अर्को कुरा बैंकको सिस्टममा पैसा भएर सिस्टमले आफै काटेको खण्डमा पनि ब्याजमा छुट त पाईहाल्नुहुन्छ । यदि ग्राहकसँग बैंकको सिस्टममा केही रकम थियो र त्यसमध्ये चैतको सावाँ र ब्याज काट्दा उहाँहरुलाई अप्ठ्यारो परेको छ भने निवेदन दिदा हुन्छ, हामी त्यसलाई सम्बोधन गर्ने छौं । बैंकले ग्राहकलाई त्यही पैसा फर्काउन पनि सक्छ वा कुनै नयाँ व्यवस्था गरेर सुविधा थप्न पनि सक्छ । यस्तो विषम परिस्थितीमा बैंकले ग्राहकहरुलाई अप्ठ्यारो पार्नेगरी काम गर्दैन सहयोगीको भुमिकामै काम गर्नेछौं ।

निक्षेपको ब्याज घटिसकेको छ, ब्याजदर कम हुँदा निक्षेप नै घट्न सक्ने जोखिम पनि छ । अबका दिनमा साधन र स्रोतलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ?

कर्जाको गुणस्तरियता कायम राख्न र कर्जाका ग्राहकलाई राहत दिन निक्षेपको ब्याजदर घटाउनुपर्ने अवस्था आयो । अहिले जो सक्षम छ उसले अप्ठ्यारो परेकालाई सहयोग गर्नुपर्ने कर्तव्य पनि हो । बैंकहरुले सारधारण निक्षेपमा ३ देखि ५ दशमलव ५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । मुद्दतीमा भने ७ देखि सवा ८ प्रतिसम्ममम्म ब्याजदर तोकिएको छ सोही अनुरुप कार्यान्यवमा ल्याएका छौं । अबका दिनमा ब्याजदर घटाउँदा निक्षेप आकर्षित नभई बाहिरिन्छ कि भन्ने चासो पनि धेरैको छ । केही वर्ष अघि बैंकहरुको निक्षेप वा सामान्य बचतको ब्याजदर १–२ प्रतिशतको हाराहारीमा रहेको थियो, त्यो लेवलमा अझै हामी पुगिसकेका छैनौं । तर त्यहि लेबलमा घटाउनुपर्ने अवस्था आउन पनि सक्छ । निक्षेप ग्राहकले बढी ब्याजदर लिन खोज्नु स्वभाविक पनि हो । तर बैंकबाट झिकेर घरमै राख्दा पैसा बढ्ने त होइन यसले झन् सुरक्षा खतरा बढाउँछ । बैंकमै राख्दा केही न केही ब्याज आईरहन्छ । तसर्थ निक्षेप पलायन हुन्छ कि भने चिन्ता लिनुपर्ने देखिँदैन ।

अन्तरराष्ट्रिय बजारबाट रेमिट्यानसमार्फत नेपालमा भित्रने रकममा भने गिरावट आउने देखिएको छ यसले नेपालको अर्थतन्त्रमा केही असर पारिसकेको छ । रेमिट्यान्समा आएको संकुचनले नेपालमा मात्र हैन विश्वका ठुला बैंकहरुमा पनि असर परेको छ । वैदेशिक रोजगारमा गएका मानिसहरु फर्कीने र ल्याएको पैसा पनि जिविकोपार्जनमा खर्च गर्ने हुँदा बैंकमा पक्कै पनि निक्षेप घट्नेछ । तर नेपालभित्र रहेको रहेको पैसा ब्याजदर घटेका कारण पलायन चाहिँ हुँदैन बैंकमै रहन्छ ।

अबका दिनमा विप्रेषण प्रभावित हुने भएकाले निक्षेप घट्न पनि सक्छ । सरकारले पनि आन्तरिक राजस्व र वैदेशिक सहायता पनि उठाउथ्यो । आन्तरिक राजस्व तिर्नुपर्ने समय पर सारिएको छ, विश्व नै महामारीको संकटमा भएकाले वैदेशिक सहायताको आशा पनि कम गर्नुपर्ने अवस्था छ । सबै देश संकटमा भएकाले वैदेशिक सहायता आउने देखिँदैन । सरकारले ठूरो रकम बराबर आन्तरिक ऋण उठाउने छ जसका कारण बैंकमा भएको पैसा सरकारी कोषमा गएर जम्मा हुनेछ । यसले पनि बैंकमा तरलता घटाउने छ । तत्कालका लागि नयाँ कर्जाको माग नभएपनि भइरहेको व्यवसायलाई दिगो रुपमा अघि बढाउनका लागि पनि कर्जा परिचालन गर्नुपर्ने अवस्था छ । राष्ट्रैं बैंकले त्यसैलाई व्यवस्थापन गर्न पुनर्कर्जाको व्यवस्था पनि गरेको छ । यस्तो अवस्थमा बैकहरुले निक्षेप आकर्षिकत गर्न वित्तीय साक्षरता बढाने कार्यमा विशेष ध्यान दिनुपर्ने भएको छ । तर अहिलेको परिस्थितिमा निक्षेपमा ब्याजदर बढाउन सकिने अवस्था छैन ।

हामी डिजिटल नेपालको परिकल्पना गरिरहेका छौं र यो डिजिटलाईजेशनको उपयुक्त समय पनि हो । यस्तो अवस्थामा नेपाल बैंकले डिजिटलाईजेशनलाई कसरी अघि बढाउँदै छ ?

नेपाल बैंकले पनि अन्य विभिन्न बैंकहरुले दिएका सरह डिजिटल सेवाहरु दिईराखेको छ । हामी सबैभन्दा पुरानो बैंक भएकाले हामीसँग धेरै पुराना ग्राहक छन्, पुराना खाताहरु संचालनमा छन् । पुराना ग्राहकहरु डिजिटल कारोबारमा अभ्यस्त छैनन् । त्यसैले उनीहरुले यस्तो सेवा कम लिएको हाम्रो अध्ययनले देखाएको छ । त्यसैलाई मध्यनजर गर्दै लकडाउनकै अबधिमा मात्रै पुराना १ लाख ७५ हजार ग्राहकलाई मोबाईल बैंकिङ रजिष्ट्रर गर्न उत्प्रेरित गर्याैं । हामीले हाम्रा ग्राहकहरुलाई डिजिटल बैंकिङका विभिन्न प्रणाली एटीएम, मोबाईल बैंकिङ, कनेक्ट आइपीएसलगायतमा उत्प्ररित गरिरहेका छौं, वेबसाईटमार्फत तथा एसएमएसमार्फत जानकारी पनि दिईरहेका छौं । डिजिटल बैंकिङमा आकर्षित गर्न प्रयासरत छौं ।

राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकहरुले पैसा नहुने ग्राहसँग फलो गरेर किस्ता र ब्याज मागकै छैनन तर जसको क्षमता छ जसको खातामा पैसा छ उनीहरुसँगमात्र लिएका हौं । चैत मसान्त भनेको ग्राहकहरुलाई पनि धेरै अप्ठ्यारो परिसकेको अवस्था होईन । यस त्रैमासको ९० दिनमा ७० दिन त राम्रोसँग व्यापार व्यवसाय चलेको थियो नि । तसर्थ असारसम्म डबल तिर्नुभन्दा अहिले ब्याजदरमा पाएको छुट उपयोग गर्दै अहिलै कर्जा तिर्नु उत्तम विकल्प हो ।

हामीले डिजिटल सेवामा नयाँ प्रणाली विकास गर्नका लागि एक कमिटी गठन गरेका छौं । उक्त कमिटीले आगामी हप्तासम्म केही नयाँ सिस्टमका लागि प्रतिवेदन पेश गर्ने छ । त्यस्कै आधारमा नयाँ प्रडक्ट ल्याएर अघि बढ्नेछौं ।

अझै पनि धेरै जनताहरु बैंकिङ पहुँच भन्दा बाहिर छन् । अबका दिनमा त्यस्ता निश्चित क्षेत्र, समुदाय र वर्गमा पुग्नका लागि नेपाल बैंकले के कस्ता योजना अघि बढाएको छ ?

महामारीको अवस्थामा पनि नेपालको ६० प्रतिशत जनसंख्या बैंकिङ क्षेत्रमा रहेको पाईएको छ । अझै ४० प्रतिशत जनसंख्या भने नआएको भन्ने कुरा छ । नेपाल सरकारले नाराकै रुपमा लिएको प्रत्येक नेपालीको बैंक खाता भन्ने अभियानलाई पुरा गर्न हामी पनि प्रतिवद्ध भएर लागिपरेका छौं । खाताबीहीन नागरिकहरुलाई खातावाला नागरिक बनाउन हामीले हाम्रो नेटवर्क पनि विस्तार गरिरहेकै छौं, अझ बढाउने सोचिराखेका छौं । अहिले हाम्रा १ सय ७८ ओटा शाखाहरु संचालनमा छन् । यो आर्थिक वर्षमा २ सय शाखा पुर्याउने लक्ष्य थियो । तर लकडाउनले हामीलाई अप्ठ्यारो पारिरहेको छ । यसका बावजुद हामीले शाखा विस्तार गर्ने र आगामी अर्थिक बर्षसम्म शाखारहित बैंकिङ सेवा पनि संचालनमा ल्याउने गरी काम गरिरहेका छौं । यस्तै वित्तिय साक्षरता कार्यक्रम संचालन गर्नका लागि पनि हामीले उत्तिकै रुपमा खटिने भएका छौं ।

कोरोनाको महामारीले गर्दा सेवा प्रवाहका साथै अन्य काम गर्न पनि समस्या भएको होला, यस्तो अवस्थामा कर्मचारी व्यस्थापन कसरी गरिरहनु भएको छ ?

मान्छेको जीवनसँग जोडिएको र संवेदनशील कुरा भएकाले महामारीको अवस्थमा कर्मचारी व्यवस्थापन गुर्न निकै अप्ठ्यारो काम हो । तर, पनि बैंकरहरु अर्थतन्त्रलाई चलायमान बनाईराख्न, नागरिकलाई अत्यावश्यक सेवा प्रबाह गर्न, ग्राहकलाई सेवाबाट बञ्चित नगराउन हामी सक्रिय छौं, कर्मचारीहरु लागिपरेका छन् । बैंकका सबै शाखाहरु संचालनमा ल्याएका छौं । हामी कर्मचारीहरु आफुलाई त विश्वास गरौला तर ग्राहकबाट कर्मचारीलाई र कर्मचारीबाट ग्राहकलाई पनि रोग सर्न सक्ने त्रास दुवै पक्षसँग हुन सक्छ । यसका लागि हामीले विशेषगरी कर्मचारीहरुको मनोबल बढाउन विभिन्न कार्यहरु गरिरहेका छौं । हेल्थ प्राथमिक उपचारको व्यवस्था मिलाउने, स्वास्थ्यसम्बन्धी टिप्स दिने, सुरक्षा उपकरणको प्रयोग गर्नेलगायतका कामहरु गरिरहेका छौं । सरसफाईका आवश्यकताहरु पुरा गर्ने काम पनि गरिरहेका छौं । यसका साथसाथै हामीले कर्मचारीका लागि संक्रमण भईहालेमा उपचारका लािग बीमा गर्ने सोच बनाएका छौं । कार्यालयमा काम अघि बढाउँदा ग्राहकलाई सेवा आलोपालो गरी र सामाजिक दुरी कायम गरेर गर्ने व्यवस्था गरिरहेका छौं ।

नेपाल बैंक देशको सवैभन्दा पुरानो बैंक हो । तर, अहिले धेरै उपभोक्ताहरु निजी बैंकप्रति आकर्षिक भएको पाइन्छ । यस्तो अवस्थामा नेपाल बैंकले आफ्नो सेवा, सुविधा तथा गुणस्तर सुधारका के योजना ल्याउँदैछ ?

नेपाल बैंक सवैभन्दा पुरानो बैंक हो, नेपाल सरकारको अधिकांस सेयर स्वामित्व भएको बैंक पनि हो । त्यसैले कतिपय नागरिकहरुमा यस बैंकले अझै पुरानै शैलिमा र पुरानै प्रणालीमा काम गरिहेको होला भन्ने बुझाई रहेछ । त्यस्तै सरकारी भएकाले ग्राहकमैत्री पनि छैन होला भन्ने बुझाई पनि रहेको देखिन्छ । तर, यो गलत हो । अहिले उहाँहरुको सोचाई बुझाई पनि पनि परिवर्तन आईरहेको छ । हामी २७ ओटा वाणिज्य बैंकहरुमध्येको एउटा वाणिज्इ बैंक हो । यसकारण २७ ओटा वाणिज्य बैंकले अपनाउने हरेक क्रियाकलाप हामीले पनि अपनाउँछौं । बैंक पुरानो भएपनि सेवा आधुनिक छन्, सरकारी स्वामित्व धेरै भएपनि निजी सरह ग्राहकमैत्री सेवा र व्यवहार छन् ।

नेपाल सरकारको अधिकांस सेयरस्वामित्व छ भन्दैमा नेपाल सरकारले नेपाल बैंकलाइ छुट्टै व्यवहार गर्ने र अन्यलाई छुट्टै व्यवहार गर्ने भन्ने हुँदैन । नेपाल राष्ट्र बैंकको निर्देशन सबै बैंकका लागि हुन्छ । त्यसकारण नेपाल बैंक पनि अन्य बैंकसँग प्रतिस्पर्धी नबनी बस्न सक्दैन । हामीले हाम्रा ग्राहकहरुलाई ग्राहकमैत्री सेवा दिनुपर्छ भन्नेतर्फ सचेत छौं । वितगका केही वर्षहरुमा हामीबाट बाहिर गएका कर्जा ग्राहक तथा अन्य ग्राहकहरु फर्केर नेपाल बैंकमै आउनुभएको छ । हामीले अन्य बैंकहरुले जस्तै ग्राहकमैत्री सेवा दिइरहेका छौं । हामी एग्रेशिभ रुपमा गएका छैनौं होला तर हाम्रा सेवा, व्यवहार, सुविधालगायत सवै कुरा निजीका भन्दा कम छैनन् । हाम्रा केही कर्मचारीहरु पुराना पनि छन् तर हामीसँग प्रविधिमा पोख्त सक्षम र क्षमतावान कर्मचारीहरु पनि उत्तिकै छन् । हामीले पनि अन्य बैंकहरुले जस्तै पारदर्शी, सक्षम सेवा दिईरहेका छौं । नेपाल बैंक कसैबाट सहयोग पाएको छैन र हामी आफैले आफ्नो मेहनतबाट नेपाल बैंकलाई यहाँसम्म पुर्याउन सफल भएका छौं ।

अन्तमा, अहिले बैंकको तेस्रो त्रैमासिक विवरण आउन लागेको छ । नेपाल बैंकको अवस्था कस्तो छ ?

चैत्र मसान्तको वित्तिय विवरणमा कोरोनाको ठुलो असर प्रविविम्बीत हुनेछ । कर्जाको गुणस्तका लागि भने चैत्रमा त्यती असर नपर्ला । नाफामा भने ठुलो असर पर्ने छ । यो त्रैमासमा मात्र ब्याज रकम मात्रै १ अर्ब रुपैयाँभन्दा बढी उठेन । कुल नाफामा परेको प्रभावको बारेमा केही दिनमै तेस्रो त्रैमासको वित्तीय विवरण आउने छ त्यसले सबै जानकरी दिनेछ । राष्ट्र बैंकको सर्कुलरका कारण ग्राहकहरुले ब्याज नतिर्ने र सेवाको शुल्क पनि लिन नमिल्ने भएपछि हाम्रो नाफामा असर पर्छ । लकडाउनका कारण लोनको गुणस्तरियतामा पनि कमी आउँन सक्छ ।

यसो भन्दैगर्दा नेपाल बैंकले नाफालाई मात्र केन्द्रमा राखेर अघि बढेको छैन । हाम्रो पनि राज्य प्रतिको दायित्व छ । कसरी अर्थतन्त्र चलायमान बनाउन सकिन्छ भन्नेतर्फ पनि केन्द्रित भएका छौं । यो महामारीको अवस्थामा नाफा मात्र हेरेर हुँदैन अर्थतन्त्र जोगाउन सबै मिलेर अघि बढ्नुपर्छ ।

भर्खरै नेपाल बैंकले ‘इक्रा रेटिङ ए’ पाएको छ । यो हाम्रो सफलता हो । यसले अगामी दिनमा हामी प्रतिको विश्वासलाई अझै बढाउने छ भने विजनेश कम्युनिटी तथा सम्पूर्ण ग्राहकमा नेपाल बैंकप्रति हेर्ने दृष्टिकोणमाअझैै सकारात्मक प्रभाव पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्