Logo

सुन तस्करीको लागि नेपाल ‘ट्रान्जिट हब’ बनिसक्यो

सुन तस्करीको लागि नेपाल ‘ट्रान्जिट हब’ बनिसक्यो


रामराजा श्रेष्ठ
27
Shares

नेपाल भित्र्याइदैं गरेको ३३ किलो सुन केहि समयअघि त्रिभुवन विमानस्थलको भन्सारसमेत पार गरेपछि प्रहरीले बरामद ग-यो । त्यसपछि नेपालमा सुन तस्करीको विषयले फेरी चर्चा पायो । सुन तस्करीमा नाम चलेकै व्यक्तिको समेत संलग्नता भएको हुन सक्ने प्रहरी आशङ्काले सर्वसाधारणको चासो यसमा थप बढायो । त्यस लगत्तै सुनचाँदी व्यवसायीले कोटा प्रणालीमा विरोध जनाउँदै व्यवसाय नै बन्द गर्ने धम्की सरकारलाई दिए । अर्कोतर्फ सुन ‘होल्ड’ गरेर अभाव देखाउने आरोप व्यवसायीहरु माथि छ । सुनचाँदी व्यवसायलाई नियमन गर्ने उद्देश्यसहित सरकारले ल्याउने भनेको निर्देशिकामा अहिलेसम्म खासै प्रगती हुन सकेको छैन । यस्ता विषयको सेरोफेरोमा रहेर बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले नेपाल सुनचाँदी व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यसँग गरेको कुराकानीको सार:

प्रहरीले सुनचाँदी पसलमाथी छानविन शुरु गरेसँगै केही व्यवसायीहरु पसल नै बन्द गरेर विस्थापित भएका छन् । राम्रै काम गरेको भए किन डर ?

महासंघलाई सुनचाँदी व्यवसायीहरुको पसलमा प्रहरीले छापा मारेको जानकारी अहिलेसम्म आएको छैन । तर, गैरकानुनी रुपमा आएको सुन व्यवसायीले किनबेच गरेका छन कि भन्ने शंका होला । गैरकानुनी रुपमा सुन भित्रने क्रम बढेपछि थप छानविन गर्न शंका लागेका व्यवसायी माथी निगरानी राखेका होलान भन्ने मेरो बुझाइ हो ।

मुख्य समस्या भनेको नेपालको बजारलाई कति सुन आवश्यक पर्छ भन्ने वास्तविक तथ्याङ्क नै छैन । तथ्याङ्क निकाल्न सरकारले अनुसन्धान गर्नु जरुरी छ । महासंघ आफैले पनि जिल्लास्थित आफ्ना संघमार्फत अनुसन्धान गर्दा दैनिक ३० देखि ४० किलोग्राम आवश्यक पर्ने देखिएको छ ।

माघ महिनासम्म सरकारले दैनिक १५ केजीको कोटा बढाएर २५ केजी पु-याएको छ । तर, यसअघि नै ३० देखि ४० केजीको माग व्यवसायीले पुरा गरेका छन् । यो कसरी सम्भव भयो ?

यो व्यवसायीलाई बारम्वार सोधिने र गम्भिर प्रश्न हो । तर, नेपाली बजारमा कुन–कुन स्रोतबाट सुन आउँछ भन्ने विषय बुझ्नु जरुरी छ । पहिलो त सरकारले नै दैनिक रुपमा आयात गर्दै आएको छ भने विदेश गएका मान्छेले पनि सुन लिएर आउने गरेका छन् । उनीहरुले पहिला ५० ग्रामको ढिक्का सुन ल्याउथे । नयाँ व्यवस्थासँगै कम जर्ती जाने खालका गहना बनाएर ल्याउन थालेका छन् । त्यो पनि नेपाली बजारमा आउने सुनको स्रोत हो । कतिपय व्यक्तिले सुनमै लगानी गरेका हुन्छन् । सस्तो हुँदा किनेको सुन महङ्गो हुँदा बेच्न ल्याउछन् । नेपाली बजारमा सुन चक्रिय प्रणालीमा चलिरहेको छ । यहिं प्रणालीले बजारको माग थेगिरहेको छ ।

मुख्य विषय भनेको बजारको मूल्य हो । बजारमा मूल्य घट्दा माग बढी हुन्छ तर बजारमा सुन हुँदैन । यस्तो अवस्थामा तस्कर हाबी बन्छन् र बजारमा तस्करीका सुन भित्रन थाल्छन् ।

विमानस्थलबाटै ३०–३५ किलोसम्म सुन बरामद भएको घटना हालै बाहिर आएको छ । व्यवसायीको संलग्नताको आशङका पनि बाहिर आएको छ नि ?

नेपालका कहाँबाट कसरी गैरकानुनी तरिकाबाट सुन भित्रिन्छ भन्ने विषयमा हामीलाई जानकारी हुँदैन । त्यो सरकारको अनुसन्धान गर्ने निकायले पत्ता लगाउने कुरा हो । तर, तपाइले ४/५ तोला सुन बेच्न ल्याउनु भयो भने कसरी ल्याउनु भयो व्यवसायीलाई थाहा हुँदैन र सोध्ने कुरापनि आउँदैन । बजार मूल्य अनुसार किन्छन् । त्यसमा व्यवसायीको के दोष ? तर, कुनै व्यक्तिले १/२ केजीको ढिक्कै बेच्न ल्याउँछ भने त्यसमा हामीले शंका गर्ने ठाउँ हुन्छ । यसैले पनि नेपालको सुन तस्करीमा हामीजस्ता सुनचाँदी व्यवसायीको संलग्नता हुँदैन र छैन पनि ।

प्रहरीले समातेको त उदाहारण मात्र हुन् । त्यहि आधारमा पनि भन्न सकिन्छ नेपालमा धेरै मात्रामा सुन तस्कर भइरहेको छ । यसरी भित्रिएको सुन कहाँ जान्छ ? यदि नेपालमा विक्री नहुने भए तस्करहरुले किन ल्याउँछन् ?

दुर्भाग्य भनौ या सौभाग्य हामी दुई ठूला मुलुकको बीचमा छौं । चीनमा सस्तो मूल्यमा सुन पाइन्छ भने भारतमा महङ्गो मूल्यमा बढी माग भइरहेको छ । भारत सरकारले ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएसँगै त्यहाँ सुनको माग एकदमै उच्च छ । नेपाली बजारमा भन्दा भारतमा प्रतितोला ५ हजार रुपैयाँ बढीमा सुन बिक्रि भइरहेको छ ।

त्यसैको प्रभावले गर्दा नेपाली बजारमा सुन अभाव भइरहेको छ । अहिले नेपाली बजारमा सुन टिक्न कठिन छ र्। तस्करले चीनबाट सस्तोमा सुन ल्याएर भारतमा महङ्गोमा बेच्दै आएका छन् । तस्करीबाट आएको सुन नेपालमा रहँदैन । उत्तरबाट दक्षिणतर्फ पुगिरहेको छ । वास्तवमा भन्नुपर्दा नेपाल सुन तस्करको ‘ट्रान्जिट हब’ बन्न पुगेको छ ।

तपाइहरुले केही समय अघि मात्र सरकारलाई पत्रकार सम्मेलन गरेर आफ्नो व्यापार व्यवसाय नै बन्द गरेर बस्नेजस्ता धम्की दिँदै आउनु भएको छ । स्वच्छ व्यवसायमा यस्तो समस्या किन आयो ?

समस्याको मूख्य जड कोटा प्रणाली हो । जतिबेला नेपालमा सुनको उच्च माग थियो त्यतिवेला दैनिक १५ केजी मात्र आयात हुन्थ्यो । मागको तुलनामा आयात एकदमै न्युन थियो । नयाँ वर्ष तथा क्रिसमसको समयमा अन्तरराष्ट्रिय बजारमा सुनको कारोवार नहुँदा बैंकिङ प्रणालीबाट पनि सुन आयात हुन सकेन । सोही समयमा नेपालमा सुनको सीजन थियो भने बजार मूल्य पनि घटेको थियो । जसले गर्दा बजारमा सुनको माग उच्च हुन पुग्यो तर व्यवसायीसँग सुन थिएन । व्यवसायीले सुन अभावको कारणले अर्डर समेत लिन सकेनन् । सुन अभावका कारणले व्यवसायीले ५२ हजार तोला हुँदा लिएको अर्डर ५५ हजार रुपैयाँ पुग्दा डेलिभरी दिन परिहेको छ । यो अवस्थामा कसरी व्यवसाय संचालन गर्न सकिन्छ ।

नेपालमा व्यवसायीहरुले सस्तो हुँदा सुन होल्ड गर्ने र महङगो हुँदा बेच्ने गरेर छन् भन्ने आरोप लाग्दै आएको छ नि ?

केही हदसम्म त्यसमा पनि सत्यता होला । तर, सुनको मूल्य बढ्छ नै भन्ने ग्यारेन्टी के छ ? अर्को कुरा सुन त्यतिकै होल्ड गरेर राख्ने कुरा होइन । खरिदको लागि ठूलो मात्रामा पैसा लगाउनु पर्छ । यदि प्रतितोला ५० हजार रुपैयाँमा किनेर होल्ड गरेको सुन ४८ हजार रुपैयाँमा झर्यो भने के गर्ने ? यसमा बढ्छ नै भन्ने कुनै ग्यारेन्टी के छ । कुनै वेला प्रतितोला ६३ हजार रुपैयाँमाथी पुगेको सुुनको मूल्य घटेर ४७ हजार रुपैयाँमा पनि आयो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य दैनिक जसो तलमाथी भइरहन्छ । यसमा ‘प्रेडिक्ट’ गर्न एकदमै कठिन छ । यदि कसैले त्यस्तो भविश्यवाणी गर्न सक्थ्यो भने त्यो सन्सारकै धनी व्यक्ति हुन्थ्यो । अन्तरराष्ट्रिय बजारमा सामान्य एउटा घटना भयो भने सुनको मूल्यमा असर गर्छ । यस्तो अवस्थामा होल्ड गरेर के काम ?

सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन निर्देशिका ल्याउने भनिएको पनि चार–पाँच वर्ष भइसक्यो । व्यवसायीकै अवरोध र असहयोगले निर्देशिका आउन नसकेको भनिन्छ नि ?

यसमा व्यवसायीको कुनै अवरोध छैन । यो त व्यवसायीले राखेको माग हो । यदि निर्देशिका आयो भने व्यवसायीले सोही अनुरुप स्वच्छ व्यवसाय गर्न सक्छन् । हामी उपभोक्तालाई गुणस्तर, तौल र मूल्यमा एकरुपकता कायम गरी सामान दिन तयार छौं । तर, नियम त व्यवसायीले बनाएर बन्ने विषय होइन यो त राज्यले बनाएर दिनु पर्यो नि । यद्यपि २०५८ सालदेखि सुनचाँदी व्यवसायी महासंघले आफैले आचारसंहिता बनाएर देशभर नै समान तरिकाबाट कारोवार गराउँदै आएको छ । आजभन्दा १० वर्ष अघि सिक्का राखेर तौलने तथा कुनै कसरीमा राखेर सुनको जाँच गरिँदै आएको थियो । तर, अहिले अन्तरराष्ट्रिय मापदण्ड अनुसारको तौलने तथा जाँच गर्ने मेसिन आएको छ । हाम्रो प्रतिवद्धता भनेको ग्राहकलाई गुणस्तरीय सामान उपलब्ध गराउने हो । यदि निर्देशिका आयो भने न व्यवसायीले गैरकानुनी काम गर्छन न उपभोक्ता नै ठगिन्छन् । तर, त्यसमा हाम्रो विमत्ती भनेको जर्ती तथा ज्यालामा हो ।

जर्ति र टोलरेसन्समा तपाइहरुको विमति रहेको देखियो । खास के हो ? तपाईहरुको माग के हो ?

यो विषयमा हामीले देशभरका व्यवसायीलाई समेटेर मन्त्री सहितको राष्ट्रिय भेलाको आयोजना गरेका थियौं । यो विषयमा सहमतिको केही नजिक पुगेका छौं । तर, कुनै पनि सामानको ज्याला तथा जर्ती सिमित तोकेर हुँदैन । सामान अनुसारको ज्याला तथा जर्ती लाग्छ । कुनै सामान ५ लाल जर्तीमा बन्छ भने कुनैको लागि १५ लाल जर्ती लाग्न सक्छ । यसैगरी एउटा सामान्य औठी ५ सय रुपैयाँमा बन्छ भने त्यसैलाई डिजाइन दिन पर्यो भने ५ हजार रुपैयाँ पनि लाग्छ । उदाहरणका लािग बजारमा एक कप चियाको मूल्य १० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म पर्छ तर, त्यसको मूल्य स्वाद अनुसार फरक पर्छ । यो विषय उपभोक्ताको रोजाइमा भर पर्ने विषय हो । यदि ज्यालामा कसी लगाउने हो भने कालिगढको सिर्जनशिलाता मर्छ । व्यवसायीले गुणस्तर, मूल्य र तौलमा तलमाथी गर्न मिल्दैन । तर, ज्याला र जर्तीमा कुनै पनि निकायले तोक्न मिल्दैन ।

सुन आयातको विषयमा व्यवसायी र बाणिज्य बैंकबीच तिक्तता बढेको देखिन्छ । किन तपाइहरु यसको विरोध गर्दै आउनु भएको छ ?

२०६६ सालदेखि वाणिज्य बैंकहरुले सुन आयात गर्न थालेको हो । त्यतिवेला आयात खुला गर्दा कुनै फर्म, कम्पनी वा बैंक वित्तीय संस्थाबाट ल्याउन सकिने व्यवस्था गरिएको थियो । तर, त्यतिवेलाको माओवादी द्वन्द्वकाल तथा चन्दा धाकधम्कीले गर्दा निजी क्षेत्रका व्यवसायीले सुन आयात गर्न सक्ने अवस्था थिएन र वाणिज्य बैंकमार्फत सुन आयात गर्ने जिम्मा दिइयो । तर, सोही व्यवस्थालाई अहिलेसम्म निरन्तरता दिइयो । व्यवसायीले पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ भएन । ७ वर्षसम्म एउटै व्यवस्था लागु गरियो यो कूनै पनि व्यक्तिमाथीको संवैधानिक अधिकार माथीको हनन हो ।

त्यतीबेला चाँदी पनि बैंकले नै आयात गर्दै आएको थियो । तर, त्यसरी आयात गरिएका चाँदी सोझै सिमामा पुगेर भारतीय बजारमा प्रवेश गर्न थाल्यो । त्यसलाई सरकारले परिमार्जन गर्दै निजी क्षेत्रलाई ल्याउन दिइयो । अहिले त्यो समस्या समाधान भएको छ । बजारमा सहज रुपमा चाँदी पाउन सकिन्छ । त्यसैगरी सुनमा पनि परीक्षणको रुपमा कोटाको ५० प्रतिशत बैंक र ५० प्रतिशत निजी व्यवसायीबाट आयात गर्न दिँदा हुन्छ । त्यसरी आयात गर्दा जसले राम्रो गर्छ त्यसैलाई जिम्मा दिए भइहाल्छ नि । यदि बैंकलेभन्दा निजी क्षेत्रले राम्रो गर्छ भने उनीहरुले आयात गर्न किन नपाउने ?

प्रतिक्रिया दिनुहोस्