Logo

नेपालको लिडिङ बैंकका रुपमा अब राष्ट्रिय बाणिज्य बैंक अघि बढ्छ

नेपालको लिडिङ बैंकका रुपमा अब राष्ट्रिय बाणिज्य बैंक अघि बढ्छ



कुनै बेला समस्यामा परेको राष्ट्रिय बाणिज्य बैंक अहिले बाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । नयाँ व्यवस्थापन र आफुलाई समयसापेक्ष परिमार्जन गर्दै अहिले सो बैंक निक्षेप संकलन, कर्जा प्रबाह तथा सोही अनुरुप नाफा आर्जन गर्नमा पनि अब्बल देखिएको छ । बैंकले आफुलाई प्रतिस्पर्धी बजारमा अग्र स्थानमा राख्नका लागि ‘क्लिन आरबीबी, स्मार्ट आरबीबी’ भन्ने नारा नै लिएर अघि बढेको छ भने सोही अनुरुप युवा र प्रविधिमैत्री कर्मचारी भर्तीलाई प्राथमिकता दिएको छ । गत बर्ष धेरै बाणिज्य बैंकहरु तरलता समस्याबाट गुज्रिदा रावा बैंकलाई भने त्यसको प्रभाव परेन । बैंकको आगामी कार्यदिशा, सेवाको गुणस्तरजस्ता विषयमा केन्द्रित रहेर बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

कुनै समय समस्याबाट गुज्रिएको राष्ट्रिय बाणिज्य बैंक नेपालका सबै बाणिज्य बैंकभन्दा बढी नाफा कमाउन सफल भएको छ । यस्तो उपलब्धी कसरी सम्भव भयो ?

यो बर्ष जुन् नतिजा आएको छ, त्यसले हामीलाई धेरै उत्साहित बनाएको छ । अनअडिटेड ब्यालेन्स सिट अनुसार बाणिज्य बैंकमध्ये सबैभन्दा बढी ४ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छौं । पछिल्लो समय हामीले क्रमिक रुपमा कर्जा विस्तार गर्दै आएका छौं । गत आर्थिक बर्षको सुरुमै बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ कर्जा तथा लगानी गरेको थियो भने अन्त्यसम्ममा बढाएर १ खर्ब २१ अर्ब पुर्यायौं । यसले स्वभाभिक रुपमा ब्याज आम्दानी बढायो ।

यसैगरी हाम्रो लिक्विड फण्डलाई पनि ट्रेजरी बिल, अन्तर बैंक तथा अन्य क्षेत्रमा लगानी गरेर पनि राम्रो प्रतिफल प्राप्त भयो । अर्को कुरा हामीले लामो समयदेखि अड्किएर बसेका खराब कर्जा उठौतीलाई पनि प्राथमिकता दिएका छौं । गत आवमा पनि धेरै खराबकर्जा असुली गरेका छौं । यसको प्रभावले पनि बैंकको नाफामा उच्च वृद्धि हुन पुग्यो ।

खराब कर्जा उठौतीमा सुधार भएको तपाइले भने पनि वित्तीय विवरण अनुसार त खराब कर्जा अझै बढेको छ नि ?

यस पटकको वित्तीय विवरण प्रकाशित गरिरहँदा अलिकति नमज्जा लागेको खराब कर्जा वृद्धि नै हो । बैंकको सबै इण्डिकेटर राम्रो भइरहँदा खराब कर्जाको इन्डिकेटर भने सामान्य बढ्न पुगेको छ । तर, गतबर्ष हामीले एनआईडीसीलाई मर्जर गरेर ल्यायौं । एनआईडीसीलाई ल्याइरहँदा सो बैंकको खराबकर्जा ६ प्रतिशतभन्दा बढी थियो, त्यसको दायित्व थपिँदा राष्ट्रिय बाणिज्य बैंकको खराब कर्जा बढ्न पुगेको हो । तर, बाणिज्य बैंक आफैले प्रवाह गरेको कर्जा बिग्रीएर खराब कर्जाको अनुपात बढ्न पुगेको होइन ।

अघिल्ला वित्तीय विवरणहरुमा राष्ट्रिय बाणिज्य बैंकको कर्जा प्रवाह कमजोर रसीडी रेसियो पनि एकदमै तल देखिन्थ्यो । तर, यसपटक बैंक अलि एग्रेसिभ देखियो । के अब तपाईहरु पनि कर्जा विस्तार गरेर नाफा आर्जन गर्नतर्फ केन्द्रित हुनुभएको हो ?

त्यस्तो होइन । हामीले योजना अनुरुप नै कर्जा विस्तार गरेका छौं । हामीले आर्थिक बर्ष २०७४/७५ को सुरुमै सीडी रेसियो ७५ प्रतिशत पुर्याएर कर्जा विस्तार १ खर्ब २२ अर्ब पुर्याउने लक्ष्य लिएका थियौं । तर, अझै पनि लक्ष्य अनुरुप कर्जा विस्तार हुन सकेन । हामीले अघिल्लो आवमा २२ अर्ब कर्जा विस्तार गरेका थियौं । त्यसरी कर्जा विस्तार गर्दा बढी नै एग्रेसिभ भइयो कि भनेर गत आवमा थप १६ अर्ब रुपैयाँ मात्र लगानी गरेका छौं । यदि हामीले कर्जा विस्तारलाई एग्रेसिभ रुपमा लगेको भए बैंकको नाफा अझै बढी आउँथ्यो । हामीले त आर्थिक बर्षको सुरुमा तय गरेको लक्ष्यभन्दा पनि कम कर्जा विस्तार गरेका छौं ।

गत आवमा धेरैजसो बैंक वित्तीय संस्थामा ‘लेण्डिङ क्रञ्च’को अवस्था सिर्जना भयो भने कतिपयले ऋण प्रवाह गर्न नै बन्द गरे । राष्ट्रिय बाणिज्य बैंकलाई चाहिँ कस्तो प्रभाव पर्यो ?

हाम्रो बैंकको प्रकृति अलि फरक खालको छ । सरकारी बैंक भएका कारण यस बैंकमा आउने निक्षेप पनि अन्य बाणिज्य बैंकको भन्दा फरक छ । हाम्रो निक्षेपको मुख्य मेरुदण्ड भनेको साना निक्षेपकर्ता नै हुन् भने साधारण बचत खातामा भएको निक्षेपको हिस्सा बढी छ । निक्षेपको अनुपात गणना गर्ने हो भने कुल निक्षेपको ६० प्रतिशत हिस्सा साधारण बचतले ओगटेको छ । त्यसमा पनि ९० प्रतिशत निक्षेप साना खालका छन र जुन देशभर छरिएर रहेका छन् । तसर्थ बजारमा आउने सानातिना असरले प्रभाव पार्न सक्दैन ।

हामीले आर्थिक बर्षको सुरुमा नै कति कर्जा प्रवाह गर्ने भनेर एउटा लक्ष्य तय गरेका थियौं । बजारमा कर्जाको उच्च माग भएपनि त्यसलाई व्यवस्थापन गर्दै सीमा भित्र रहन कोशिस गर्यौं । कुनै बेला अनावश्यक रुपमा धेरै कर्जा प्रवाह गर्ने र कुनै समय रोक्ने काम गरेनौं । हामीले गतबर्ष पैसा नभएका कारण कुनै पनि सेवाग्राहीलाई फर्काएनौं । होला, कतिपय हाम्रो मापदण्ड भित्र परेनन वा बैंकको ब्याजदर सेवाग्राहीको माग भन्दा फरक भएका कारण फर्किए । तर, मापदण्ड अनुसार आएका सेवाग्राहीलाई पैसा छैन भनेर रित्तोहात फर्काएनौं ।

बाणिज्य बैंकहरुले प्रकाशित गरेको प्रतिवेदन अनुसार बेसरेट पनि तपाईहरुकै कम देखिन्छ । तर, नाफा भने चाहिँ ह्वात्तै बढ्न गयो नि ?

गत बर्ष ५ प्रतिशतको स्प्रेड थियो अहिले ४ दशमलव ५ प्रतिशत छ । सोही मापदण्डमा बसेर हामीले लगानी गरेका छौं । तर, हामीले बर्षको सुरुवातदेखि नै ठूलो पोर्टफोलियो लिएर अघि बढेका थियौं । हामीले निक्षेप तथा कर्जाको ब्याजदरमा त्यस्तो ठूलो कुनै परिवर्तन गरेनौं ।

राष्ट्रिय बाणिज्य बैंकले आफूलाई देशको सबैजसो जिल्लामा पुर्याइसकेको छ भने पुरानो बैंक पनि हो । तर, राष्ट्र बैंकले तथ्याङ्क प्रकाशित गरिरहँदा अझै पनि ६० प्रतिशत जनसंख्या बैंकिङ् प्रणालीमा आउन सकेका छैनन् । किन तपाईहरुले सबै जनतालाई बैंकिङ प्रणालीमा ल्याउन सक्नुभएन ? यसरी सिमित समुहलाई मात्र लक्षित गर्दा नेपालको बैंकिङ् क्षेत्र फस्टाउन सक्ला ?

अहिलेपनि ४० प्रतिशत जनतामात्र बैंकिङ् प्रणालीमा आएका छैनन् भन्ने तथ्याङ्क आएको छ । यसको मतलब ठूलो हिस्सामा नेपाली जनताहरु बैंकिङ् प्रणालीमा आउन सकेका छैनन् । तर, धेरै नेपालीहरु बैंकिङ् प्रणालीमा आउन नसक्नुमा २/३ वटा कारण छन् ।

गाउँगाउँमा बैंकका शाखा पुगेका छन् तर शाखासम्म आईपुग्ने मान्छे भएनन् । वित्तीय पहुँचलाई पनि दुई तरिकाबाट हेर्नुपर्छ । शाखा नपुगेर बैंकिङ् सेवाबाट वञ्चित हुनु छुट्टै कुरा हो तर, शाखा पुगेर पनि बैंकिङ् प्रणालीमा नआउनु दूर्भाग्य हो । देशका ७ सय ५३ स्थानीय तहमध्ये करिब ६ सय स्थानमा पुग्यौं । तर, त्यहाँ भएका कति प्रतिशत जनसंख्या बैंकिङ प्रणालीमा आबद्ध भए भन्ने विषय महत्वपूर्ण हो ।

यसो हुनुमा वित्तीय साक्षरताको अभाव हो । अहिले बैंक वित्तीय संस्था वा गैर सरकारी संस्थाले वित्तीय कार्यक्रम गरिरहेका छन् तर त्यो प्रभावकारी हुन सकेन । जहाँ वित्तीय साक्षरता चाहिँदैन त्यस स्थानमा फोकस गरिरहेका छन् । अहिले काठमाडौं र कलेज केन्द्रित वित्तीय साक्षरताका कार्यक्रम भइरहेको छ जुन आवश्यक छैन । जुन् ठाउँको जनतालाई बैंक भनेको के हो, बैंक किन चाहिन्छ, बैंकिङ प्रणालीमा आबद्ध हुँदा के फाइदा हुन्छ भन्ने थाहा छैन त्यस्ता ठाउँमा चाहि वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम पुग्न सकेको छैन ।

अहिले बैंक वित्तीय संस्थाहरु सबै जनतामा वित्तीय पहुँच पुर्याउनभन्दा पनि सिमित ग्राहक केन्द्रित भएर व्यवसाय गर्न थाले । जहाँ ठूलो उद्योग कलकारखाना खुलेका छन् । जहाँ बढी व्यवसाय छ, त्यहि केन्द्रित हुन्छौं । कर्जा पनि जसको व्यापारमा पहुँच छ, जसको व्यापार गर्न सक्ने क्षमता छ उनीहरुलाई मात्र प्रवाह गर्छौं । वित्तीय साक्षरतामा हामी एकमदै पछाडि छौं । जसले गर्दा शाखा विस्तार गर्दैमा सबै जनता बैंकिङ प्रणाली भित्र आउन सक्दैनन ।

अहिले ६० प्रतिशत जनता बैंकिङ् प्रणालीभन्दा बाहिर भइरहेको अवस्थामा त्यस्ता जनसंख्यालाई समेट्न नीतिगत परिवर्तन पनि गर्न जरुरी छ । अहिले सरकारले सबै स्थानीय तहमा क बर्गकै बाणिज्य बैंक पुग्नुपर्ने भनेको छ । त्योभन्दा नेपाल राष्ट्र बैंकबाट लाईसेन्स प्राप्त क, ख र ग बर्गका बैंक वित्तीय संस्थालाई सो सम्बन्धी काम गर्न दियो भने केही रुपमा दायरा फराकिलो हुन सक्छ ।

अहिले कतिपय बैंकहरुले गाउँमा जाँदा त्यहाँ कर्जाको माग मात्र बढी भयो तर निक्षेप संकलन गर्न सकिएन भन्ने गुनासो गर्दै आएका छन् । अहिले राष्ट्रिय बाणिज्य बैंक सबैजसो जिल्लामा पुगिसकेको छ । तपाईहरुको कार्यअनुभवको आधारमा गाउँ गाउँमा निक्षेप संकलन र कर्जा प्रवाहको रेसियो कस्तो छ ?

कुनै एउटा पार्टिकुलर शाखालाई हेरेर हुँदैन । अहिले बाणिज्य बैंकको २ सय ६ वटा शाखा छ । त्यसमध्ये केही शाखामा बढी कर्जा माग भएर निक्षेप कम संकलन भएको हुन सक्छ । तर, ग्रामीण र सहर केन्द्रित शाखाबीच तुलना गर्ने हो भने नतिजा उल्टो आउँछ । हाम्रो अनुभवका आधारमा अहिले गाउँगाउँको निक्षेप संकलन गरेर सहर केन्द्रित व्यवसायमा लगानी गर्दै आएका छौं ।

अहिले बाणिज्य बैंकहरुको नाफाको रेसियो र औद्योगिक क्षेत्र बृद्धिको रेसियाबीच तुलना गर्दा यहि रुपमा बैंक वित्तीय संस्थाले उच्च ब्याजदर लिँदै कर्जा प्रवाह गर्ने हो भने देशमा औद्योगिक विकास हुन सक्छ ?

पक्कै पनि कर्जाको ब्याजदर बढ्दा औद्योगिक विकासलाई नकारात्मक असर पार्छ भने निक्षेपको ब्याज बढ्दा पनि मान्छेलाई निस्क्रिय बनाउन सक्छ । बैंक वित्तीय संस्थाले निक्षेपमा १३/१४ प्रतिशत ब्याज दियो भने त्यही अनुपातमा नाफा कमाउन किन रिक्स लिएर लगानी गर्ने ? तसर्थ यी दुबै क्षेत्रको ब्याज बृद्धि देशको आर्थिक बृद्धिको लागि हानिकारक छ ।

बैंकहरुले ब्याजदरमा आफुखुशी चल्न पाउँदैनन् किनकि त्यहाँ राष्ट्र बैंकको स्प्रेड रेटको एउटा कसी लगाईदिएको छ । अबका दिनमा साढे ४ प्रतिशतभन्दा बढी स्प्रेडमा ब्याज लिन पाउँदैनन् । यसमा सबै कुरा पारदर्शी छन् । कुनै पनि बैंकले सेवाग्राहीलाई स्प्रेडभन्दा माथी गएर जथाभावी ब्याज लगाउन सक्दैन । तर, अहिले बैंक वित्तीय संस्थाले जुन रुपमा नाफा कमाएका छन् त्यसको लगानीको आकार पनि ठूलो छ । राष्ट्रिय बाणिज्य बैंकले १ खर्ब २१ अर्ब रुपैयाँ लगानी गरेर ४ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ ।

अरु बैंकले चाहिँ नाफा कमाएर ३० प्रतिशत भएपनि सर्वसाधारण लगानीकर्तालाई लाभांशको रुपमा बाड्छ । तर, रावा बैंकले त जनताको पैसा लगानी गरेर नाफा जति आफैले राख्छ है ?

यसमा मेरो विमत्ती छ । अन्य बैंकले कुल नाफाको ३० प्रतिशत मात्र सर्वसाधारण सेयर लगानीकर्तालाई बाड्छ भने ७० प्रतिशत आफुले राख्छन् । त्यसमा सिमित व्यक्तिमात्र लाभग्राही हुन्छन् । तर, रावा बैंकले गरेको नाफा शतप्रतिशत जनतामा जान्छ । हामीले कमाएको पैसा लाभांश र करको रुपमा सरकारको कोषमा जम्मा गर्छौं । अन्ततः सरकारले त्यो रकम जनताकै लागि लगानी गर्ने हो । त्यसरी आम्दानी गरेको रकम न बैंकको सीईओले चलाउन पाउँछ न संचालक समितिले ।

कुनै समय नाजुक अवस्थामा पुगेको बैंक बर्षको नाफा हेर्दा उत्कृष्ट बैंकको रुपमा दर्ज भएको छ । आगामी दिनमा यसलाई निरन्तरता दिँदै सेवा विस्तारका लागि केकस्ता योजना ल्याउनु भएको छ ?

नाफा एक बर्षमात्र ह्वात्तै बढाएर हुँदैन । नाफालाई दिगो बनाउन सक्नुपर्छ । यो नै हाम्रो मुख्य चुनौती हो । हामीले चालू आवको बजेटबाटै ‘क्लिन आरबीबी, स्मार्ट आरबीबी’ भन्ने नारा लिएर अघि बढेका छौं । क्लिन आरबीबी अन्तरगत भौतिक रुपमै बैंकको स्वरुप परिवर्तन गर्दैछौं । यसमा भित्री संरचनादेखि अन्य भौतिक संरचनामा सुधार गरिनेछ । यसैगरी द्वन्द्वकालमा सारिएका कतिपय शाखाहरु पनि मिलान गर्नुपर्ने छ ।

अर्को रह्यो, स्मार्ट आरबीबी । म यो बैंकको सीईओ भएर आएसँगै १ हजार २ सय ६० जना नयाँ कर्मचारी भर्ना गरिसकेको छु । ती कर्मचारी भनेको एकदमै योङ, इनर्जेटिक र डाइनामिक छन् । किनकी हामीले लोकसेवामार्फत ५० औं हजार परीक्षार्थीबीच परीक्षा लिएर छनौट गरेका हौं, आन्तरिक रुपमा भर्ना गरेका होइनौं । उनीहरु सोही अनुरुप प्रविधिमैत्री पनि छन् भने अब त्यस्तै खालको ६ सय जनशक्ति भर्ती गर्दैछौं । यसअघि बैंकमा कार्यरत २ हजार ३ सय कर्मचारीमा पनि ४ सयभन्दा बढी १० बर्षभन्दा बढी काम गरेका छैनन् । अबको १ बर्षमा बैंकमा एकदमै युवा जमातको मात्र टीम हुनेछ । यस अघि बैंकलाई बुढा कर्मचारी भएको संस्था भनेर चिन्थे भने अब युवाहरुको बैंक भनेर चिनिनेछ । यसअघि कर्मचारीको एभरेज उमेर निकाल्दा ४७/४८ बर्ष आउथ्यो भने अब २७/२८ बर्ष निस्किन्छ ।

यो समयमा पनि बैंकलाई स्मार्ट बनाउन सकिएन भने कहिले बनाउने ? सोही अनुरुप हामीले क्लिन आरबीबी, स्मार्ट आरबीबीको नारा लिएका हौं । यसका लागि विज्ञ टोली सम्मिलित टिम बनाएका छौं । अबका दिनमा राष्ट्रिय बाणिज्य बैंक ‘लिडिङ कमर्सियल बैंक’को रुपमा अघि बढ्नेछ ।

अनि रावा बैंकले जनतालाई सेयर जारी गर्ने कुरा कहाँ पुग्यो ?

हिजोको स्थिति जे हो अहिले पनि त्यहीं अवस्थामा छ । निर्णय भएको छ तर कार्यान्वयन भएको छैन । पछिल्लो समय ऐन नै संसोधन गरेर सरकारले एउटा सरकारी बैंक राख्न सक्ने व्यवस्था गरेको छ । अहिलेको सरकारको प्रकृति, दर्शन तथा ऐन संसोधनका कारणले गर्दा अहिले नै सर्वसाधारणमा जारी हुन कठिन छ ।

तपाईहरुले एनआईडीसीलाई मर्जर गरेर ल्याएसँगै त्यसको मातहतमा भएका ठूलो सम्पती (जग्गा) रावा बैंक मातहत आएको छ । त्यसलाई अबका दिनमा कसरी प्रयोगमा ल्याउँदै हुनुहुन्छ ?

एनआईडीसीसँग मर्ज गर्दा त्यसको ‘सिनर्जी इफेक्ट’ धेरै ठूलो छ । एनआईडीसीलाई मर्जर गरेर ल्याइरहँदा चुक्ता पूँजीका साथै निक्षेप र कर्जा प्रवाहमा पनि बृद्धि भएको छ । त्यसकै कारण बैंकको खराब कर्जाको अनुपात पनि बढ्न पुग्यो । तर, त्यसको सबैभन्दा ठूलो फाइदा भनेको कम्पनीको नाममा भएको सम्पती (जग्गा) नै हो । जुन नेपालकै एकदमै प्राईम लोकेशनमा छन् । कामठमाडौंको दरबारमार्ग मै एनआईडीसीको नाममा ३० रोपनी जग्गा छ । पोखरा, विराटनगर, नेपालगञ्जलगायत सबै क्षेत्रमा एकदमै महंगो ठाउँमा मात्र जग्गा छ । हामीले भर्खरै मात्र मर्जर गरेर ल्याएका कारण जग्गाको लालपुर्जा आफ्नो नाममा ल्याउनेदेखि ती जग्गाहरुको नापजाँच गरेर पर्खाल लगाउने काम भइरहेको छ । अहिले कानुनी रुपमा रावा बैंकको नाममा ल्याएर संरक्षण गर्ने काम भइरहेको छ । तर, ती जग्गालाई कसरी उपयोगमा ल्याउने भन्ने विषयमा कुनै छलफल अघि बढेको छैन ।

गत बर्ष नेपालको बैंकिङ क्षेत्रमा तरलताको एकदमै समस्या आयो । बैंकर्स संघमा त आफुसँग आबद्ध संस्थालाई कारबाही गर्ने सम्मको अवस्था सिर्जना भयो । यसले नेपालको बैंक वित्तीय संस्थालाई कता धकेलिरहेको छ ? अनि तरलता व्यवस्थापन गर्न सक्नु व्यवस्थापकको कमजोरी होइन ?

बैंकर्स संघमा आफ्ना सदस्यहरुलाई कारबाही गर्नुपर्ने सम्मको अवस्था आयो । तर यो दुर्भाग्य हो । बैंकर्सहरुले आफ्नो नाफाको लक्ष्य हासिल गुर्नका साथै अन्य सामाजिक दायित्वलाई पनि सँगसँगै लैजानुपर्छ । लक्ष्य अनुरुपको नाफा हासिल गर्नका लागि आफुसँग रिर्सोसेज छैन भने पनि जबजस्ती अघि बढ्ने काम भयो ।

बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत आबद्ध संस्थामा त्यस्ता काम हुनुहुँदैन । बैंकहरु नाफा आर्जनसँगसँगै विभिन्न सामाजिक उत्तरदायित्व पनि पुरा गर्न सक्नुपर्छ । कतिपय सिस्टममा आएका समस्या होलान तर त्योभन्दा बढी नाफामुखी हुँदा समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्