नेपाल उद्योग परिसङ्घ(सीएनआई)ले यही कात्तिक २५ र २६ गते राजधानीमा पूर्वाधार विकास सम्मेलनको आयोजना गर्दैछ । नेपालमा संरचनागत सुधार तथा पूर्वाधारमा वैदेशिक लगानी भित्राउन सक्ने प्लेटफर्मको रूपमा यो सम्मेलनलाई सीएनआईले प्रचार गर्दै आएको छ । पूर्वाधार निर्माणलाई विकेन्द्रित गर्नुपर्छ र यसलाई समान रूपले देशका सबै ठाउँमा पु¥याउन सक्नुपर्छ भन्ने उद्देश्य सम्मेलनको छ । तर के सम्मेलन गरेकै भरमा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी भित्राउन सकिन्छ त ? यसै सेरोफेरोमा बिजखबर संवाददाता रामराजा श्रेष्ठले सीएनआईका उपाध्यक्ष मनोज केडियासँग कुराकानी गरेका छन् ।
ठूलो तामझामसँग पूर्वाधार सम्मेलनको प्रचार गर्दै हुनुहुन्छ । तयारी कहाँ पु¥याउनुभयो ?
धेरै तयारी र विस्तृत योजना पछि मात्र हामीले यो सम्मेलनको घोषणा गरेका हौं । सम्मेलन व्यवस्थापनका काम पनि अन्तिम चरणमा छन् । अहिले सामान्य किसिमका कामहरू मात्र भइरहेको छ । पहिले नै तयारी भएकोले होला अन्तिम समयमा हतार गर्नुपर्ने अवस्था छैन । मात्र उद्घाटनको समय कुरिरहेका छौं ।
अहिले नै सम्मेलन गर्नुपर्ने आवश्यकता चाहीं के थियो र ?
नेपाल आन्तरिक द्वन्द्वग्रस्त अवस्थाबाट बाहिर आएको धेरै भएको छैन । त्यस समय हामीले पूर्वाधार निर्माणका कामको अनुभव गर्न सकेनौं । द्वन्द्वले अस्तित्वमा रहेका संरचना पनि ध्वस्त हुन पुगे । यसको परिणाम स्वरूप सहरी क्षेत्रमा जनसङ्ख्को चाप बढ्दै गयो । जनसङ्ख्या बढ्ने तर त्यसै अनुरूप पूर्वाधार निर्माण गर्न नसक्दा सहर थेग्न नसक्ने अवस्थामा पुगिरहेको छ । त्यसैले हामीले कृषि, बिजुली, सडक, पर्यटन र सहरी क्षेत्रका लागि आवश्ययक पूर्वाधार संरचना निर्माणमा बल पु¥याउन यो सम्मेलनको आयोजना गरेका हौं ।
अहिले विश्वव्यापी रुपमै पूर्वाधार व्यापारको रुपमा अघि आएको छ । तर यो नेपालमा भने सामान्य ढङ्गले मात्र अघि बढेको छ । हाम्रो सडकहरू जीर्ण अवस्थामा छन् । भएको एउटा अन्तरराष्ट्रिय विमानस्थलमा समेत आश्यक सुविधाहरू छैनन् । यहाँ रोपवे तथा रेलमार्गको सम्भावना छ । पूर्वाधार अभावले गर्दा नै पर्यटनले दीर्घकालीन आर्थिक लाभ दिन सकिरहेको छैन ।सम्मलेनले यस्ता विषयको उठान गर्नेछ ।
पूर्वाधारमा लगानी हेर्ने हो भने अन्य क्षेत्रका तुलनामा कम नै देखिन्छ । सम्मेलनमा त्यस्ता केहि लगानी सम्झौता हुँदै छन् की ?
पूर्वाधार विकासका लागि विदेशी लगानी आवश्यक छ । यो हामी सबैले बुझेकै कुरा हो । त्यसैले लगानीका सन्दर्भमा सम्मेलनमा पक्कै छलफल हुनेछ ।स्वदेशी तथा विदेशी लगानीकर्ता तथा विशेषज्ञको पनि यसमा सहभागिता हुनेछ । सम्झौता भन्दा पनि लगानी भित्राउन सक्ने सम्भावनाका विषयमा सम्मेलन बढी केन्द्रित हुनेछ ।
सम्मेलनले पूर्वाधार विकासमा विदेशी लगानी भित्र्याउँछ जस्तो लाग्छ तपाईलाईं ?
निश्चित रुपमा भित्रिनेछ । सम्मेलनले विदेशी लगानी भित्र्याउने मात्र नभइ नेपाललाई आवश्यक पूर्वाधारको विकासको लिपिबद्ध गर्ने, महत्वको विषय छनोट गर्ने, परिमार्जन गर्नुपर्ने ऐन कानुनको छलफल हुनेछ । पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकतामा राख्नुपर्छ । विदेशी लगानी भित्र्याउन सबै भन्दा ठूलो भुमिका यहिंका उद्योगी व्यवसायीको नै हुन्छ । यस हिसाबले सम्मेलन स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताका ‘कमन प्लेटफर्म’ बन्न सक्छ । यसको आधारमा पनि के भन्न सकिन्छ भन्ने लगानी भित्राउन सम्मेलन उपयोगी साबित हुनेछ ।
नेपालीले विदेशमा लगानी गर्न पाउनुपर्छ भनेर सीएनआईले नै मुद्धा उठाउँदै आएको छ । अनि सम्मेलन गरेर विदेशी लगानी भित्राउन सकिन्छ भनेर तपाईहरू नै भनिरहनु भएको छ । यस्तो द्विविधाका बीच लगानी बढाउन सकिन्छ र ?
विदेशमा लगानी गर्न दिँदैमा नेपालमा विकास हुँदैन भन्ने सत्य होइन । विदेशमा लगानी गर्ने नेपालीकै माध्यमबाट विदेशी लगानीकर्ताले यहाँको बारेमा बुझ्न सक्छन् । विदेशी लगानी भित्राउन त यो झन् सहयोगी पो हुन्छ । त्यसैले यहाँको लगानीको अवस्थाका बारेमा ती व्यवसायी जानकारीका माध्यम हुन्छन् । विदेशी लगानीलाई रोक्नु भनेको संकुचित सोच हो ।विदेशमा लगानी गर्न अहिले रोक लगाइको छ। के यो व्यवस्थाले हामीले विकास गर्न सक्यौं त ?के अहिले नेपालबाट लगानी बाहिरएको छैन ? यी सोच्नुपर्ने कुरा हुन् । लगानी जहाँ गरेपनि त्यसको ‘रिटर्न’नेपालमै आउने हो ।देशलाई आर्थिक उन्नतितर्फ गएको देख्न नसक्ने व्यक्तिले विदेशमा लगानी गर्नलाई रोकिरहेका छन् । व्यवसायीलाई जहाँ फाइदा हुन्छ त्यही लगानी गर्ने खुला वातावरण बनाइनु पर्छ । विश्वलाई एउटा भिलेजको रुपमा लिइनु पर्छ । आर्थिक नाकाबन्दी लगाएर देशले विकासको गति लिन सक्दैन ।
सीएनआई उद्योगीहरूको सङ्गठन हो । यसमा पूर्वाधारको विषय कहाँबाट आयो ?
बजारमा जुन बस्तुको आवश्यकता छ सोही अनुरुप उत्पादन गर्नुपर्छ । केही अघिसम्म बजारमा ल्याण्डलाईन फोनसेट बेच्ने पसल धेरै थिए तर अहिले माबाइल बेच्ने पसल खुलेका छन् । अहिले देशलाई आर्थिक रुपमा अघि बढाउन जे विषयको आवश्यकता छ त्यसमा केन्द्रित भयौं भने मात्र प्रतिफल पनि पाईन्छ ।सडक, भौतिक संरचना, जलविद्युत्जस्ता पूर्वाधारको विकास नभइ आर्थिक विकास सम्भव छैन । त्यसपछि मात्र औद्योगिक विकास सहज हुन सक्छ । हामीले यहिं मान्यता राखेर पूर्वाधार तर्फ जोड दिएका हौं ।
पूर्वाधार विकासको मुद्धा नयाँ होईन । तर पनि हामीले बनाएको योजनामा अहिलेसम्म पुग्न नसक्नुको कारण के हो जस्तो लाग्छ ?
हामीबीच विश्वासको कमी छ । एकले अर्कालाई विश्वास गर्न कोही पनि तयार देखिदैंनन् । नेपालीले नेपालीलाई नै विश्वास गरिरहेका छैनौं । हामी जेमा पनि विदेशीको मुख ताकिरहेका छौं । समस्या यहिंनिर छ । एक अर्कालाई विश्वास गर्न सक्नुपर्छ । अहिले विकास नहुनुमा व्यवसायीले राजनीतिज्ञलाई, राजनीतिज्ञले कर्मचारी, कर्मचारीले जनता र जनताले अशिक्षालाई दोष लगाउने काम भइरहेको छ ।यी सवै हाम्रै समस्या हुन् । यस्ता समस्याको समाधान गर्न सवैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्छ । आफ्नो क्षेत्रको काम, कर्तव्य पुरा गर्नुपर्छ ।्
मुख्य समस्या प्रतिबद्धताको पनि हो । हाम्रो काम गर्ने प्रक्रिया पनि झण्झटिलो छ । सरकारले ढिलो गरेर टेण्डर आव्हान गर्छ । ठेकेदारका पनि आफ्नै समस्या होलान् । नेपालमा संविधान व्युताउने काम त रातको १२ बजे हुँन्छ अरुको त कुरै छोडौ । एकले अर्कालाई दोष लगाउन छाडेर आफ्नो काम गर्ने तर्फ केन्द्रीत हुनु जरुरी छ । त्यसपछि स्वतः पूर्वाधार विकासको चरणमा हामी पुग्न सक्छौं ।
पूर्वाधारका विकासका काम गर्ने ठेकेदारले नै हो । तर, उनीहरूले पनिअन्तिम समयमा मात्र काम सुरू गर्न थाल्छन् । यो प्रवृत्तिलाई रोक्न सकिदैंन ?
हाम्रो टेण्डर तथा सामान खरिद प्रक्रिया ज्यादै पुराना छन् । मुल्याङ्कनको तरिका पनि त्यस्तै झण्झटिलो छ । यी सवै प्रक्रियालाई समयसापेक्ष बनाइनु पर्छ । अहिले एकले अर्कालाई दोष लगाउने काम भइरहेको छ । यदि आगामी दिनमा नीति नियमलाई समय सापेक्ष बनाएर अर्कालाई दोष लगाउने परिपार्टीको अन्त्य गर्ने हो भने तोकिएको समयमै काम गर्न सकिनेछ ।
सरकारले पूर्वाधार विकासमा निजीक्षेत्रको क्षमताको विषयमा औल्याउँदै आएको छ । के लगानीको लागि निजी क्षेत्र असक्षम नै हो ?
क्षमता काम गरेर हुने हो कुरा गरेर बन्दैन । यदि कुनै व्यवसायीको क्षमता छैन भने उसले उचित पार्टनर ल्याउँछ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो । काम गर्ने वातावरण बनाइदिने हो । बाधा व्यवधानलाई समाधानको निकास दिने हो । सरकारले आपैm लगानी गर्ने होइन । धेरै देशमा निजी क्षेत्रले नै पूर्वाधारको विकास गरिरहेका उदाहरण प्रशस्त छन् । सरकारले वातावरण बनाइदियोस् हामीसँग लगानीका प्रशस्त आधार छन् । अहिले स्थानीस्तरमा जनताहरु जथाभावी माग राखेर बाधा खडा गरिरहेका छन् । अरुलाई अप्ठ्यारो पारेर लाभ लिने तर्फ उन्मुख छन् । दिर्घकालमा यसले उनीहरुलाई नै असर पु¥याउँछ । लगानीको लागि निजी क्षेत्रको क्षमतालाई दोष लगाउनुभन्दा पनि हाम्रो विचारमा परिवर्तन ल्याउनु जरुरी छ ।