Logo

राष्ट्र बैंकको नीतिकै कारण बैंकबाट कर्जा लिने ग्राहक सहकारीमा केन्द्रित भएका छन्

राष्ट्र बैंकको नीतिकै कारण बैंकबाट कर्जा लिने ग्राहक सहकारीमा केन्द्रित भएका छन्



भुवन दाहाल नेपाल बैंकर्स एशोसिएसनका नवनिर्वाचित अध्यक्ष हुन् । बैंकर्स एशोसिएसनले बैंकिङ क्षेत्रका विविध पक्षहरुमा सरकार तथा राष्ट्र बैंकसँग विभिन्न ढंगले बैंकिङ क्षेत्रको लविङ गर्दै आइरहेको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा क्रेडिट क्रन्च, ब्याजदर निर्धारण, विभिन्न शीर्षकमा कर्जा सीमा, बैंकिङ सुरक्षालगायतका विषय चर्को रुपमा उठ्दै आएका छन् । यी विषयमा एशोसिएसनले नियामक निकायका रुपमा रहेको नेपाल राष्ट्र बैंकसमक्ष विभिन्न सुझावहरु पनि प्रस्तुत गर्दै आएको छ । केही समयअघिमात्र एशोसिएसनको नेतृत्व सम्हालेका दाहाल बैंकिंग क्षेत्रका विविध आयाम र पक्षहरुलाई उपयुक्त विश्लेषण गर्न सक्ने खुबी भएको बैंकरका रुपमा चिनिन्छन् । बैंकिङ क्षेत्रको वर्तमान अवस्था तथा बैंकिङ क्षेत्रको समग्र स्थितिबारे दाहालसँग बिजखबर डटकमका लागि रामराजा श्रेष्ठ र सन्तोष पोख्रेलले गरेको कुराकानीको सारसंक्षेप :

पछिल्लो समय नेपालको समग्र बैंकिङ क्षेत्रको स्थितिलाई यहाँले कसरी नियालिरहनु भएको छ । यसलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

नेपालको बैकिङ क्षेत्र एकदमै फराकिलो र जनताको पहुँचमा पुगेको छ । अहिले देशका ७ सय ५३ तहमध्ये ७ सय ४३ तहमा बैंक पुगेका छन् । बैंकमा खाता हेर्नुभयो भने अहिले ३ करोड खाता रहेका छन् । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने डुब्लिकेसन हटाएर पनि ६१ प्रतिशत जनताको बैंक खाता रहेको छ ।

यसमा सहकारी संस्थाहरुको खाता भने जाडिएको छैन । जसलाई जोड्दा यो अझै धेरै हुनसक्छ । भर्खरका केटाकेटीहरु तथा एकदमै वृद्धवृद्धाहरुको बैंक खाता छैन । यो सबैलाई मिलाएर भन्दा नेपालमा बैकिङ क्षेत्रको पहुँच सबैतिर पुगेको भन्न सकिन्छ । यस्तै नेपालको बैंकिङ क्षेत्रको समग्र सूचकहरु पनि दक्षिण एशियामै राम्रो रहेको अवस्था छ । विभिन्न तथ्याङ्कले पनि यसको पुष्टि हुन्छ ।

यसमा सहकारी संस्थाहरुको खाता भने जाडिएको छैन । जसलाई जोड्दा यो अझै धेरै हुनसक्छ । भर्खरका केटाकेटीहरु तथा एकदमै वृद्धवृद्धाहरुको बैंक खाता छैन । यो सबैलाई मिलाएर भन्दा नेपालमा बैकिङ क्षेत्रको पहुँच सबैतिर पुगेको भन्न सकिन्छ । यस्तै नेपालको बैंकिङ क्षेत्रको समग्र सूचकहरु पनि दक्षिण एशियामै राम्रो रहेको अवस्था छ । विभिन्न तथ्याङ्कले पनि यसको पुष्टि हुन्छ ।

ग्राहकहरुलाई बैंक तथा वित्तीय संघसंस्थाहरुले दिने विभिन्न सेवा सुविधाहरुलाई हेर्दा पनि नेपालको बैंकिङ क्षेत्र उत्तम भन्न मिल्ने खालको छ । यस्तै नेपालको डुईङ विजनेस र्याङ्किङ घटाउनमा पनि नेपालको वित्तीय क्षेत्रले महत्वपूर्ण योगदान पुर्र्याएको छ ।

अहिले बैंकहरु तीव्र प्रतिस्पर्धामा जाने तर आर्थिक गतिविधिहरु खुम्चिने काम भइरहेको छ । यसले बैंकको प्रतिफलमा कस्तो प्रभाव पार्छ ?

बैंकिङ क्षेत्र एकदमै प्रतिस्पर्धी छ । विस २०६९–७० मा बैंकका सेयहरहोल्डरहरुले १०० रुपैयाँ लगानी गरेर २४ रुपैयाँ कमाउँथे । तर, हाल २०७५–७६ मा हेर्ने हो भने त्यस्तो आम्दानी प्रतिकित्ता १७ रुपैयाँभन्दा कम छ । त्यसैले प्रतिस्पर्धाको प्रभाव त देखिएकै छ । यसले पछिल्लो समय बैंकिङ क्षेत्रमा व्याज, कमिसनलगायतका आधारभुत दरहरु पनि एकदमै घटेका छन ।

विभिन्न कारणले बैंकको प्रतिस्पर्धा बढ्दा ग्राहकहरुलाई फाईदा पुगेको छ, जसलाई सोझै प्रतिस्पर्धाको फाईदा भन्न सकिन्छ । तथ्याङ्कमा नाफा घटेपनि ग्राहकलाई भने ठुलो फाईदा पुगेको छ । अब बैंकिङ क्षेत्रले नाफा कमाउनलाई अझै धेरै नयाँ प्रोडक्टहरु दिन जरुरी छ ।

सरकारले गर्ने विकास खर्च निकै कम छ । यस्तो अवस्थामा पनि अहिले बैंकहरुमा तरलता अभाव देखिएको छैन । यसको मतलब बैंकहरुले अहिले लगानी कम गरेका हुन् कि, ठूला परियोजनामा कर्जा माग नआएको हो ?

यो बर्षको पुससम्मको तथ्याङ्क हेर्नुभयो भने कर्जा प्रवाह गत आर्थिक बर्षको सोही अबधिको तुलनामा १–२ अर्ब तलमाथि भएपनि उस्तै–उस्तै छ । यसपालि साह्रै सुस्त भएको छैन, वृद्धि मात्रै घटेको हो, नेगेटिभ ग्रोथमा त गएको होईन नि । हामी तत्काल आत्तिइहाल्नुपर्ने स्थिति छैन । सार्वजनिक खरिद नियमावलीले ठेकेदारहरुको काममा ढिलाई भयो होला । तर, यसका समस्या पनि समाधान भएका छन् ।

यस्तै एउटा कर्मचारीले काम विगार्दा भएजति सबै बैंकिङ फ्रडमा जानसस्क्ने समस्याले पनि यसमा केही प्रभाव पारेको देखिन्छ । यस्तै करनीतिका कारण बढी कर्जा लिनेहरुको कर्जा पनि करेक्सन भएको छ ।

साथै व्यक्तिगत कर्जामा पनि कर तिरेको प्रमाणको आधारमा मात्रै कर्जा लिनसक्ने राष्ट्र बैंकको नियमले पनि केही करेक्सन भएको हो । त्यसैले यसमा नकारात्मक असर परेको भन्न मिल्दैन । विस्तारै मानिसहरुको बानी नपरेकाले करेक्सन भएको हो । त्यसैले सरकारले यस्ता नीतिहरु एकैचोटी नल्याएर विस्तारै थ्रेसहोल्ड राख्दै ल्याएको भने राम्रो हुने थियोे ।

कर्जा लिँदाखेरी कर तिरेको प्रमाणपत्र पेश गर्नुपर्ने नियमले नेपालको बैंकिङ क्षेत्रलाई कस्तो असर पार्ला ?

कर चुक्ताका कारणले केही समस्या त परेकै छ । तपाईँले सहकारीतिर गएर बुझ्नु भयो भने कर्जाको माग बढेको छ । सहकारीहरु पनि सहकारी विभाग अन्तरगत चल्ने भएकाले त्यहाँ पनि सोही नियम लागू गर्नुपर्ने गरी नेपाल राष्ट्र बैंकमा हामीले आग्रह गरेका छौं ।

नियामक निकायले कुनै पनि नियम यस्तै एकैचोटी लागु हुँदा मानिसहरु आत्तिने भए । यसकारण विस्तारै लागु गरिनुपर्छ । गर्न त गर्नैपर्ने हो, तर एकैचोटी लागु हुँदा मानिसहरु आत्तिएका हुन । जसका कारण बैंक तथा वित्तीय क्षेत्रको कर्जा प्रवाहमा सुस्तता आएको छ ।

नेपाल राष्ट्र बैंकले व्याजदर गणनादेखि हरेक कुरामा कडाई गर्दा यसले बैंकको नाफालाई कस्तो प्रभाव पार्छ ? बैंकर र व्यवसायीबीच भएको द्वन्दका कारण व्याजदर परिवर्तन गर्नुपर्ने अवस्था आएको हो ?

खुला बजार अर्थतन्त्रमा कुनै पनि बस्तुको मूल्य बजारको माग र आपूर्तिले निर्धारण गर्ने कुरा हो । र बैंकको ब्याजदर पनि त्यसरी नै निर्धारण हुने हो । मेरो विचारमा यसमा दोहोरो मर्का नै छैन । बैंकले कम व्याजमा निक्षेप संकलन गरेको बेला कर्जाको व्याजदर पनि कम होला र निक्षेपको व्याजदर बढी भएको खण्डमा कर्जाको व्याजदर पनि बढी होला ।

व्यापारी र बैंकरबीच देखिएको असमझदारी दूर्भाग्यपुर्ण हो । हामी दुवै नीजि क्षेत्र हौं, उहाँहरुलाई हामी र हामीलाई वहाँहरु चाहिन्छ । हामीले हाम्रा समस्याहरु भित्रै मिलाउनुपर्छ । पछिल्लो १ बर्षदेखि यस्तो माहोल आएको छैन । हाल शान्त छ । हाल प्रतिस्पर्धाकै कारण आफै व्याजदर घटिरहेको छ, राष्ट्र बैंकले सर्कुलर जारी गरिराख्नुपर्दैन ।

एकचोटी अफ्रिकाको क्रिकेट राष्ट्रिय टोलीमा सबै गोरा खेलाडी मात्रै हुन्थे पछि एउटा टिममा २ जना काला खेलाडी राख्नुपर्ने नियम ल्याईयो । पछि आफै काला खेलाडी परेपछि त्यो नियम नै हटेको थियो । पहिले मात्रै समाबेशी बनाउनुपर्ने भन्ने थियो तर हाल बैंकिङ क्षेत्रमा धेरै प्रतिस्पर्धा छ । प्रतिस्पर्धा र अनियमितता बढी भएकै कारण मर्जरको प्रस्ताव ल्याईएको छ । त्यसैले यस्ता समस्या धेरै छन् ।

तिनिहरुलाई विस्तारै सुधार गर्दै जानुपर्छ । व्याजदर निर्धारण गर्ने .जिम्मा बजारलाई नै छाडिदिनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो कुनै संस्था वा व्यक्तिले तय गर्ने कुरा होइन । त्यसैले व्याजदरको पुरानै नीतिलाई सुधार गर्नुपर्ने जरुरी छैन । यसले गर्दा हाम्रो खर्च बढिरहेको बेला आम्दानी स्वात्तै घट्नेछ ।

नेपालको बैंकिङ क्षेत्रमा फ्रडका घटना दोहोरिरहनुको कारण के होला? हाम्रो आन्तरिक संयन्त्र नै कमजोर हो ?

पछिल्लो समय एटिएममार्फत भएको फ्रडमार्फत १ देखि २ करोड रुपैयाँ चोरी भयो । हाल हामीले ३६ खर्ब रुपैयाँको सम्पत्ति व्यवस्थापन गरिरहेका छौं । एउटा बैंकको न्यूनतम पूँजीे ११ अर्ब भन्दा कम छैन । त्यो डेढ करोड २ करोड लस भनेको बैंकको लागि रुघाखोकी लागेको जस्तो मात्रै हो ।

मान्छे हिँड्दाखेरी कहिलेकाही ठेस लाग्नु जस्तै हो । यो कुनै ठुलो कुरा होईन, हल्लामात्रै बढी भएको हो । त्यसैले सानोतिनो फ्रड हुँदा कोही आत्तिनु र तर्सिनु हुँदैन भन्ने हो । हामीहरु यसलाई कम गर्नेतिर लागिरहेका छौं हाम्रो संयन्त्र कमजोर भएको होइन ।

नेपालको सन्दर्भमा मेगा मर्जर कत्तिको सम्भव छ ?, यसका लागि तपाईँहरुको सुझावहरु के छन ?

जे आवश्यकता छ त्यही हुने हो । हालै पनि ग्लोबल आईएमई र जनता बैंकबीच मेगा मर्जर त भईसक्यो । भोली बैंकहरुलाई हामी एक्लै गएर हुन्न भन्ने लाग्यो भने आफै मर्जर हुने सम्भावना रहन्छ । खासगरी राष्ट्र बैंकले थोरै र धेरै भन्दा पनि गुणस्तरिय काम गर्न भने उत्साह ल्याईदिनुपर्छ ।

राष्ट्र बैंकले बैंकहरुको गुणस्तर, राष्ट्र बैंकका निर्देशनहरु पालना गरे नगरेको लगायत पनि हेर्नुपर्छ । अहिले बैंकहरुको संख्या झट्ट हेर्दा धेरैजस्तो देखिन्छ । तर, आवश्यकता अनुसार विस्तारै घट्दै जान्छ ।

हिजो ३२ ओटा थिए आज विस्तारै घटेर २७ मा झरिसकेको छ । फाईनान्स कम्पनी मात्रै ८० ओटा बाट घटेर २५ ओटामा झरीसके । त्यसैले बैंकहरुलाई मर्जर गर्नपर्छ भनेर आत्तिनुपर्ने अवस्था छैन । र हामीले ग्लोबल आईएमई र जनता बैंकको मर्जर कसरी तत्काल सफल हुन्छ भनेर हेरिरहेका छौं । ती दुई बैंकहरुको मर्जरको सफलताले समेत धेरै बैंकलाई मर्जरमा जान सहयोग पुर्याउनेछ ।

सरकारले फोर्स मर्जरको नीति ल्यायो भने के कस्ता सुविधाहरु आवश्यक पर्लान ?

मर्जरमा जानुहोस भनेर भनिरहनु बेकार हो जस्तो लाग्छ । यो त समयको बर्बादी मात्रै हो जस्तो मलाई लागेको छ । राष्ट्र बैंकले उक्त नियम लागु गर्नुभन्दा पहिल्यै कतिपय टिक्नै नसक्ने बैंकहरु आफै मर्जरमा गईहाल्छन नि ।

आजको भोलि नै किन घटाउनुपर्याे । मर्जर भनेको हडबडाउने चिज होईन । बैंक वित्तीय संस्थाहरुलाई जबरजस्ती मर्जर गराउनै हुन्न । यो विस्तारै हुने प्रक्रिया हो । बैंकहरुलाई विस्तारै पार्टनर खोज्न दिनुपर्छ । आफै परिस्थिति सिर्जना गरेर आफै मर्जर गर्ने वातावरण मिलाईदिनुपर्छ । जसबाट बढीभन्दा बढी सिनर्जी इफेक्ट आउनुपर्छ ।

बैंकहरुले सरकारले ल्याएको सहुलियत कर्जा कृषिमा मात्रै केन्द्रित गरे अन्यमा दिएनन् भन्ने गुनासो छ नि ?

संसरमा ‘खोला जता ओरालो छ त्यतैतिर बग्ने’ हो । राष्ट्र बैंकले कृषि कर्जामा प्रोत्साहन गर्न खोजेको हो । राष्ट्र बैंकको कडाइपछि अहिले करले भएपनि जहाँ सजिलो छ त्यहाँ कर्जा प्रवाह गर्ने हो । बैंकहरुले अन्य क्षेत्रमासमेत कर्जा प्रवाह गर्नेछन । मान्छेले पनि काम कि करले गर्छ कि रहरले गर्छ ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ताकेरै कृषि बाहेक अन्य क्षेत्रमा ५ सय वटा कर्जा दिनुपर्ने भनेको छ । अब राष्ट्र बैंकले भनेजस्तै अपवाद बाहेक सबै बैंकहरुले ५ सय भन्दामाथि कर्जा प्रवाह गर्छन ।
अहिले सरकारले संसदमा पेश गरेको बाफिया अनुसारकै बैंक संचालक र सीईओहरुको

उमेरहदको निर्देशन आयो भने त्यसले यस क्षेत्रलाई कत्तिको असर गर्छ । यसमा तपाइहरुको धारणा के छ ?

हामीहरु नाफा कमाउने नीजि संस्थाहरु हौं । नीजि संस्थाले बुढो कामै गर्न नसक्ने मान्छे राख्यो भने त काम गर्न सक्दैन । त्यसैले सक्षम, सबल र स्वस्थ मान्छे राख्ने सबैको ईच्छा हुने भएकाले यसका लागि कुनै निर्देशन गरिराख्नु पर्दैन जस्तो मलाई लाग्छ । तर, भारतलगायत कतिपय देशमा भने यसको उमेर हद तोकिएको छ ।

त्यही भएर पनि नेपालमा यो नियम आएको होला । तर यसको जिम्मा भने संचालक समिति र सेयरहोल्डरलाई नै दिँदा राम्रो होला जस्तो लाग्छ । तर विदेशतिर पनि यसको कार्यान्वयन राम्रै भएको छ । यसमा मेरो असहमति पनि छैन् ।

सानिमा बैंक अहिले कसरी अघि बढ्दैछ, मर्जर एक्विजिसनमा जान्छ कि, आफ्नै ढङ्गले अघि बढ्छ ?

हामी कहिल्यै पनि एग्रेशिभ छैनौं । हामी शाखा विस्तारको हिसावले अन्तिमबाट तेस्रो स्थानमा छौं । तर हाम्रो विजनेश ग्रोथ राम्रो छ । र हामी मर्जरको पनि विरोधी होईनौं, हामीले यसअघि पनि बाग्मती डेभलपमेन्ट नै एक्वाएर गरिसकेका छौं ।

मर्जर एक्विजिसनमा हामी सकारात्मक नै छौं र आँखा र कान ठाडो गरेर हेरिराखेका छौं । तर हामी हतपतमा भने मर्जरमा जाँदैनौं । अहिले नै यसका लागि कुनै निर्णय भएको पनि छैन । हामी राम्रो पार्टनर आएपछि मर्जरमा जान पनि सक्छौं । हामी हडबड पनि गर्दैनौं र पछि पनि हट्दैनौं ।

मौद्रिक नीतिको मध्यावधिक समीक्षा हुँदै गर्दा नेपाल राष्ट्र बैंकलाई के सुझाव दिन चाहनुहृुन्छ ?

हामीले केही सुझावहरु पठाईसकेका छौं । राष्ट्र बैंक हाम्रो अभिभावक हो । वहाँहरुकै निर्देशनमा हामीले काम गर्ने हो । हामीले के गर्दा अर्थतन्त्र मजबुत हुन्छ त्यस्ता सुझावहरु हामीले दिने हो । हामीले कर्जा प्रबाहको व्यवस्था, यस्तै कर्जाको व्याजदरको बारेमा समेत ध्यान दिन, बैंकिङ सेक्टरमा हुने विभिन्न समस्यालाई ध्यान दिन समेत हामीले सुझाव पठाएका छौं ।

यस्तै हामीले करका विषयहरु विस्तारै लागु गर्ने कुरामा सुझाव दिएका छौं । बैंकहरले जारी गर्ने ऋणपत्रलाई पनि बाध्यात्मक नबनाऔं भनेर अनुरोध गरेका छौं । हाम्रा सुझावहरु बैंकिङ सेक्टरलाई कसरी अगाडि बढाउने भन्ने विषयहरुमै छन् ।

राष्ट्र बैंकले बैंकहरुलाई विदेशबाट ऋण ल्याउन भनिरहेको छ भने ऋणपत्र निष्काशनलाई पनि अनिवार्य गरेको छ । यसले गर्दा झन् भार त थपिँदैन नि ?

बैंकले जारी गर्ने ऋणपत्रले त्यस्तो भार थपिदैन । अहिलेको फिक्स्ड डिपोजिट भएको रकम ऋणपत्रमा जाने हो । राष्ट्र बैंकको उद्देश्य यसमा नकारात्मक छैन्, सकारात्मक नै छ । यसले निक्षेप परिचालनलाई छोटो अवधिका लागि भन्दा पनि लामो अवधिका लागि बनाउन सहयोग पुर्याउछ ।

त्यसको हामी विरोधी होईनौ । तर, बाध्यात्मक मात्रै नबनाऔं भन्ने हाम्रो माग हो । विदेशबाट पनि केही बैंकहरुले कर्जा ल्याईसकेका छन । हाम्रो पनि प्रयास जारी छ । हामी पनि असारसम्म खुशीको खबर दिन सक्छौं ।

प्रतिक्रिया दिनुहोस्