Logo

‘कमाण्डर’ कामिनी

‘कमाण्डर’ कामिनी


बिजखबर संवाददाता
0
Shares

ठीक ३२ बर्षअघि ज्यालादारीमा नेपाल टेलिकम प्रवेश गर्दैगर्दा कामिनी राजभण्डारीका लागि यो एउटा ‘करिअर’ सुरक्षित गर्ने ठाउँ मात्र थियो । जागिरको त्यो रहर अहिले जिम्मेवारीमा रुपान्तरण भएको छ ।  साँच्चै उनले सोचिन की सोचिनन्, कुनै दिन यहिं संस्थाकै नेतृत्व दिन तयार हुनुपर्छ ?

‘प्रमुख नै हुन्छु भन्ने चाहिं सोचेकी थिइन’ उनी भन्छिन् ‘तर राम्रो काम गर्छु भन्ने अठोट भने थियो’ ।

त्यतिबेला पनि राम्रै तलब पाइने तत्कालीन दुरसञ्चार संस्थानको जागिर निकै आकर्षक मानिन्थ्यो । तर संस्थानलाई चाहिने प्राविधिक जनशक्ति भने जहिले अभाव हुने ।

यहिं परिस्थितीले हुनुपर्छ, २०४२ सालमा भारतको चण्डिगढमा रहेको पञ्जाब इञ्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल कम्युनिकेशनमा इञ्जिनियरिङ पुरा गरेकै बर्ष उनलाई टेलिकमको ढोका खुला भयो ।

प्राविधिक जनशक्तिको यति अभाव थियो कि, उनले इन्जिनियरिङ उत्तीर्ण गरेको जानकारीको आधारमा मात्रै पनि उनलाई जागिरको अवसर प्राप्त भयो । ‘मैले इञ्जिनियरिङ पास गरेर आएको थाहा पाएकै आधारमा टेलिकममा जागिर पाइहाले’ उनी अनुभव सुनाउँछिन् ।

ज्यालादारीमा काम गरेको एक बर्षमै उनको क्षमताले एउटा नतिजा हासिल गर्यो । उनी संस्थानमै स्थायी भईन् ।

राजभण्डारीकै शब्दमा स्थायी पछि अहिलेसम्मका बर्षहरु उनको ‘लगाव’का निरन्तरता हुन् । पढाई अनुसारकै प्राविधिक कामले उनलाई सधै ‘एङ्गेज’ गराइरह्यो ।

नयाँपन र ‘रिस्क’ लिन चाहने उनको व्यक्तिगत शैलीको फाइदा टेलिकमले पाएको छ । मर्मत सम्भारको कामबाट प्रवेश गरेकी राजभण्डारी नेपालमा टीडीएमआइएस प्रविधि भित्र्याउने प्रमुख भुमिकामा थिइन् । फिक्सड लाइनमा प्रयोग हुने यस किसिमको प्रविधिलाई अहिले प्रचलनमा रहेको इण्टरनेटमा आधारीत आइपी बेस्ड उपकरणले रुपान्तरण गर्ने आयोजना प्रमुख पनि उनी नै थिइन् ।

उनको नेतृत्वमा सुरु भएको त्यस आयोजना अन्तर्गत अहिले देशभर रहेका टीडीएम स्विचिङ उपकरणलाई आइपीमा रुपान्तरण गर्ने काममा पहिलो चरणको सफलता कम्पनीले प्राप्त गरेको छ । दुई महिनाभित्रै एक लाख ३४ हजार स्विचिङ उपकरणलाई आइपीमा लैजाने योजना तयार छ । एक बर्षभित्र यो सङ्ख्या चार लाख पुर्याउनेमा कामिनी दृढ छिन् ।

कसरी प्राप्त हुन्छ त नतिजा ?

‘आयोजना अघिको गहन अध्ययन र विश्लेषणले’ उनको उत्तर छ । यहिं बानीले आयोजना सहजै पुरा गर्ने उनको छवि बनायो र सँगसँगै जिम्मेवारी पनि थपिदै गए । ‘केहि कठिन आयोजना भएपनि हाकिमहरुको विश्वासले मलाई त्यसको नेतृत्व प्राप्त हुन्थ्यो’ उनी भन्छिन् ।

त्यसो त कतिपय यस्ता योजना छन्, जुन् कामिनी एक्लैले नेतृत्व पनि दिएकी छन् । ‘मैले कतिपय आयोजनाको एक्लै ‘प्लानिङ’ र ‘अप्रेशन’को जिम्मेवारी समेत सम्हाले,’ उनको अनुभव छ ‘जबकि त्यहिं कामको लागि क्षेत्रगत रुपमा तीन जना प्रमुखको आवश्यकता पर्थ्यो ।’

 

आयोजनाको नतिजासँगै कामिनीले विश्वास पनि बटुल्दै गइन । जटिल काम गर्न सक्ने उनको स्वभावले हाकिमहरु भर पर्न सक्ने वातावरण आफैले बनाइन् ।

नेतृत्वको जिम्मेवारी बढ्दै गएपछि जागिर सुरु गरेको १५ बर्षपछि उनले एमबीए अध्ययन सुरु गरिन् । त्यो पनि बैंककको एसियन इष्टिच्युट अफ टेक्नोलोजी विश्वविद्यालयबाट पूर्ण छात्रवृतिमा । दुई बर्षको छोरालाई सँगै लिएर उनी आफ्नो अध्ययन पुरा गर्न बैङ्क लागिन् ।

यो पढाइलाई उनी आफ्नो जीवनको ‘टर्निङ पोइण्ट’ भन्न रुचाउछिन् ।

यसको समग्र नतिजा उनले टेलिकमभित्र अत्यन्तै जटिल मानिने प्रमुख प्राविधिक अधिकृत(सीटीओ)को जिम्मेवारी पाइन् । टेलिकमलाई प्राविधिक रुपमा चुस्त बनाउने दायित्व सीटीओकै हुन्छ ।

असोज ६, २०७३ । आवेदन दिएका एक दर्जन प्रतिस्पर्धिलाई पछि पार्दै कामिनी राजभण्डारी नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनिन् ।

मन्त्रीपरिषदले उनको नाम घोषणा गरे लगत्तै सञ्चारमाध्यममा हेडलाइन बने ‘टेलिकममा पहिलो पटक महिला नेतृत्व’ । हुन पनि एक सय बर्षको इतिहास बोकेको नेपालको दुरसञ्चार क्षेत्रको नेतृत्वमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल पाउने घोषणा थियो त्यो ।

कति खुसि छन त उनी ?

९२ प्रतिशत सरकारी स्वामित्वको जिम्मेवारीमा रहँदा निजी कम्पनीले जसरी तत्काल व्यावसायिक योजना बनाएर अघि बढाउन नपाउँदाको कठिनाइसँग जुध्दै छन् उनी । प्रतिस्पर्धि बजारमा ग्राहकले खोजे अनुसारकै ‘प्रडक्ट’ तत्काल बाहिर ल्याउन खोज्दाको प्रक्रियागत उल्झनले समस्यामा पनि पारेको छ । हरेक सामान टेण्डर प्रक्रियाबाट खरिद गर्नुपर्ने र त्यसमा पनि सार्वजिनक खरिद ऐन लागु हुने भएकाले भनेको समयमा सेवा प्रदान गर्न नपाउनु उनको बुझाईमा चुनौती बनिरहेको छ ।

तर, आफ्नो जिम्मेवारी प्रति उनलाई गर्व छ ।

महिलाले सम्हाल्ने नेतृत्व प्रतिको दृष्टिकोणबारे पनि उनले गतिलो अनुभव प्राप्त गरिसकेकी छन् । ‘पितृसतात्मक सोच र इगोले पनि कहिलेकाहीं समस्या हुँदो रहेछ’ उनको बुझाई छ ‘अध्ययन अनुसार महिलाहरुले पुरुषले भन्दा बढी काम गर्छन तर पनि उनीहरु प्रतिको दृष्टिकोण गलत छ’ ।

त्यसो भए फेर्ने कसरी ?  ‘यसलाई आफैले परिवर्तन गर्दै जाने हो’ उनको निष्कर्ष छ ।

उनी आफू ट्रयाकमा छु भन्नेमा पूर्ण विश्वस्त छन् । ‘संस्थाका लागि तय भएका नियम कानुन काम गर्ने बलिया आधार हुन’ उनलाई यस्तै लाग्छ । तर केहि कामको सुरुवात हुनासाथ सुरु हुने नकारात्मक प्रचारको आम शैलीले उनलाई बेलाबेला दिक्क बनाउँछ । ‘नियम अनुसार काम गर्ने हो । सकारात्मक सोचेर काम गर्ने हो । यसमा केहि छैन’ आफ्नो शैली उनले यसरी बताइन् ।

निर्णय गर्दा आफ्नो व्यक्तिगत स्वार्थ बाझिनु हुँदैन । यसमा उनी सचेत छन् । ‘सबैको कुरा सुनेर विश्लेषण गर्ने अनि संस्थाको बृहत हितमा निर्णय गर्ने’ अहिले उनको फर्मूला यस्तो छ ।

टेलिकमको सुधार
देशकै ठूलो कम्पनीमध्यको नेपाल टेलिकम सरकारी कम्पनी मध्य पनि ठूलो संस्था हो । आफ्नो आम्दानीको करिब ५४ प्रतिशत राजस्व यसले सरकारलाई नै बुझाउने गर्छ । डेढ करोडभन्दा बढी ग्राहकलाई कम्पनीले सेवा दिइरहेको छ ।

बढ्दो बजारमा भविष्यको प्रविधि बुझेर त्यसै अनुसारका योजना आवश्यक हुन्छन् ।

एक बर्ष पनि पुगेको छैन कामिनीले टेलिकमको बागडोर सम्हालेको । यसबीचमा नेपालमै पहिलो पटक फोरजी सेवा सञ्चालन गर्ने नेतृत्व उनैले गरिन् । अब यसलाई देशभर पुर्याउने योजनामा लागेकी छन् ।

यसअघि कहिलै पनि दुरसञ्चार सम्पर्कमा नरहेका जनतालाई सेवा दिने दृढ लक्ष्यमा पनि छन् । योजना अनुसार अघि बढेमा यो बर्ष त्यस्ता १ सय ६० ठाउँमा टेलिकमले सेवा विस्तार गर्नेछ । ‘नाफा सोचेर हैन, सेवा पुर्याउने जिम्मेवारीले काम गरिरहेका छौं’ उनी भन्छिन् ।

एडीएसएल र एफटीटीएचको पहुँच विस्तारमा पछिल्ला केहि दिनमा उनको व्यापक जोड छ । भूकम्पले क्षतीग्रस्त केहि जिल्लाहरुमा इण्टरनेट पुगिसकेको छ । भदौभित्र टेण्डर आह्वान गरी सरकारकै महत्वाकाङ्क्षी योजनामध्यको मध्य पहाडी लोकमार्ग अन्तर्गत प्रदेश एक, दुई र तीनमा फाइबर बिछ्याउने अन्तिम तयारीमा उनी जुटेकी छन् ।

कात्तिकभित्र नेपालमै पहिलो पटक चिनको इण्टरनेट ब्याण्डविथ ल्याउने काम अहिले भइरहेको छ । भारतमा निर्भर इण्टरनेट ब्याण्डविथको अवस्था यो पछि तोडिनेछ । कम्पनीको बृहत्तर हितका लागि रणनीतिक साझेदार ल्याउन ‘डीडीए’ अन्तिम चरणमा छ ।

सञ्चालनमा रहेको फोेरजीलाई पूर्ण विस्तार गरी ‘भीओएलटी’ सञ्चालनमा ल्याउने महत्वाकाङ्क्षी योजना उनको छ । फोरजी ग्राहकलाई मल्टिमिडिया सुविधा उपलब्ध गराउने यो योजनासँगै कम्पनीले नै मोबाइल बण्डलिङ गरेर बिक्रि गर्नेसम्मका योजना बनिसकेका छन् ।

तत्कालै मोबाइल मनी
फोरजीकै फाइदा उठाउँदै मोबाइल मनी पनि सञ्चालनमा ल्याउने दिशातर्फ टेलिकम अघि बढेको छ । ‘तत्काल रेभेन्यु सेयरिङ गरेर मोबाइल मनी सञ्चालनमा ल्याउने र पछि सहायक कम्पनी स्थापना गरेर आफै सञ्चालन गर्ने’ उनको योजना यस्तो छ ।

प्रतिस्पर्धात्मक बजारमा आम्दानी र नाफाले सफलताको निर्धारण गर्छ ।

इण्टरनेटमा आधारीत म्यासेन्जर, भाइबर, ह्वाट्सएप जस्ता ओभर दी टप(ओटीटी) सेवा प्रदायकले विदेशबाट टेलिकमले प्राप्त गर्ने कलको सङ्ख्यामा प्रभाव पारेपनि टेलिकमको वासलात भने बढेकै छ । आर्थिक बर्ष २०७२/७३ मा स्वेच्छिक अवकाश(भीआरएस)का कारण ६ अर्ब बराबरको आर्थिक भारले आम्दानीमा केहि घटोत्तरी व्यहोरेको टेलिकमले गत आर्थिक बर्षमा प्रायः सबै सुचकमा सुधार गरेको छ ।

अन्तिम वासलात तयार हुन अझै केहि बाँकी रहेपनि गत आर्थिक बर्षमा अघिल्लो बर्षको तुलनामा एक अर्ब बढी नाफा गर्दै करिब १५ अर्ब नाफा पुग्ने कामिनीको अनुमान छ ।

प्रस्तुती : रामराजा श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्