नेपालमा उद्योग खोल्नु भनेको आफु बदनाम हुनु हो । आफ्नै सम्पती लगानी गरेर कोही आफै बदनाम हुन चाहन्छ ?
अविनाश ग्रूप मुलुकको पोल्ट्री इण्डष्ट्रिको ‘पायोनियर अर्गनाईजेशन’ हो । मुलुकको औद्योगिक व्यवसायका लागि वातावरण अनुकुल नभएको गुनासो आईरहँदा अविनाश ह्याचरीले पोल्ट्री विजनेशमै चार अर्ब भन्दा बढी लगानी गरिसहेको छ । र, अहिलेसम्मकै सवैभन्दा आधुनिक प्रविधि जडानको कामलाई अघि बढाईसकेको छ । वातावरण अनुकुल नहुँदा पनि लगानी गरेर नाफा कमाउने अविनाश ह्याचरीको सुत्र के होला ? अविनाश ग्रूपका अध्यक्ष गुणचन्द्र विष्ट जवाफ दिन्छन्, ‘समस्यामा जुध्ने साहस र धैर्यता’ । मुलुकको लगानीको वातावरण, निजी क्षेत्रको भूमिका, पोल्ट्री व्यवसाय र अविनाश ग्रूपका आगामी योजनाका बारे बिजखबरका रामराजा श्रेष्ठले विष्टसँग गरेका वार्ताको सार:
मुलुकमा लगानीको वातावरणका विषयमा व्यवसायीहरुले दुई थरी भनाई छ । एकथरीले लगानीको वातारण सुध्रन नसकेको भन्दै आाएका छन् भने अर्काथरी लगानीको वातावरण अनुकुल हुँदै गएको बताउँछन् । यसमा तपाईको विश्लेषण के छ ?
नेपालमा लगानी गर्नु भनेको दुःख निम्त्याउनु हो । हाम्रो समाजले लगानीको महत्व नै बुझेको छैन । दीर्घकालिन लगानी भनेको उद्योग हो । तर, यहाँ जसले उद्योगले खोल्यो त्यो फस्यो भन्दा हुन्छ । यहाँ घरेलु किसिमका साना काम गर्यो भने त्यसमा कसैको चासो हुँदैन । तर, जसले उद्योग लगाउछु भनेर वातावरणीय प्रभाव मूल्याङ्कनलगायका सम्पूर्ण प्रक्रिया पुरा गरेर आउँछ उसलाई विभिन्न झण्झट थुपारिन्छ । कुनै व्यवसायीले उद्योग खोल्दैछ भन्ने थाहापाएपछि महादेवले अरुलाई आक्रमण गर्न सेनामेना (भुत, प्रेत, नन्दी भृङ्गी) पठाएझै सवै दलका नेता तथा कार्यकर्ता चन्दा माग्न आइपुग्छन् ।
त्यसैगरी उद्योग संचालनका लागि अनुकुल नीति छैन । नीति बन्छ कार्यान्वयन हुँदैन । उद्योग संचालनका लागि विश्वास हुनुपर्छ, राज्यले उद्योगीलाई विश्वासमा लिन सक्नुपर्छ । र, सम्मान समेत दिनुपर्छ । तर, नेपालमा उद्योग खोल्यो भने भएको इज्जत पनि गुम्छ । राज्यले विभिन्न आरोप लगाएर ठग, चोर फटाहाको क्याटेगोरीमा पुर्याउछ । आफ्नो सम्पति लगाएर वेइजत हुनका लागि को उद्योग संचालन गर्न आउँछ ? देशको कुल ग्राहस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान क्रमश घट्दै गएको छ । यसको मतलव देशमा उद्योग कलकारखाना बन्द हुने क्रम बढेको छ । अहिले वाध्यताले मात्र व्यवसायीहरु उद्योग संचालन गरिरहेका छन् । यदि छुट्कारा पाउने हो भने कुनै पनि व्यवसायीले उद्योग संचालन गर्दैनन् ।
भनेपछि अहिले जेजति पनि उद्योग संचालनमा छन् ति सवै बाध्यताका उपज हुन ?
पक्कै पनि । एक पटक उद्योग लगाएपछि त्यो जालोबाट उम्कन कठिन हुन्छ । उद्योगमा स्थिर पूँजी बढी हुन्छ । जमिन, भवन, मेसिनलगायतका सामानमा ठूलो लगानी भएको हुन्छ । उद्योग बन्द गर्दा त्यो लगानी सवै फस्छ । कमाउनभन्दा पनि आफ्नो लगानीलाई टिकाउनका लागि उद्योग संचालन गरिरहेका छन् ।
देशमा उद्योग कलकारखाना संचालनको ठूलो सम्भावना हुँदाहुँदै पनि हामी आयातमा भर परिरहेका छौं । राज्यले आयातकर्तालाई प्रोत्साहन दिन्छ भने उद्योगीलाई समस्या मात्र थुपार्छ । उद्योग कलकारखाना भनेको त राज्यको सम्पती हो नि । तर, विडम्वना भनौ सरकार राजस्वमुखी हुँदा एकातर्फ उद्योगीहरुले उत्पादन बढाउन सकेका छैनन् भने अर्कातर्फ भएका उत्पादन बेच्नका लागि पनि बजार खोज्न कठिन भइरहेको छ ।
यस्तै हाम्रो प्राथमिकतामा पनि उद्योग तल्लो स्तरमा छ । मिडियाहरुले भर्खर उद्योगलाई प्राथमिकता दिन थालेका छन् । मनोरञ्जन, खेल, शिक्षा, कृषिजस्ता विषयमा सवै मिडियाले पेज छुट्याएका छन् । त्यसमा पनि अझै उद्योगभन्दा व्यापार बढी छ । अहिले जति उद्योग टिकेका छन् उनीहरु वाध्यतामा छन् ।
यस्तो परिपेक्षमा मुलुकको उद्योगमा क्षेत्रमा लगानी आकर्षण तथा प्रवद्र्धनका लागि राज्यले के के गर्नुपर्छ ?
सर्वप्रथम सरकारले दीर्घकालिन नीति ल्याउनुपर्छ । उक्त नीति माथी लगानीकर्तालाई विश्वास दिलाउन सक्नुपर्छ। अहिले हाम्रो समग्र औद्योगिक व्यवसायको ‘कल्चर’ नै नकारात्मक छ । त्यसमा परिवर्तन गर्नु जरुरी छ । उदाहरणका लागि उद्योगी व्यवसायीले कर्मचारीलाई घुसखोरी फटाहा सम्झन्छन् भने कर्मचारीले उद्योगी भनेको त चोर नै हुन भन्ने ठान्छन् । सवै ठाउँमा अस्वस्थ्य प्रतिस्पर्धा छ । एउटा उद्योग संचालनका लागि धेरै त्याग गर्नुपर्छ । तर त्यसको संरक्षण छैन ।
नेपालमा आयातित सामग्री जस्तो बेचेपनि हुन्छ । व्यापारीले कामै नलाग्ने बस्तु आयात गरेर खुलेआम बेचिरहेका छन् । तर, नेपालीले उद्योग लगाएर उत्पादन शुरु गर्यो भने ९९ प्रतिशत गुणस्तरीय छ भने पनि राज्यका निकायले विभिन्न वाहाना बनाएर कारवाही शुरु गर्छन् । मिडियाले पनि वास्तवितकता नै नबुझी उद्योगीले गुणस्तरहिन सामान बेचेर कालाबजारी गर्यो भन्दै दुस्प्रचार गरिदिन्छन् । हरेक क्षेत्रमा स्वस्थ्य र अस्वस्थ्य प्रतिस्पर्धा हुन्छ । तर, यहाँ स्वस्थ्य प्रतिस्पर्धालाई प्रोत्साहन गर्नुको सट्टा कारवाही गरिन्छ । कुनै पनि क्षेत्रमा ग्ल्यामर भएपछि मात्र आकर्षित भइन्छ । तर, नेपालमा उद्योग भनेको के ? यसको महत्व र विशेषता के हो भन्ने नै थाहा छैन । अनि कसरी आउँछ उद्योगमा लगानी । पैसा कमाउनु नै ठूलो कुरा होइन । कुनै पनि मान्छेलाइ एउटा लेवलमा खान लाउन पाए पुग्छ । मिडिया क्षेत्रमा कम पैसामा पनि काम गर्न राजी हुन्छन् किन ? त्यसमा ग्ल्यामर त छ नि । जसले खास उत्पादन गरेर राज्यलाई योगदान दिन्छ त्यसलाई पैसा धेरै चाहिँदैन । तसर्थ उद्योग व्यवसायमा पनि ग्ल्यामर सिर्जना नगरेसम्म लगानी भित्रन कठिन छ ।
लगानी आकर्षणका लागि राज्यले दीर्घकालिन नीति बनाउने सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनु भयो । यसमा निजी क्षेत्रको पनि त भुमिका हुन्छ होला नि ? स्वदेशी तथा विदेशी लगानी अकर्षणका लागि मुलुकको निजी क्षेत्रले कस्तो भूमिका खेलिरहेको छ ?
हामी निजी क्षेत्रले लगानी आकर्षण तथा प्रवद्र्धनको प्रयत्न नगरेका होइनौं । तर, त्यसको लागि राज्यको नीति नै उदार हुनु जरुरी छ । भारतमा मोदी सरकारले विदेशी लगानी भित्र्याउन खुकुलो व्यवस्था गर्याे । फलस्वरुप अहिले विश्वको सवैभन्दा बढी विदेशी लगानी भित्र्याउने मुलुकमा भारत पर्छ । तर, हामी परम्परावादी सोच पालेर बसेका छौं । विदेशबाट खुलम्खुला तयारी सामान आयात गर्न हुने तर विदेशी लगानी भित्र्याउन नुहुने किन ? उदाहरणको लागि नेपालका ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर छन् । सरकारले अझै कृषिमा विदेशी लगानी भित्र्याउन नीतिगत रुपमा बाटो खुला गरेको छैन । खास क्षेत्र भन्दै रोकेर राखेको छ । आधुनिक प्रविधिमा जान विदेशी लगानी चाहिन्छ तर लगानी भित्र्याउन प्रतिवन्ध लगाएपछि कसरी हुन्छ प्रगति ? यदि आधुनिक प्रविधिमा लैजाने हो भने १५ प्रतिशत जनता कृषमा लाग्दा नेपाललाई आवश्यक वस्तु उत्पादन गरेर निर्यात समेत गर्न सकिन्छ । विश्व कृषिमा प्रविधिले क्रान्ति ल्याइसकेको छ तर हामी भने अझै परम्परागत कृषिमा । तसर्थ संघसंस्थाले चाहेर केही हूँदैन राज्यको नीतिले समेट्नुपर्छ ।
तपाई परिसंघलगायत थुप्रै संघसंस्थामा आवद्ध हुनुहुन्छ । ती संस्थाले मुलुकको औद्योगिक व्यवसायमा लगानी आकर्षणका लागि के पहल गरिरहेको छ ?
मैले अघिनै भने निजी क्षेत्रले चाहेर मात्रै केहि हुँदैन, राज्य लाग्नुपर्छ । हाम्रो पहल निरन्तर भैरहन्छ । तर, हाम्रो सरकार र कर्मचारीतन्त्र एकदमै सङकिर्ण छ । एउटा व्यवसायिक संस्थाले मन्त्रीलाई भेट्न महिनौं कुर्नुपर्छ । नेपालमा ९/९ महिनामा सरकार परिवर्तन हुन्छ । सरकार परिवर्तनसँगै उसले नीतिगतरुपमा केही न केही परिमार्जन गरेको हुन्छ । यसरी परिवर्तन भइरहने नीतिले गर्दा उद्योगी मारमा पर्छन् ।
प्रसङग बदलौं, तपाई एकातर्फ मुलुकमा उद्योग व्यवसायका लागि वातावरण बनेको छैन भन्नु हुन्छ तर अर्कातर्फ पोल्ट्री व्यवसायमा झण्डै ४ अर्ब रुपैयाँ लगानी गर्नुभएको छ र सफल पनि हुनुभएको छ । लगानीको अनुकुल वातावरण नहुँदा पनि लगानी गर्ने र सफलता हात पार्ने तपाईको सुत्र के हो ?
केही व्यक्तिहरु यस्ता हुन्छन् जो सवै समस्याको जालोलाई फालेर अघि बढ्न चाहन्छन् । म त्यसमध्येको एक हुँ । मसँग दुई वटा उपाय थिए । कि रोएर बस्नु पर्यो कि हासेर । बुद्धिमानी त्यो हुन्छ जो समस्यामा पनि हास्न जान्दछ । केही नयाँ चीज गर्नु नै राम्रो हो ।
मैले यस क्षेत्रको अर्बो लगानी गरेको छु । सोही मात्रामा म माथी बैंकको ऋण पनि थुप्रिएको छ । यो अवस्थासम्म त आइपुगेको छु भने अव किन अघि नबढ्ने ? समस्या पर्यो भन्दैमा रोइ कराइ गरेर बस्नु त भएन नि । समस्या समाधान गर्नकै लागि थप लगानी गर्दै नयाँ नयाँ प्रविधि भित्र्याइरहेको छु ।
पोल्ट्री क्षेत्रमा तपाईले ठूलो लगानी गर्नुभएको छर र लगानी पनि थप्दै जानु भएको छ । यस क्षेत्रमा राम्रो अवसर रहेको देखाउँछ । यस क्षेत्रको भविष्य कस्तो छ ?
उत्पादन गरेपछि बजार आफैले बढाउँदै जाने हो । अर्थात भविष्य पनि आफैले बनाउने हो । बढी उत्पादन गरे पछि पक्कै पनि त्यसको भविश्य हुन्छ । लगानी बृद्धि गरी उत्पादकत्व बढाएपछि बजारमा आफ्नो पहुँच विस्तार गर्न पनि सहज हुन्छ । सरकारको नीति ठिक छैन तथा समाजको हेर्ने दृष्टिकोष राम्रो छैन भन्दैमा आफुले शुरु गरेको व्यवसाय छोड्न त भएन । व्यवसाय संचालन गर्दै जाने क्रममा लगानी पनि थपिँदै गएको छ । पोल्ट्री इन्डष्ट्रीका लागि भर्खरै मात्र सार्वजनिक भएको आधुनिक मेशिन खरिद सम्झौता गरिसकेको छु । आधुनिक प्रविधिसँगै बजारको माग अनुसार उत्पादन बढाउन सक्नुपर्छ, सम्भावना आफै सिर्जना हुन्छ । उत्पादकत्व बृद्धिका लागि पनि लगानी विस्तार जरुरी छ ।
पोल्ट्री उद्योगका लागि नेपालमै प्रशस्त बजार छ कि अन्तरराष्ट्रिय बजार खोज्ने बेला पनि आउन लाग्यो ?
नेपालले कुनै विशिष्ट प्रकारको वस्तु वाहेक अन्य उत्पादन निर्यात गर्न सक्दैन । हामी दुई ठूला मुलुक भारत र चीनको बीचमा छौं । उनीहरुका एउटै कम्पनीले नेपाललाई चाहिने सामान उत्पादन गर्छन भने हामीले कसरी निर्यातको सपना देख्ने ? त्यसमा पनि पोल्ट्री उद्योगबाट निर्यातको कुनै सम्भावना नै छैन ।
नेपालमा वार्षिक १५ देखि २० प्रतिशतले कुखुराको माग बढ्दै गएको छ । यदि केही उद्योगीले उत्पादन नबढाउने हो भने फेरी आयात गर्नुको विकल्प छैन । आयात प्रतिस्थापनकै लागि पनि उत्पादन बढाउनु जरुरी छ । तसर्थ मेरो फोकस भनेको पोल्ट्री व्यवसाय नै हो ।
पोल्ट्रीमा प्राप्त सफलताले अन्य उद्योगमा लगानीका लागि ‘मोेटिभेट’ गरेको छैन ? नयाँ क्षेत्रमा लगानीको कुनै योजना बनाउनु भएको छ कि पोल्ट्रीमै केन्द्रित गर्दै हुनुहुन्छ ?
पोल्ट्री त मुख्य व्यवसाय नै भैहाल्यो । अहिले पनि मेरो धेरै समय यसमै केन्द्रित हुन्छ । अहिलेनै अन्य व्यवसायको लागि कुनै सोच बनाएको छैन । धेरै व्यवसायमा लागेपछि यसमा लगानी गर्ने त्यसका लगानी नगर्ने भन्ने हुँदैन । सवै क्षेत्रका लागि ढोका खुलै छ । समयको माग अनुसार केमा बढी सम्भावना छ त्यसका लगानी गर्दै जाने हो । व्यवसायी भएपछि समय र परिस्थिती अनुसार चल्न जानुपर्छ ।