Logo

बैंकले अनुमानका आधारमा कर्जा प्रवाह गरेर गल्ती गरे

बैंकले अनुमानका आधारमा कर्जा प्रवाह गरेर गल्ती गरे


रामराजा श्रेष्ठ
1.1k
Shares

तरलता अभाव देखिन थालेपछि बैङ्कहरु यतीबेला निक्षेप संकलनमा जोड दिइरहेका छन् । यो गतिविधिले कर्जा नपाउने भय अर्कोतिर खडा भइदिएको छ । सँगै कर्जाको ब्याजदर पनि बढ्ने आशंका उत्तिकै छ । बदलिएको यो वित्तीय क्रियाकलाप र समग्र बैंकिङ क्षेत्रको अवस्थाका बारेमा बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले नेपाल विकास बैंकर्स संघका निवर्तमान अध्यक्षसमेत रहेका महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेसँग कुराकानी गरेका छन् ।

वाणिज्य बैंकहरुमा अहिले पुनः निक्षेप तानातानको स्थिती सिर्जना भएको छ । विकास बैंकतर्फ अवस्था कस्तो छ ?

नेपालमा हरेक बर्ष नै कहिले उच्च तरलता र कहिले तरलता अभावको अवस्था देखिएको छ । तर, बैंकिङ क्षेत्रमा यो अवस्था आउनु राम्रो होइन । बैंकिङ क्षेत्रमा यस्तो अवस्था किन आइरहेको छ, निराकरणका उपाय के हुन ? यस्तो उत्तर अहिले बैंकरसँग नै छैन ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको कुरा ल्यायो तर पूर्ण रुपमा कार्यान्वयनमा आएको छैन । यदि त्यो पूर्णरुपमा कार्यान्वयनमा आएको भएपनि केही हदसम्म सहज हुने थियो । अहिलेको अवस्था सिर्जना हुनुमा हामी बैंकर तथा नियमनकारी निकाय दुवै दोषी छन् । यसरी अधिक तरलता र न्यून तरलताको अवस्था आउनु समग्र अर्थतन्त्रकै लागि हानिकारक हो ।

तरलता अभाव वा अधिक तरलता बैंकिङ क्षेत्र र समग्र अर्थतन्त्रकै लागि नराम्रो भन्ने त बारम्बार सुनिदैं आएकै हो । यो किन भइरहेको छ अथवा यसका कारण के हुन् ?

यसमा बैंकरहरुले अनुमान वा उनीहरुले बनाउने योजना सहि नहुनु हो । गत वर्ष पनि लगानी योग्य पूँजीको चाप बढेको थियो तर जेठमा आईपुग्दा केही सहज भयो । त्यसयता बैंकहरु लगानी विस्तारमा एकदमै फोकस भए । बैंकहरुले असोज कात्तिकसम्म जति बचत संकलन भएको थियो त्योभन्दा बढी लगानी गरे ।

त्यतिबेला बैंकहरुले बजारमा तरलता भएको र समयै सरकारी ढुकुटीको खर्च भएर बजारमा थप तरलता आउछ भन्ने आधारमा लगानी गरेका थिए । तर सरकारले त्यहिं समयमा बजारबाट एक खर्ब रुपैयाँ उठाइदियो । बैंकरले भविष्यमा आउने जोखिमको अनुमान लगाउन नसक्नु र बचत संकलनको तुलनामा अधिक कर्जा प्रवाह गर्नु नै अहिलेको मुख्य कमजोरी हो ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले सरकारी ढुकुटी ताकेर बस्ने होइन आफैले बचत संकलन गरेर लगानी गर्नुपर्छ भन्दै आएको छ भने तपाईहरु सरकारले खर्च नगर्दा बजार तरलता अभाव भयो भनिरहनु भएको छ । यसमा दुवै पक्षको फरक फरक धारण छ नि ?

केहीहदसम्म राष्ट्र बैंकले भनेको कुरा पनि ठिक होला । तर, यही समयमा सरकारले बजारबाट एक खर्ब रुपैयाँ उठाइदियो । पहिले चैततिर सरकारले बण्ड जारी गरेर बजारबाट पैसा संकनल गथ्र्यो तर अहिले मंसिर भित्रै उठाइदियो । यो पनि एउटा कारण हो ।

बैंकहरुले अनुमानका आधारमा कर्जा प्रवाह गर्नु पनि अर्को गल्ती गरे । उनीहरुले जुन अनुपातमा निक्षेप संकलन गरे सोही अनुपातमा कर्जा प्रबाह गर्नुपर्नेमा बढी नाफा कमाउने लोभमा बढी कर्जा प्रबाह गरे । यसमा बैंकहरु दोषी छन् । यसमा कुन बैंक दोषी कुन ठिकभन्दा पनि समग्र बैंकले यसको जिम्मा लिनु पर्छ । बैंकर भएर बैंक संचालन गर्दा यो हतारिएर वा आत्तिएर गर्ने व्यवसाय होइन । तुरुन्तै लगानी गरेर तुरुन्तै नाफा कमाउने सोचबाट मुक्त हुनुपर्छ ।

अहिले बैंकहरुले मोलबढावढमा निक्षेप संकलन गरिरहेका छन् । यहि अवस्थामा निक्षेप तानातान गर्ने हो भने अबमा दिनमा नेपालको बैंकको अवस्था कसरी अघि बढ्ला ?

म त भन्छु ब्याजदर बढ्दा सर्वसाधारणलाई फाइदा हुन्छ । बैंकहरुले छोटो अबधिमा निक्षेपमा संकलन गर्दा ग्राहकले लिने कर्जामा ब्याज बढ्दैन । यसले बैंकहरुको स्प्रेड घट्छ भने आम जनतालाई फाइदा पुर्याउछ । तर, ब्याजदर बढेका कारणले सेवाग्राहीले कर्जा नै लिन नसक्ने अवस्था चाहिँ आउनु भएन । त्यसो हुँदा सेवाग्राहीका साथै समग्र अर्थतन्त्रलाई असर पुर्याउँछ । ऋणीले ऋण लिन सक्ने, बैंकले पनि आफ्ना लगानीकर्तालाई नाफा खुवाउन सक्ने र जनताले पनि उचित ब्याज पाउने गरी ब्याजदर बढ्दा आत्तिनुपर्ने छैन ।

मेरो विचारमा यो ब्याजदर अल्पकालिन हुन सक्छ । यो पुस मसान्त समग्र कर्पोरेट क्षेत्रले सरकारलाई राजस्व बुझाउने बेला हो । सबैले आआफ्नो क्षेत्रबाट पैसा तानिरहेका छन् । त्यसले गर्दा अहिले अभाव भएको हो दुई तीन महिनामा सहज हुनसक्छ ।

नेपालको बैंकिङ अभ्यास हेर्ने हो भने बैंकहरुले बढी ब्याजदरमा निक्षेप संकलन गर्दा सेवाग्राहीसँग लिने कर्जाको ब्याज पनि त्यसै अनुसार बढेको पाइन्छ । यसको प्रत्यक्ष असर फेरि उद्योग व्यवसायमा पनि पर्छ नि हैन र ?

केही समय अघि ५÷६ प्रतिशत रहेको फिक्स डिपोजिटको ब्याज अहिले बढेर ११/१२ प्रतिशत पुगिसक्यो । सोही अनुपातमा बैंकहरुले ऋणीसँग लिने कर्जाको ब्याज त बढेको छैन । अहिले बर्षमा दुई पटकभन्दा बढी ब्याज बढाउन पाईदैन । राष्ट्र बैंकको कसीका कारण बैंकले निक्षेपकर्तालाई बढी ब्याज दिए पनि ऋणीसँग बढी ब्याज लिन पाउँदैनन् । जुन अनुपातमा निक्षेपको ब्याजदर बढ्यो त्यहि अनुपातमा कर्जाको ब्याजदर बढ्दैन र बढाउन सम्भव पनि छैन ।

कतिपय बैंकले दुई बर्षसम्म ब्याज बढाउदिन भनेर कर्जा प्रवाह गरेका छन् । यस्तै घर कर्जा, अन्य दिर्घकालिन कर्जामा पनि त्यस्तै व्यवस्था गरेका छन् । यो अवस्थामा निक्षेपमा ब्याज बढ्यो भनेर ऋणीको टाउकोमा भार थुपार्न पाइएन । अहिलेको अवस्था गत बर्षभन्दा फरक पनि छ । गतबर्ष कलको निक्षेपको ब्याजदर १२ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले राष्ट्र बैंकले त्यस्ता निक्षेपमा सम्बन्धित संस्थाको बचतको न्युनतमभन्दा बढी ब्याज दिन पाइदैन भनेको छ । तसर्थ अहिले कल एकाउण्टको ब्याजदर अघिकतम साढे ६ प्रतिशतभन्दा बढी छैन । अहिले निक्षेप तान्न कल एकाउण्टको ब्याज बढाउने हो भने बचतको पनि ब्याज बढाउनु पर्यो । यदि त्यसरी ब्याज बढाएर निक्षेप तान्ने हो भने बैंकको खर्च एकदमै ठूलो आकारमा बढ्नेछ । अहिले बैंकले फिक्स डिपोजिटमा मात्र केन्द्रित रहेर ब्याजदर बढाइरहेका छन् । फिक्स डिपोजिटमा मात्र ब्याजदर बढाइरहेको भएकाले यो दर अझै माथी जानसक्ने अवस्था छ ।

अहिले कतिपय बैंकले कर्जा समेत प्रबाह गर्न छाडिसकने भन्ने गुनासो आइरहेको छ । बैंक वित्तीय संस्थाको कर्जा र निक्षेपको अनुपात हेर्दा आगामी दिनमा कर्जा विस्तार गर्न सक्ने अवस्था छ कि छैन ?

समग्र रुपमा भन्दा अधिकांश बैंकहरु धेरै कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छैनन् । धेरै बैंकहरु आफ्नो लिमिटमा पुगिसकेका छन् । तर, यो अवस्था सबैमा लागू हुँदैन । उदाहरणका लागि महालक्ष्मी बिकास बैंकको कुरा गर्नुहन्छ भने हामी ग्राहकले माग गरे अनुरुप कर्जा प्रवाह गर्न सक्ने अवस्थामा छौं । अहिले बाणिज्य बैंकले १२ प्रतिशतमा निक्षेप संकलन गरिरहेका छन् तर हामी त्योभन्दा कम ब्याजदरमा कर्जा प्रबाह गर्न तयार छौं । कर्जा विस्तारको माथिल्लो सिमामा पुगेका बैंकले दिन सक्दैनन भने निक्षेपको तुलनामा कर्जा प्रवाह कम गरेका बैंकले जति पनि दिन सक्छन् । बैंकले कर्जा दिनै रोके भनेर आत्तिनु पर्ने अवस्था छैन । ग्राहकले सहज रुपमा कर्जा पाउँछन् ।

बैंक वित्तीय संस्थाको गत बर्षको प्रथम त्रैमासिक र यस बर्षको सोही अबधिको नाफा हेर्दा अवस्था खस्किएको हो ?

खस्किएको होइन अवस्था झन् मजबुत भएको हो । नाफा मात्र केही कम भएको हो । कर्जामा ब्याजदर बढी लिएर ऋणीलाई मार पारे र कम ब्याज लिएर लगानीकर्तालाई मुनाफा दिन सकेनन् भन्ने दोहोरो मापदण्डबाट बैंकलाई हेरिनुहुन्न । तर, बजार धेरै प्रतिस्पर्धात्मक भइसकेको छ । पहिला बैंक वित्तीय सस्थाले जुन रुपमा आम्दानी गरेर लगानीकर्तालाई लाभांश वितरण गरे अबका दिनमा त्यो सम्भव छैन । गत बर्ष साउन भदौदेखि जुन रुपमा निक्षेपको ब्याजदर बढ्यो त्यसको असर बैंक वित्तीय संस्थाले यस बर्षको पहिलो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा देखिएको हो । नाफा घट्दैमा बैंक खराब भयो भन्न मिल्दैन । उसले वितरण गर्ने लाभांशमा केही कमी हुनसक्छ तर सबै बैंकले १५ देखि २० प्रतिशत लाभांश वितरण गर्न सक्छन् । बैंकमा लगानी गरे २० प्रतिशत मुनाफा पाउनु भनेको नराम्रो होइन ।

महालक्ष्मी बैंककै कुरा गर्ने हो भने पनि गत बर्षको पहिलो ३ महिनाको तुलना गर्दा १ करोड रुपैयाँ नाफा घटेको छ । अबका दिनमा यसलाई बढाउन केकस्ता योजना ल्याउँदै हुनुहुन्छ ?

हाम्रो अवस्था अन्य बैंक वित्तीय संस्थाको भन्दा अलि फरक छ । हामी २/३ वटा ठूला विकास बैंक मर्ज भएर एउटा बनेका छौं । यसको कन्सुलिटेशन गर्न बाँकी छ । यो आर्थिक बर्ष बैंकको नाफा भन्दा पनि ब्यवस्थापनलाई बढी केन्द्रित गरेका छौं । भिन्न भिन्न संस्थाबाट मर्ज भएर आएका कर्मचारीको ब्यवस्थापन, फरक फरक नीतिलाई समायोजनमा लागिपरेका छौं । हामी चुक्ता पूँजी, निक्षेप तथा कर्जा विस्तार, शाखा सञ्जालको आधारमा सबैभन्दा ठूलो विकास बैंक हौं । अहिले महालक्ष्मी विकास बैंकसँग ऋणीसँग असुल गर्नुपर्ने ब्याज तथा कर्जा धेरै छन् । केही समय मर्जरका कारण अन्यौलमा परिएको हो । हामी आगामी आर्थिक बर्ष सम्ममा एक नम्बरको विकास बैंकको रुपमा स्थापित हुनेछौं भने सोही अनुरुप नाफा पनि कमाउनेछौं ।

तर, वित्तीय विवरण हेर्दा बैंकको कर्जा विस्तार गत बर्षकोभन्दा धेरै घटेको छ । तपाईहरु सुरक्षित अवतरण गर्नुभएको कि कर्जा विस्तार गर्न नसकेको ?

हामी सेफ ल्याण्डिङमा बसेका होइनौ कर्जा विस्तार गर्न नसकेका हौं । बैंक असार मसान्तमा मर्जर भयो साउनदेखि कर्जा विस्तार गर्नुपर्ने त्यो प्राथमिकतामा परेन । दुई संस्था मर्जर हुँदा फरक फरक नीति, फरक कार्यशैली देखियो । त्यसलाई ब्यवस्थापन गर्न नै केही समय लाग्यो । अहिले बैक नीतिगत रुपमा व्यवस्थापन भइरहेको छ । त्यसै अनुसार कर्मचारी पनि तयार भएका छन् । आगामी त्रैमासिक देखि आक्रामक रुपमा कर्जा विस्तार गर्छौं । विकास बैंकको कर्जा निक्षेप अनुपात ७५ प्रतिशतभन्दा माथी जानुपर्छ र सोही अनुरुप विस्तार गर्नेछौं ।

अहिले वाणिज्य बैंक र विकास बैंक एउटै कार्यक्षेत्रमा कर्जा विस्तार गरिरहेका छन् । दुबै बैंक एउटै क्षे त्रमा गएर काम गर्दा काम गर्न कत्तिको सहज हुन्छ ?

वाणिज्य बैंकको ब्याजदर कम र विकास बैंकको बढी हुन्छ भन्ने कुरामा म सहमत छैन । अहिले बाणिज्य बैंकले १२ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गर्न थालिसकेका छन् तर, हामीले सोभन्दा कम ब्याजदरमै कर्जा लिन आउ भनेर प्रचारप्रसार गरिरहेका छौं । अहिले दुबै स्तरका बैंक प्रतिस्पर्धात्मक रुपमा अघि बढेका छन् ।

हामीले काम गर्ने बैंक वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै हो । राष्ट्रिय स्तरको विकास बैंकले विदेशबाट सामान आयात गर्दा खोलीने एलसी बाहेक अन्य सबै काम गर्दै आएका छौं । अहिले २८ वाणिज्य बैंक र ११ वटा राष्ट्रिय स्तरको विकास बैंकबीच प्रतिस्पर्धा भइरहेको छ । यस्तो प्रतिस्पर्धाले बढी ब्याजदरमा निक्षेप राख्न पाएका छन् भने सस्तोमा कर्जा पाएका छन् ।

अहिले फेरी ग्राहकहरु तरलता अभावका कारण बैंकबाट कर्जा नपाईने भयो भन्ने त्रासबाट ग्रसित छन्,ब्याजदर पनि महंगो भयो भनिरहेका छन् । ग्राहकलाई कसरी आश्वस्त पार्नुहुन्छ ?

बजारमा देखिएको निक्षेप तानातानको स्थिती हेर्दा बैंकहरुले कर्जा दिन छाडे कि भनेर शंका गर्नु स्वभाविक नै हो । तर, सबै बैंकमा त्यस्तो अवस्था छैन । उदाहरणकै लागि अहिले महालक्ष्मी विकास बैंकले व्यवसाय गर्न चाहने ग्राहकलाई माग अनुरुप कर्जा दिन सक्ने अवस्थामा छ । अहिलेको अवस्थामा बैंक वित्तीय संस्थालाई ठूला कर्जा विस्तार गर्न केही सोच्नुपर्ने बेला आएको छ तर साना तथा मझौला कर्जा विस्तारमा कुनै समस्या छैन ।

प्रतिक्रिया दिनुहोस्