Logo

लघुवित्तका समस्या हल गर्न नियामकले कडा कदम चाल्नुपर्छ : लघुवित्त बैंकर संघका पुर्वअध्यक्ष बसन्त लम्सालको अन्तर्वार्ता

लघुवित्तका समस्या हल गर्न नियामकले कडा कदम चाल्नुपर्छ : लघुवित्त बैंकर संघका पुर्वअध्यक्ष बसन्त लम्सालको अन्तर्वार्ता



काठमाडौं । सर्वसाधारण नेपालीका लागि सहयोगी बनिरहेको लघुवित्त क्षेत्रमा पछिल्लो समय विभिन्न समस्याहरु देखिएका छन् । लघुवित्तहरु ऋणीबाट ऋण नउठने समस्यामा पर्दै गइरहेका छन् भने लघुवित्तका ऋणीहरु भने ऋण मिनाह गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । केही स्थानमा त लघुवित्तका कर्मचारीहरुमाथि आक्रमणसम्म भएको अवस्था छ । केही दिनअघि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले पनि लघुवित्तका समस्या कम नहुने देखिएको लघुवित्तका सञ्चालकहरुले बताइरहेका छन् । यस्तो अवस्थामा अब लघुवित्त क्षेत्र कसरी अगाडि बढ्छ र आगामी दिनमा लघुवित्त क्षेत्रको उत्थानका लागि के गर्नुपर्ला लगायत विविध विषयमा केन्द्रित रहेर विजय लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत (सिईओ) तथा नेपाल लघुवित्त बैंकर संघका पुर्वअध्यक्ष बसन्त लम्सालसँग बिजखबरका लागि सुमित्रा कार्कीले गरेको कुराकानी :

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि सार्वजनिक गरेको मौद्रिक नीतिले लघुवित्तको समस्या के–के सम्बोधन गर्यो ?

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा लघुवित्त क्षेत्रले राखेका माग तथा सुझावहरु खासै समेटिएको छैन । मौद्रिक नीतिमा राष्ट्र बैंकको मातहतमा लघुवित्तको समस्या समाधानको लागि एउटा अध्ययन समिति बनेको छ । त्यो समितिले दिएको सिफारिस क्रमश लागु गर्दै जाने भनेर भनेको छ । यो समितिले अहिलेसम्म अन्तिम प्रतिवेदन दिएको छैन । यो प्रतिवेदन आएपछि लघुवित्त सम्बन्धनमा आएका सुझावहरु क्रमश लागुगर्दै जाने भन्ने कुरा छ । त्यसमा धेरै कुरा समेटिएर लागु हुन्छ भन्ने आशा छ ।

मौद्रिक नीतिले लघुवित्तको बारेमा धेरै बोलेको छैन । मौद्रिक नीतिमा आएको कुरा मर्जरमा जाने संस्थाको लागि केहि सुबिधाको व्यवस्था गर्ने भनेको छ । मौद्रिक नीतिमा लघुवित्तको कारणले धेरै ठाउँमा वित्तीय पहुँच पुर्याउने काम भएको उल्लेख छ । यसैगरी, अर्को कुरा अब बैंक तथा वित्तीयसंस्थालाई पनि केन्द्रिकृत तथ्यांकजस्तै राष्ट्रिय परिचयपत्रसंग जोड्ने कुरा मौद्रिक नीतिमा उठेको छ । यसले बैंक तथा वित्तीय संस्थालाई कुनै व्यक्तिको विवरण हेर्न सजिलो बनाउँछ । पहिले ‘क’ र ‘ख’ वर्गकोमात्र गणना गर्ने व्यवस्था गर्ने भनिएको थियो । अब ‘ग’ र ‘घ’ कोे पनि डाटाहरु प्रस्तुत गरिने भएको छ । यस्तो व्यवस्था भयो भने बैंकसंग जोडिएको ब्यक्तिको बारेमा जानकारी लिन लघुवित्तले पनि सक्ने भयो । यो एउटा राम्रो कार्यक्रमको सुरुवात हो ।

लघुवित्तका ऋणीहरु अहिले ऋण मिनाहाको माग राखेर आन्दोलन गरिरहेका छन् । किन यस्तो समस्या निम्तियो ?

यसमा मुख्य समस्या पछिल्लो समय लघुवित्तप्रतिको नकारात्मक धारणा बढनु नै हो । अहिले लघुवित्तको बारेमा जुन धारणा विकास भएको छ यसले दीर्घकालसम्म नकारात्मक प्रभाव पार्ने देखिन्छ । लघुवित्तले गाउँ गाउँमा वित्तीय पहुँच पुर्याएका छन् । यसमा ६० लाख मानिसहरु जोडिएका छन् । ३० लाख मान्छेले यस्ता संस्थाबाट ऋण लिएका छन् । गाउँ–गाउँमा लघुवित्तको पहुँच पुगेको छ । बैंक नपुगेको ठाउँमा यस्ता संस्था पुगेर सुविधा दिएका छन् । बिना धितोमा ऋणीलाई पैसा दिएका छन् भने बेरोजगार महिलाहरुलाई रोजगार बनाएका छन् । लघुवित्तले यो ३० वर्षसम्म गरेको मेहनतको परिणाम हो । तर, यो योगदानलाई बिर्सिएर केहि व्यक्तिहरुले लघुवित्त भनेको ठग्ने संस्था हो, नाफा कमाउनेमात्र संस्था हो । यस्ता संस्थालाई बन्द गर्नुपर्छ भनेर यसको बारेमा नकारात्मक धारणाको विकास गरिदै छ । यो लघुवित्त क्षेत्रको दुर्भाग्य हो ।

गाउँमा लघुवित्त संस्था बन्द भयो भने अहिले पनि अप्ठ्यारो अवस्था पर्छ भन्ने मान्छेले बुझेका छैनन् । अहिले पनि मिटरब्याजकिो कारण मानिस सडकमा आइरहेका छन् । लघुवित्त बन्द भयो मिटरब्याजीको रजगज झन बढ्ने देखिन्छ । पछिल्लो समय लघुवित्तप्रतिको व्यवहार र धारणाले लघुवित्तकर्मीको सुरक्षामापनि अप्ठ्यारो अवस्था सिर्जना गरेको छ । यस्तो अवस्था लघुवित्तमा मात्र नभएर बैंकहरुमा पनि नआउला भन्न सकिन्न । आज लघुवित्तको ऋण तिर्न नपरोस भन्दै आन्दोलन गर्नेले भोलि अन्य क्षेत्रमा पनि यस्तो नगर्लान भन्ने ठाउँ छैन । यसकारण नियामक निकायले यसमा विशेष ध्यान दिन आवश्यक छ । यसैगरी, पछिल्लो समय किस्ता असुलीमा समस्या देखिएको छ । किनभने अहिले मन्दीको अवस्था छ ।

लघुवित्तले मिटरब्याजीले जस्तो ब्याज लिए, हामी ब्याज तिर्न सक्दैनौं भन्ने गुनासाहरु आइरहेका छन् । के लघुवित्तले मिटरब्याजीकै जस्तो ब्याजदरमा ऋण लगानी गरिरहेका हुन् ?

यो कुरा एकदमै गलत हो । यो हचुवा आरोप लघुवित्तहरुलाई लगाइएको छ । यदि लघुवित्तले मिटरब्याजीको तरिकाले ब्याज लिएको छ भने त्यो कहाँ भइरहेको छ ? कुन व्यक्तिलाई कुन संस्थाले कहाँ ब्याज धेरै लिएको छ । त्यो कुरा लिएर सम्बन्धित निकायसँग गुनासो गर्न आउनुपर्यो । अहिलेसम्म कुन लघुवित्तले बढी ब्याज लियो भनेर न त राष्ट्र बैंकमा उजुरी आएको छ, न लघुवित्त बैंकर संघमा नै यस्ता गुनासाहरु आएका छन् । यदि त्यस्तो महँगो ब्याज लिएको छ भने डकुमेन्टसहित उजुरी गर्न आउनुस हामी कारबाही गर्छौं । हामीले कारबाही गरेनौं भने पनि नेपाल राष्ट्र बैंकले गुनासो सुनुवाई डेक्स भनेर स्थापना गरेको छ । त्यहाँ पनि आफ्नो गुनासो राख्नसक्नु हुन्छ ।

मिटब्याजीको अहिले २५ हजार केसहरु दर्ता भएको छ । हाम्रो एउटा पनि यस्तो केस आएको छैन । सिडियो कार्यलयमा लघुवित्तले मिटर ब्याजीको काम गर्यो भनेर अहिलेसम्म एउटा पनि केस आएको मैले भेटेको छैन । लघुवित्तले धेरै ब्याज लिएको छ वा अन्य कुरामा कसैलाई दुख दिएको छ भने औपचारिक रुपमा नियमन गर्ने निकायमा केस फाइल गर्नुस । हामीसम्म आए पनि समस्याको समाधान कसरी गर्न सकिन्छ, त्यो गर्न हामी तयार छौं । तर, सडकमा गएर आन्दोलन गरेर प्रमाणबिना आरोप लगाएर समस्याको समाधान कसरी हुन्छ ?

लघुवित्तहरुको पनि कमजोरी त हुन सक्छन् नि ?

पक्कै पनि लघुवित्तहरुका पनि केही कमजोरी होलान । जस्तो एउटै व्यक्तिलाई धेरै ऋण दिए । व्यक्तिले चाइनेभन्दा बी ऋण पायो । उसले ऋणको दुरुपयोग गर्यो । यस्तो विषयमा संस्थाको पनि कमजोरी छ । व्यक्तिको पनि कमजोरी छ । अहिले संस्थाले ऋण तिरभन्दा ऋणीसंग पैसा छैन । अहिले ब्यापार छैन । सबै क्षेत्र प्रायःठप्प छन् । पैसा छैन, पैसा तिर्न सक्दैनन् । तर, लघुवित्तले पैसा उठाउनुपर्छ त्यो स्वभाविक प्रक्रिया नै हो । एउटा संस्थाले ऋण तिर भन्छ । अर्को संस्थाले त्यही भनेर फोन गरेको हुन्छ । पैसा नर्तिदा कर्मचारीले त लगानी गरेको पैसा जसरी पनि उठाउनु पर्यो । उसले कडा स्वरमा बोल्छ, पैसा तिर भनेर कराउछ । त्यही समस्या भएको हो । ऋणीले दवाब दियो लघुवित्तले भनेर लगाएको आरोप पनि त्यही हो ।

मन्दीको कारण अहिले लघुवित्तको मात्र नभएर बैंकिङ क्षेत्रमा पनि यो समस्या आएको छ । यसमा लघुवित्त पनि कहि चुकेका होलान । किन भने लघुवित्तले पहिला सदस्य खोजी–खोजी ऋण दिए । लघुवित्तले ऋण दिएपछि हेर्नुपथ्र्यो वा ऋण दिने बेला पनि अनुसन्धान गरेर ऋण दिनुपथ्र्यो । त्यो कुरा भएन, यसकारण लघुवित्तको गल्ती छैन भन्न मिल्दैन । यो विगतमा भएको कमजोरी हो । यसमा लघुवित्त तथा नियामक निकाय दुबै चुकेका छन् । नियामक निकायले त्यो बेलादेखि नै कन्ट्रोल गरेको भए यस्तो अवस्था आउँदैन थियो कि ? त्यो बेला राष्ट्र बैंकले लाइसेन्सदिने कुरामा नै ९१ वटा लघुवित्त सञ्चालनमा आएका थिए । धेरै संख्या भएपघि खराब प्रवृत्तिको विकास हुन्छ ।

अहिले आएको समस्या पनि त्यसको कारण हो । लघुवित्तले गल्ती गरेको नै छैन्न भन्ने हैन । पछिल्लो समय लघुवित्त नाफासंग जोडियो भन्ने गुनासाहरु पनि आएको छ । त्यसमा पनि हाम्रो कमजोरी छ । यो कमजोरी किन भयो भने लघुवित्तको मोडालीटी सोसल बैंकिङ भनेर विकास भयो । सोसल बैंकिङको कुरा मानसिकतामा आयो । बंगलादेशको ग्रामिण विकास बैंकको कपी हामीले गरेउ । त्यहाँ सोसल बैंकिङको मोडालीटीमा यस्तो संस्था चलेको छ । तर, यहाँ आउँदा के भयो भने मोडालीटी एकालिर भयो अनि काम अक्रो तिर भयो । यसलाई रेगुलेसनको पार्टले बाटो देखाउँनु पथ्र्यो । तर, रेगुलेशनको पार्ट नै यहाँ चुकेको छ । रेगुलेसनले नै यसलाई ‘घ’ वर्षमा दर्तागर्ने, सेयर बजारमा दर्ता गर्ने, कर्पोरेट ट्याक्स तिर्नुपर्ने लगायत यो रेगुलेसन त्यो रेगुलेसन भनेर एकदम कडा खालको व्यवस्थाहरु गर्दै गयो । कम्पनीको रुपमा चलाउ, प्रोफेशनल रुपमा चलाउँ भनेर राष्ट्र बैंले त्यो निर्देशन दियो । हाम्रो मानसिकता फरक र रेगुलेसन फरक तरिकाको भयो ।

ऋणीहरुको लघुवित्तलाई आरोप छ कि लघुवित्तले हाम्रो उठीबास लगाए । लघुवित्तले ऋणीलाई उठिबास नै लगाएको हो ?

पहिलो कुरा लघुवित्तले कुनै पनि ऋणीलाई उठीबास लगाएको छैन । उठीबास लगायो भनेर के कुरा आएको छ भने ‘कुनै एउटा श्रीमान श्रीमतीले लघुवित्तबाट ऋण लिएर केहि व्यवसाय गरे । पहिले व्यवसाय राम्रो थियो । पछि श्रीमानले व्यवसाय छाडेर अर्काे बिहे गरे । मैले व्यवसाय चलाउन सकिन, व्यवसाय घाटामा गयो । लघुवित्तबाट लिएको ऋण तिनृ सकिन, उठीबास लगायो भन्दै केहीले हल्ला गरेका छन् । लघुवित्तले उठिबास लगायो भन्ने कुरा यसरी आएको छ । यसमा लघुवित्तको गल्ती कहाँ छ । ती व्यक्तिले ऋण लिदा घर धितोमा राखेका छन् । ऋण नउठेपछि लघुवित्तले घर लिमाम गर्यो । यो त लघुवित्तको कमजोरी हैन । अर्को कुरा हामीले ऋण लगानी गर्दा कुनै पनि डाटाको भरमा गरेका छैनौं । व्यक्तिलाई हेरेर यत्तिको व्यक्तिले ऋण तिर्छ, बदमासी गर्दैन भनेर विश्वासको भरमा ऋण दिएका हुन्छौं । तर, ऋणीले विश्वासघात गरेर अन्यत्रबाट पनि ऋण लिएको हुन्छ । एउटै व्यक्तिले धेरै संस्थाबाट ऋण लिदा समस्या देखिएको छ । त्यो कुरा अनुगमन गर्ने नियामक निकायले विशेष रुपमा सम्बोधन गर्नुपर्छ र ऋणीले ऋण लिने विषयमा विशेष व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्