Logo

बोर्डको भिजन नयाँ छ, अब कार्यशैली पनि नयाँ हुन्छ

बोर्डको भिजन नयाँ छ, अब कार्यशैली पनि नयाँ हुन्छ


रामराजा श्रेष्ठ
27
Shares

सरकारले गत हप्तामात्रै लगानीबोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । यसअघिका सीईओ राधेश पन्तको कार्यकाल बाँकी नै रहँदा अधिकारीलाई सरकारले नियुक्त गरेको हो । ठूला लगानीका आयोजना (दुई अर्ब भन्दा बढी) भित्राउन गठन गरिएको बोर्डले यसअघि केहि महत्वपूर्ण लगानी भित्राएपनि यसको अपेक्षा अनुसार काम हुन नसकिरहेको टिप्पणी सुनिन्छन् । बोर्डकै स्थापना पछि पनि लगानीमा सरकारले अपनाएको एकद्वार नीति अझै लागु हुन सकेको छैन । यीनै सन्दर्भसहित नवनियुुक्त अधिकारीसँग बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठरक्षा रेग्मीले गरेको कुराकानी :

लगानी बोर्डको प्रमुखमा नियुक्त हुनु भएकोमा बिजखबरको तर्फबाट यहाँलाई बधाइ ।
धन्यवाद

देशलाइ आवश्यक वैदेशिक लगानी भित्र्याउने जिम्मेवारी पाउनुभएको छ । यो भुमिकालाई पुरा गर्न तपाइका अबका योजना के हुन् ?
लगानी बोर्डको स्थापना, उद्देश्य र यसको क्षेत्र ऐनले नै तोकेको छ । बोर्डभित्रै पनि ‘हाई पावर’ बोर्ड छ । जसको अध्यक्षता प्रधानमन्त्री स्वयमले नै गर्नुहुन्छ ।

विशेषगरी ठूला परियोजना जसले आन्तरिक रुपमा लगानीको लागि रकम जुटाउन सकेको छैन ,सरकारको फण्डबाट पनि काम अघि बढाउन सकिएको छैन, त्यस्ता आयोजनामा ‘फाइनान्सियल रिसोर्स’ जुटाउन बोर्डले प्राथमिकता दिन्छ । बोर्डसँग अहिले पनि एक दर्जन बढी आयोजना छन् । हाल कायम आयोजनालाई त्यहिं स्टेपबाट अघि बढाउन बोर्ड लाग्ने छ ।

बोर्ड पुरानो संस्था होइन । यसको स्थापना भएको साढे ४ वर्ष मात्र भएको छ । नयाँ संस्थासँग पर्याप्त आयोजना हुने कुरा भएन । विशेषगरी सरकार तथा सम्बन्धित मन्त्रालयको कार्यक्रममा भएको आयोजनाहरु जसमा स्रोतको अभाव भएमा विदेशी त्यस्ता आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन बोर्डको भुमिका रहने छ । त्यसैगरी त्यस्ता आयोजनामा विदेशी लगानीकर्तालाई कसरी आकर्षित गर्ने भन्ने विषय सबैभन्दा महत्वपूर्ण पक्ष हो । त्यसका लागि अहिले काम गरिरहेका टीमलाई लिएर बढ्ने छौं । साथै विदेशी लगानीमा कस्ता आयोजना बनाउने र किन बनाउने भन्ने विषय स्पष्ट हुनु जरुरी छ । त्यस्ता विषयलाई प्रष्ट बनाई निर्धक्क भएर विदेशी लगानी भित्र्याउन लाग्ने छौं ।

लगानी बोर्डले अपेक्षा अनुसार काम गर्न सकेन भन्ने गुनासो यसअघि सुनिदै आएको थियो । यो अवस्थामा तपाइलाई पनि त चुनौति छ नी ?
हामी पूर्ण सन्तुष्ट खोज्यौं भने अघि बढ्न सक्दैनौ । कुनै विषयमा अघि यस्ता तत्वहरुले पनि काम गर्छ, जुन अहिले बोर्डमा भइरहेको छ । बोर्ड स्थापना भएकाले शुरुको समयमा सामान्य आधार तय गर्नै समय लाग्छ । सधै सबै कुरा आशा गरे अनुसारको नहुन पनि सक्छ । त्यस्तै कतिपय विषयमा काुननी अड्चन पनि देखिन्छ । त्यस्ता विवाद समाधानमा समय लागेकै कारण काम अघि बढ्न सकेको थिएन ।

संस्थाको स्थापना नयाँ सोच र भिजन अनुसार भएको छ । तर हाम्रो ऐन नियम तथा कार्यशैली पुरानै छ । संस्थाको उद्देश्य र हाम्रो कार्यशैलीबीच मेल नहुँदा सोचे अनुरुप काम अघि बढ्न सकेको छैन । अबका दिनमा हाम्रो कार्यशैली, सोच र नियम कानुनलाई समयसापेक्ष परिवर्तन गर्नु जरुरी छ ।

पूर्वाधार क्षेत्रमा ठूला विदेशी लगानी आउछन् तर स्थानीय निकायमा कार्यान्वयन गर्न समस्या देखिएका उदाहरण छन् । यस्ता योजनालाई अब कसरी पुरा गर्ने सोंच बनाउनुभएको छ ।

त्यसको पनि उपाय छ । कार्यान्वयनमा जानुभन्दा पहिले नै समस्याको पहिचान गर्नुपर्छ । अहिलेको मुख्य समस्या जग्गा अधिग्रहणमा छ । त्यसमा के व्यवस्था छ, कसरी गर्दा फाइदा हुन्छ अथवा कुनै पनि पक्षलाई हानी नहुने गरी काम अघि बढाउनुपर्छ । यसमा व्यक्तिगत हितभन्दा पनि राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्छ । हाल त्यस्ता खालका धेरै समस्या समाधान भइसकेका छन् । आगामी दिनमा बोर्डले लगानीकर्ता र स्थानीय निकायसँग समन्वय गरेर काम गर्ने छ ।

एकद्वार नीति अन्तरगत ठूला विदेशी लगानी भित्र्याउन बोर्ड गठन गरिएको छ तर कार्यान्वयनका लागि अहिले पनि दर्जनौं निकायमा फाइल बोकेर धाउनुपर्ने बाध्यता छ । यहि अवस्था रहिरहने हो भने विदेशी लगानी कसरी भित्र्याउन सकिन्छ ?
पक्कै पनि बोर्डमा यस्ता खालका समस्या धेरै छन् । यदि सहज रुपमा लगानी भित्र्याउने हो भने लगानीकर्तालाई ‘वान स्टप सर्भिस’ दिनु पर्छ । एकद्वार नीति अन्तरगत लगानी भित्र्याउने भन्ने अनि कार्यान्वयको लागि धेरै ठाउँमा धाउनु पर्ने हो भने बोर्डको अर्थ रहँदैन । अहिले पनि कतिपय लगानीकर्ताले विभिन्न निकाय तथा स्थानीय स्तरमा समस्या भोग्नु परेको विषय आइरहेको छ । वान स्टप सर्भिस भएन भने वैदेशिक लगानी भित्र्याउन कठिन हुने छ । जसको लागि बोर्डले छुट्टै नियम कानुन बनाउने छ । यदि तत्काल छुट्टै नियम कानुन सम्भव भएन भने पनि हालको जस्तो दर्जनौं निकायमा फाइल बोकेर धाउनुपर्ने परिपाटीको भने अन्त्य गर्ने छौं । जसको लागि यससँग सम्बन्धित मन्त्रालयसँग प्रत्यक्ष रुपमा सहकार्य गरेर काम गरिने छ ।

Maha Prasad Adhikari

यथार्थ भनौ वा वास्तविकता । बोर्ड भारत परस्त भयो अन्य देशको लगानी भित्र्याउन चासो दिएन भन्ने आरोप लाग्दै आएको छ नि ?
आगामी दिनमा बोर्डले देशभन्दा पनि व्यवसायीको प्रस्ताव हेरेर लगानी भित्र्याउछ । विदेशी लगानी भित्र्याउने भन्दैमा जस्तो पायो त्यस्तोलाई स्वीकृति दिएर हुँदैन । विदेशी लगानी भित्रदा देशलाई फाइदा पनि हुनु पर्यो नि । अहिले बोर्डमा आएका परियोजना हेर्दा पक्कै भारतीयको बढी छ । बोर्ड गठन हुने वित्तिकै भारतको प्रस्ताव बढी आएकाले सोही अनुरुप स्वीकृति पाएका हुन् । अब यो वा त्यो देशभन्दा पनि देशको लागि हित हुने खालको प्रस्ताव जसले ल्याउँछ त्यसैलाई स्वीकृति दिइने छ ।

अहिलेसम्मका उपलब्धिलाई हेर्दा बोर्ड जलविद्युत क्षेत्रमा मात्र केन्द्रित भएको देखिन्छ । अरु क्षेत्रमा लगानी भित्र्याउने केही त्यस्ता ठोस योजना छ कि ?
सुरुका केही वैदेशिक लगानी जलविद्युतमा केन्द्रित भए । बोर्डले पनि जलविद्युतलाई प्राथमिकतामा राखेको हो । यसो भन्दैमा जलविद्युत आयोजनालाई मात्र अघि बढाएका छैनौं । यससँगै अन्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौ । पछिल्लो समय उपत्यकाको फोहोर व्यवस्थापनमा पनि काम अघि बढाएका छौं । त्यस्तै, हामीले विण्ड इनर्जी तथा मेट्रो रेलजस्ता योजना पनि अघि सारेका छौं । यी योजनालाई छिटै कार्यान्वयनको चरणमा ल्याउने प्रयास गर्नेछौं ।

राष्ट्र बैंङ्कजस्तो स्वायत्त निकायमा बसेर काम गरेको व्यक्ति तर बोर्ड जस्तो बढी राजनीति हावी हुने निकायमा आउनु भएको छ । यसको चुनौती कसरी सामना गर्नुहुन्छ ?
निश्चय पनि मेरा लागि यो ठूलो चुनौती हो । राष्ट्र बैंक आफ्नै नियम काननुमा चलेको स्वायत्त निकाय हो । तर, बोर्डमा निजी क्षेत्रलाई साथमा लिएर विदेशी लगानी भित्र्याउनु पर्ने हुन्छ । यसमा विभिन्न आस्था भएका राजनीतिक पार्टीको पनि स्वार्थ बाझिन सक्छन् । देशमा ठूला वैदेशिक लगानी पनि भित्र्याउनु छ तर सवैलाई साथमा लिएर । यो सानो काम होइन । तर, त्यस्ता खालका चुनौती थेग्नसक्ने क्षमता भएकाले नै यो स्थानमा आएको हुँ । जसका लागि केही लचकता अपनाउनु पर्ने हुन्छ । त्यसका लागि तयार छु । सबैलाई साथमा लिएर अघि बढ्ने छौं ।

नेपालको लार्ज प्रोजेक्ट फाइनान्सिङमा अबको तपाइको भुमिका कस्तो रहन्छ ?
बोर्डको काम लगानी भित्र्याउने मात्र होइन । लगानीकर्तालाई सहजीकरण गर्र्नु पनि हो । मैले लामो समय राष्ट्र बैंकमा विताए । राष्ट्र बैंकमा रहदा देश भित्र तथा अन्य देशका बैंक वित्तीय संस्थासँग समन्वय गरेर काम गरे । बोर्डले स्वीकृति दिएका कतिपय ठूला आयोजनालाई वित्तीय संकट पर्न सक्छ । यस्तो अवस्थामा आफ्ना पुराना इफोर्ट प्रयोग गरेर लगानी समेत जुटाइदिने काम गर्ने छु । जसको लागि म सक्षम छु ।

प्रतिक्रिया दिनुहोस्