Logo

सरकारले हचुँवाको भरमा नीति नियम बनाउँदा व्यवसायी पलायन हुन थालेका छन्

सरकारले हचुँवाको भरमा नीति नियम बनाउँदा व्यवसायी पलायन हुन थालेका छन्



कम्पनी रजिष्ट्रार कार्यालयले निजी कम्पनीहरुका लागि पनि सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिका जारी गरेको छ । जस अनुरुप कुनै पनि कम्पनीले १० लाख भन्दा बढिको सेयर तथा अन्य आर्थिक कारोबार वा सामान बिक्री गर्दा समेत ग्राहकको तीन पुस्ते अर्थात नो योर कष्टुमर (केवाइसी) फर्म भर्नुपर्ने हुन्छ । साथै एक पटकमा २५ लाख र पटक पटक गरी बार्षिक १ करोड रुपैयाँभन्दा माथिको आर्थिक कारोबार गर्दा उच्च आर्थिक कारोबार वा सम्पत्ति शुद्धिकरणको निगरानीमा राखी व्यवसायीले नै ग्राहकको लगानीको स्रोतको खोजी गर्नुपर्ने हुन्छ । यदि उक्त कार्य नगरेमा त्यस्ता कम्पनीलाई १ करोडसम्मको जरिवाना र कम्पनी समेत खारेज गर्न सकिने व्यवस्था उल्लखेछ । यसलाई उद्योगी व्यवसायीले कसरी लिएका छन् ? यसै विषयमा केन्द्रित रहेर नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार ः


कम्पनी रजिष्ट्रार कार्यालयले लागु गर्ने तयारीमा रहेको सम्पत्ति शुद्धिकरण निर्देशिका अनुसार निजी कम्पनीले पनि १० लाख भन्दा बढीको सामान बिक्री गर्दा ग्राहकको तीन पुस्ते विवरण भर्नुपर्ने व्यवस्था छ । यो नयाँ व्यवस्थालाई कसरी लिनुभएको छ ?

हामीले थाहा पाएको र सुनेको बैक वित्तीय संस्थाले मात्र नो योर कस्टुमर (केवाईसी) भर्नुपर्ने थियो । जुन कुरा ठिकै पनि थियो । पछि बीमा क्षेत्रमा पनि यो विषय उठ्यो । जसका कारण बीमा गर्ने मान्छेहरुले अहिले त्यही विवरण भर्न नमानिरहेको अवस्था छ । निजी कम्पनीले सामान खरिद गर्न आउने ग्राहकको तीन पुस्ते विवरण भनेर बस्ने तथा उनीहरुले सामान खरिद गर्न ल्याएको रकम कुन स्रोतबाट ल्याएको छ भनेर छानविन गरेर बस्नुपर्ने नियम ठिक छैन । यसले उद्योग व्यवसाय झन् धराशयी बनाउँछ ।

उद्योगी व्यवसायीले कस्तो कारोबार गरेका छन्, त्यस विषयमा हामी सरकारलाई सबै दिन सक्छौं । बिलबिजक कसरी जारी गरेका छन्, त्यो सबै कर कार्यालयलाई बुझाएका हुन्छौं । तर, ग्राहकको तीन पुस्ते नै भनेरै बस्नुपर्ने भन्ने उचित भएन । उदाहरणका लागि मेरै भक्तपुर इट्टा तथा टायल कारखाना छ । जहाँ ग्राहकले व्यक्तिगत घर बनाउनकै लागि ४०/५० लाखको इट्टा खरिद गर्छन । अब मैले त्यस्ता ग्राहकको तीन पुस्ते विवरण भनेर बस्ने कि नबस्ने ? जिन्दगीभर दुःख गरेर घर बनाउन लागेको व्यक्तिको पैसाको स्रोत एउटा उद्योगीले कसरी खोज्ने ? सरकारले झण्झटिलो र अव्यवहारिक निर्णयले गर्दा ग्राहकले उद्योगी व्यवसायीमाथी अभद्र व्यवहार नगर्ला भन्न सकिदैन ।

सरकारले कुनै पनि नियम कानुन ल्याउँदा क्षेत्र विशेष हेरेर ल्याउनु पर्छ । उदाहरणका लागि करोडौंको सुनचाँदी तथा हिरामोती किन्ने, सेयर खरिदगर्ने ठाउँमा यो नियम लागू हुन सक्छ । अहिले कम्पनी रजिष्ट्रारले एकपटकमा २५ लाख तथा बार्षिक १ करोडभन्दा माथिको कारोबारलाई उच्च आर्थिक कारोबार तथा शंकास्पद कारोबार भनी व्याख्या गर्न खोजिएको छ । यदि कसैले बार्षिक करोडौंको सुनचाँदी किन्छ भने त्यस्ता क्षेत्रमा सरकारले ध्यान दिनु जरुरी छ । तर, उद्योग व्यवसायमा यस्ता खालका अनावश्यक नियम लागू गरियो भने सरकारले भनेको उद्योगमैत्री वातावरण नभई भएका उद्योग व्यवसाय पनि झन धराशयी हुँदै जानेछन् ।

नियम कानुन बनाउँदा काठमाडौं आसपासलाई मात्र हेरेर ल्याउनु हुँदैन । नेपालको झण्डै ४० प्रतिशत जनता तराईमा छन्, जहाँ खुला बोर्डर छ । अहिले तराईका विभिन्न जिल्ला चेम्बरमा साथीहरुले गुनासो गर्दै आउनु भएको छ । पहिला नेपाली व्यवसायीको करोडौंको सामान खरिदबिक्री हुन्थ्यो तर अहिले एकदमै न्यून छ । नेपालको झण्झटिलो कानून र खुला सिमानाका कारण नेपाली उपभोक्ताहरु भारतमा सामान खरिद गर्न जान थाले । जसबाट नेपालीहरुको व्यवसायी गुम्नुका साथै सरकारले राजस्व समेत गुमाउँदै आएको छ । यदि सरकारले हचुवाकै भरमा यस्ता नियम ल्याउने हो भने उद्योग व्यवसायगर्न झन कठिन बनाउने हो भने हाल भैरहेका उद्योगी व्यवसायी पनि पलायन हुने अवस्था आउनेछ ।

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न खर्बौंको लगानी चाहिन्छ । निजी क्षेत्रलाई लगानीकोआव्हान पनि हुँदै आएको छ । यदि एकपटकमा २५ लाख र बार्षिक १ करोडको कारोबारलाई उच्च आर्थिक कारोबार तथा शंकास्पद रुपमा हेरिने हो भने स्वदेशी तथा विदेशी लगानी ल्याउन कत्तिको सम्भव छ ?

पहिलो कुरा व्यवसायको प्रकृत्ति अनुसारको नीतिनियम बनाउनु पर्छ । सबैलाई एउटै बास्केटमा हालेर हुँदैन । सरकारले छिटोछरितो तरिकाले स्वदेशी तथा विदेशी लगानी ल्याउन एकद्वार प्रणाली लागू गर्ने बताउँदै आएको छ भने उद्योगी व्यवसायीले पनि बर्षौदेखि सोही माग राख्दै आएका छन् । यस्तो अवस्थामा कम्पनी रजिष्ट्रारले सम्पत्ती शुद्धिकरणको कुरा ल्याउनु नै राज्य संचालनको मर्म र भावना विपरित छ । कुनै व्यक्तिको सम्पत्ति शुद्धिकरणलगायत के के अुनसन्धान गर्नुपर्ने हो राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभाग छदैछ नि । ह्वाइट मनि तथा ब्ल्याक मनीको अनुसन्धान तथा छानविन गर्न छुट्टै निकाय गठन गरिएको छ किन सबैतिर चाहियो ?उदाहरणका लागि आज कम्पनी रजिष्ट्रारले सुरु गर्यो भोली वाणिज्य विभागले गर्ला, त्यसपछि स्थानीय सरकारले गर्ला । हाम्रो काम देशमा लगानी भित्र्याएर आर्थिक समृद्धितर्फ जाने कि ग्राहक तथा लगानीकर्ताको सम्पत्ती छानविन गरेर बस्ने ।

स्वदेशी लगानीकर्ताहरु त सरकारले जस्तो नियम ल्याएपनि मान्दै आएका छन् । हाल काम गर्दै आएका उद्योगी व्यवसायीले पनि मान्न सक्छन् । यस्तै नीति नियम ल्याउने हो भने भोलीका दिनमा नेपालमा विदेशी लगानीकर्ता ल्याउन सकिन्छ ? स्वदेशी लगानीकर्ता थपिएलान? चिन्ताको विषय छ । हाम्रो व्यापार घाटा डरलाग्दो तरिकाले बढिरहेको छ । त्यसलाई न्यूनिकरण गर्न स्वदेशमै उत्पादन बढाउनुपर्छ । यसका लागि ठूलो मात्रामा निजी क्षेत्र र प्रत्यक्ष वैदेशिक लगानीको आवश्यकता पर्छ । तर, सरकारले यसरी आफूखुशी ल्याएका अव्यवहारिक नीति नियमले न स्वदेशी उद्योग थपिन्छ, न त विदेशी लगानीकर्ता नै आउँछन् ।

नयाँ नियमले १० लाखभन्दा माथिको कारोबार गर्ने व्यक्तिको तीन पुस्ते विवरण भर्नुपर्ने र त्यसका लागि छुट्टै अख्तियार प्राप्त कर्मचारी समेत राख्नुपर्ने देखिन्छ । नेपाली कम्पनीसँग त्यो क्षमता छ ?

केवाईसी वा तीनपुस्ते विवरण अहिले बैंक वित्तीय संस्था तथा स्थायी लेखा नम्बर (प्यान) नम्बर लिँदा भर्ने गरिएको छ । नेपालको अहिले पनि डुईङ विजनेश कस्ट भारत र चीनको तुलनामा उच्च छ । अब फेरी यस्ता झण्झटिला नियम थप गर्दै जाने हो भने यस्तो लागत अझै बढाउँछ । हामीले उत्पादन लागत घटाएर छिमेकी मुलुकसँग उत्पादनमा प्रतिस्पर्धा गर्नुपर्नेमा झन लागत बढाईरहेका छौं । एउटा निजी कम्पनीले समेत केवाईसी कम्प्लायन्सका लागि छुट्टै डिपार्ट खडा गरी काम गर्नुपर्ने अवस्था आएका यसले थप झण्झटिलो बनाउनका साथै राम्रा राम्रा उद्योग व्यवसाय पलायन हुने अवस्था आउनसक्छ । यसले क्यापिटल फ्लाईटको सम्भावना समेत बढाउनेछ ।

यसले त उद्योगी व्यवसायीको विजनेश कस्ट बढाउनुका साथै ग्राहकको गोपनियता पनि भङ्ग गरिदिने भयो होइन ?

त्यसमा पनि केही समस्या भएन । कुनै ग्राहक सामान किन्न आउला । उनीहरुको तीन पुस्ता बिलबिजकमै लेख्न सकिन्छ । उनीहरुको ठेगाना र फोन नम्बर पनि राख्न पनि कुनै कठिन भएन । तर, उसले त्यो पैसा कहाँबाट ल्याएको भनेर स्रोत खोज्न सक्ने क्षमता उद्योगी व्यवसायीसँग हुँदैन । तसर्थ कार्यान्वयनमा एकदमै कठिनाई र झण्झटिलो हुनेछ ।

अहिले पनि १० लाखभन्दा माथिको कारोबार गर्दा बैंकमार्फत गर्नुपर्छ जहाँ केवाईसीको व्यवस्था छ भने एक हजारभन्दा बढीको भुक्तानीमा प्यान लागू गरिएको छ । यो दुईवटै व्यवस्था हुँदाहुँदै थप अर्को कसरी आयो । यस विषयमा निजी क्षेत्र र सरकारबीच छलफल भएन ?

यस विषयमा कम्पनी रजिष्ट्रारसँग त कुनै छलफल भएकै छैन । नीतिगत छलफलका विषयमा अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, पर्यटन मन्त्रालयलगायतका निकायसँग छलफल हुन्छ भने देशलाई कसरी आर्थिक समृृद्धितर्फ लैजाने भन्ने विषयमा अन्तरक्रिया गरिरहेका पनि हुन्छौं । कतिपय हाम्रो सुझाव समेटिएको छ भने केही सुनुवाई भएको छैन । तर, कम्पनी रजिष्ट्रारले निजी कम्पनीलाई पनि सम्पत्ति शुद्धिकरण निर्देशिका ल्याउने भन्ने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन । अहिले हचुवाको भरमा व्यवसायीलाई घरायशी बनाउने खालका नीतिनियम ल्याउने काम भइरहेको छ । सरकार भनेको हाम्रो अविभावक हो । अविभावकले यसरी जथाभावी नीति नियम ल्याउँदा भविष्यको के असर पर्ने हो त्यसको जिम्मेवारी पनि सरकारले नै लिनुपर्छ ।

हामी अहिले लगानीमैत्री वातावरण बनाउनका लागि एकद्वार नीति ल्याउने भन्दै आएका छौं । अब फेरी कम्पनी रजिष्ट्रारको अर्को तगारो थपिदा यसले के सन्देश दिन्छ ? सरकारलाई नेपालमा स्रोत नखुलेको रकम भित्रिएर उद्योग व्यवसाय चलाईरहेका छन् भने त्यसको अनुसन्धान गर्ने अर्कै निकाय छ । यदि कम्पनी रजिष्ट्रारले सम्पत्ति शुद्धिकरणको विषयमा हेर्ने हो भने राजस्व अनुसन्धान विभाग तथा सम्पति शुद्धिकरण अनुसन्धान विभाग किन चाहियो खारेज गरे भैहाल्यो नि ।

अबका दिनका व्यवसायीले आफ्नो व्यवसाय गर्ने कि विभिन्न सरकारी निकायका लागि आवश्यक पर्ने तथ्याङ्क बनाएर बस्ने ?नेपालमा साना तथा मझौला उद्योगहरुको हिस्सा बढी छ । जहाँ मालिक र कामदार एउटै व्यक्ति भएर समेत उद्योग व्यवसाय संचालन गर्दै आएका छन् । अबका दिनमा उनीहरुले कसरी समयको व्यवस्थापन गर्ने । १० लाखको सिमा राख्दा साना तथा घरेलु उद्योगमा पनि लागू हुन्छ । कम्पनी रजिष्ट्रारले थप नयाँ व्यवस्था गर्दै उद्योगी व्यवसायीलाई दुःख दिने काम सुरु गरेको छ । यदि सरकारले देशमा लगानीमैत्री वातावरण बनाउने हो भने एकद्वार नीति ल्याउनुपर्छ ।

नयाँ नियम यदि पूर्ण रुपमा कार्यान्वयनमा आयो भने व्यवसायीहरु कसरी अघि बढ्लान ?

सरकारले गरेको हेरेक काममा उद्योगी व्यवसायीले सहयोग गर्दै आएका छन् भने आगामी दिनमा पनि गर्नेछन् । हामी बन्द हड्ताल गर्दैनौं । तर, सरकारले पनि व्यवसायीको वास्तविक सल्लाह र सुझाव मान्नुपर्छ । यदि सरकारले जबर्जस्ती लागू गर्यो भने त्यसको परिणाम सरकारले नै भोग्नुपर्छ । त्यो भविष्यले बताउने कुरा हो ।हामीले बर्षौदेखि उद्योग व्यवसाय संचालन गर्दै आएका छौं । उद्योगी व्यवसायीको समस्या हामीलाई थाहा छ ।

तर, सरकारले हामीसँग सल्लाह नै नगरी जथाभावी नीति नियम बनाउँदै कार्यान्वनमा लैजाने हो भने त्यसको जिम्मेवार सरकार नै हुनेछ । सरकारले जबर्जस्ती लाद्न खोज्छ, भने यसको जवाफ आम नेपाली तथा उद्योगी व्यवसायीबाट आउन सक्छ । सरकार त्यसलाई प्रतिकार गर्न सक्नेगरी तयारी अवस्थामा बसे हुन्छ ।अहिले सरकारका सम्बद्ध निकायले आफू बलियो हुन तथा उद्योगी व्यवसायीहरु आफुकहाँ गुलामी गर्न आउने भन्ने मनशायले नियम कानुन बनाउने होडबाजी चलेको छ ।

उद्योगीको दृष्टिकोणबाट तपाईलाई नेपालमा साँच्चै कालो धन भित्रिएको हो जस्तो लाग्छ ?

कालोधन भनेको के हो ?यदि नेपालमा कुनै व्यक्तिले दुई नम्बरि काम गरेर अकुत सम्पत्ति आर्जन गर्छ भने त्यसको अनुसन्धान गरी कानुनी दायरामा ल्याउन नेपाल सरकार सक्षम छ । कुरा रह्यो प्रत्यक्ष वैदेशिक लगानीको । त्यसलाई पनि सम्बन्धित देशको बैंकिङ प्रणालीमार्फत ल्याउने हो भने कसरी कालोधन भित्रन सक्छ ।म यस सम्बन्धमा विज्ञ त होइन । तर, कुनै विदेशी लगानीकर्ताले आफ्नो देशमा कम्पनी खडा गरी स्रोत खुलाएर बैंकिङ् प्रणालीमार्फत ल्यायो भने कसरी कालोधन भित्रन्छ ?अहिले सुनिन आएको छ, कतिपयले अमुक कम्पनीमार्फत एफडीआईको नाममा पैसा ल्याए भन्ने । यदि त्यस्तो हो भने जीटुजी छलफल गरेर पनि एफडीआई ल्याउन सकिन्छ ।

उदाहरणका लागि कुनै विदेशीले ठूलो मात्रामा एफडीआई ल्याउँछ भने नेपाल सरकारले सम्बन्धित देशको सरकारसँग सो सम्बन्धमा पत्राचार गरी पत्ता लगाउन सक्नुपर्यो । तर अहिले सम्पत्ति शुद्धिकरणको नाममा सरकारका विभिन्न निकायले उद्योगी व्यवसायीलाई च्याप्ने खालका नीतिनियम बनाउन थालेका छन् ।

राजस्व चुहावट सम्बन्धी ऐनमा नेपाल चेम्बरले धेरै विरोध तथा आपत्ति जनाउँदै आएको छ । यसमा तपाईहरुको किन यति धेरै विरोध ?

यसमा हाम्रो आपत्ति तथा विरोधभन्दा पनि सुझाव दिएका हौं । यदि कुनै पनि व्यक्तिले नियतवश राजस्व चुहावट गर्छ भने त्यसलाई दण्डित गर्नैपर्छ । यदि कुनै उद्योगी व्यवसायीले काम गर्दै जाँदा भुलवस गल्ती भयो भने त्यसलाई सच्चिने मौका दिने कि समातेर थुनिहाल्ने ?उदाहरणका लागि कुनै एउटा ठूलो कम्पनी छ । उसको कारखाना तराईमा छ भने देशभर शाखा हुन सक्छ । मालिक काठमाडौंमा बस्छ । यदि कुनै शाखाको म्यानेजरले नियतवश मालिकलाई फसाउनका लागि गल्ती गरिदियो भने काठमाडौंमा भएको मालिकलाई समातेर थुनिहाल्ने कि सच्चिने मौका दिने ? हाम्रो प्रश्न यहि हो ।

हामीले गल्तीको प्रकृति अनुसार कारबाही गर्नुपर्छ भनेका छौं । यदि कुनै उद्योगी व्यवसायीले ठगी गर्ने मनशायले बिलबिजक नै जारी नगरी व्यापार गर्छ भने त्यस्ता व्यक्तिलाई थुन्दा हाम्रो कुनै आपत्ति छैन । यदि बिलबिजक जारी गर्दागर्दै पनि भुलवश गल्ती भएमा सच्चिने मौका दिनुपर्छ । तर, उद्योगी व्यवसायीलाई चोर पकेटमार जस्तो व्यवहार गर्नुभएन । सरकारले लिने जरिवानामा कडाई गर्नुपर्छ तर थुनिहाल्नुपर्छ भन्ने नीति ठिक भएन ।

कुनै पनि व्यवसायीले पटक पटक एउटै गल्ती दोहोर्याउछ भने त्यस्तालाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । तर एकै पटकमा लगेर थुन्ने हो भने व्यवसायीमा ठूलो त्रास पैदा हुनुका साथै लगानीको वातावरण विग्रन्छ । हामीले ठूलो मात्रामा एफडीआई ल्याउने भनेर प्रचारप्रसार गर्दै आएका छौं । यदि सरकारले यस्तै खालका नीति नियम बनाउने हो भने कसरी आउँछ विदेशी लगानी । यसले लगानीमैत्री वातावरण विग्रन्छ भनेर अर्थमन्त्रीलाई समेत भेटेर सुझाव दिईसकेका छाँैं । आगामी दिनमा सुनुवाई हुन्छ भन्ने विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्