प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको भन्सार शुल्क हटाएपछि डन्डी उद्योगीहरु दुई विचारमा विभाजित छन् । एकथरी, नयाँ प्रावधानले बिलेट आयातमा आधारित उद्योगहरु मारमा पर्ने तर्कसहित यसको विरोधमा छन् । अर्कोथरी स्पञ्ज आईरनको भन्सार छुटले नेपालको औद्योगिक क्रान्तिमा सहयोग पुग्ने बताइरहेका छन् । अझ स्पञ्ज आईरन र एमएस बिलेट आयातमा कायम भन्सार दरको भिन्नता कम भएको समर्थकहरुको भनाई छ । यो अन्तरवार्तामा हामीले भन्सार छुटको स्वागत गर्ने कित्ताका नेपाल स्टील बिलेट उत्पादक संघका अध्यक्ष विष्णुप्रसाद न्यौपानेसँग यसबारे प्रष्ट हुने प्रयास गरेका छौं । प्रस्तुत छ, बिजखबरका रामराजा श्रेष्ठले न्यौपानेसँग गरेको कुराकानीः
स्पञ्ज आईरनमा भन्सार छुटको नयाँ व्यवस्थापछि डन्डी उत्पादकहरु नै विभाजित छन् । एउटै प्रावधानले कोही खुसी हुने अनि अर्कोचाहीं दुःखी हुने परिस्थिति किन आयो ?
नेपालमा औद्योगिकरण गर्ने हो, नेपालमै स्टिल उत्पादन गरेर आयातलाई प्रतिस्थान गर्ने हो भने यहिँ एमएस बिलेट उत्पादन गर्नुपर्छ भनेर विगत ३ बर्षदेखि हामीले भन्दै आएका थियौं । नेपालभित्र वास्तवमै डण्डी उद्योगलाई प्रवद्र्धन गर्ने हो भने पहिलो चरणमा स्पञ्ज आईरन आयात गरेर बिलेट बनाउने हो । त्यसपश्चात स्पञ्ज आईरन पनि नेपालमै बनाउनु पर्छ भन्ने हाम्रो उद्देश्य हो । नेपालमा वास्तविक डण्डी उद्योग स्थापना गर्ने प्रयास तीन बर्ष पछि आएर केही भएपनि सम्बोधन भएको छ ।
अहिले केही उद्योगीहरुले सिमित उद्योगीलाई फाइदा भयो अन्यलाई घाटा भयो भनेर दुष्प्रचार गर्नुभएको छ । हामीले तीन बर्षदेखि यहिं माग राख्दै आएका छौं । कुनै पनि डण्डी उद्योगले यहिँ प्लाण्ट राखेर एमएस बिलेट उत्पादन गर्ने हो भने ९ महिना भित्रै सम्भव हुन्छ । तर केही उद्योगीहरुले हतारमा ल्याइयो भनेर विरोध गरेको देखिएको छ । हामीले स्पञ्ज आईरन र एमएस बिलेटको भन्सारदर कम्तीमा १० प्रतिशत फरक हुनुपर्छ भनेर पटक पटक माग राख्दै कार्यान्यनका लागि जोड दिँदै आएका थियौं । हामीले यस विषयमा अर्थ मन्त्रालय, भन्सार, राजस्व परामर्श समिति, निजी क्षेत्रका छाता संगठनहरुलाई सम्बोधन गरेर धेरै पत्र लेखेका छौं । हामीले यो कुनै एउटा व्यक्तिको हितको लागि माग गरेका थिएनौं । देशमा औद्योगिकरण गर्न यो माग राखिएको थियो ।
अहिलेकै कुरा गर्दा नेपालमा ९ ओटा उद्योगले स्पञ्ज आईरन ल्याएर एमएस बिलेट उत्पादन गर्दै आएका छन् भने थप ३ ओटा उत्पादन थाल्ने चरणमा छन् । जसबाट उत्पादित बिलेटले नेपालको ६० प्रतिशत माग धान्ने छ । उदाहरणका लागि हिजोका दिनमा नेपालमै क्लिङकर उत्पादन गर्नुपर्छ, आयातित क्लिङ्मा भन्सारदर बढाउनुपर्छ भन्दा यस्तै खालका विरोध आएका थिए । तत्कालिन समयमा सरकारले नेपाली क्लिङ्कर उत्पादन गर्नेलाई प्रोत्साहन दिँदा अहिले हामी सिमेन्टमा आत्मनिर्भर भएका छौं । रह्यो कुरा डण्डी उद्योगीको विरोधको । उहाँहरुले यसरी स्पञ्जमा छुट दिँदा मुल्य वृद्धि हुन्छ भन्नु भएको छ । जुन कुरा सरासर गलत छ ।
नेपालमै सहज रुपमा स्पञ्ज ल्याएर बिलेट बनाएर डण्डी उत्पादन गर्दा उपभोक्ताले सुलभ मुल्यमा पाउँछन्, गुणस्तरीय सामान पनि दिन सकिन्छ । यसरी स्पञ्ज आईरनबाट बिलेट बनाउदा ठूलो मात्रामा नेपाली बिजुली खपत हुन्छ, अर्कोतिर नेपालीले काम पनि पाउँछन् । अहिले नेपालको पत्रु फलाम पनि त्यहिँ प्रयोग हुन्छ भने भ्यालु एडिसन उच्च रुपमा बढ्छ ।
तर पत्रु फलामको प्रयोग गरेर बिलेट उत्पादन गर्दा गुणस्तर खस्किन्छ भन्ने बिलेट आयातकर्ताहरुको आरोप छ नि ?
यो एकदमै हाँस्यास्पद कुरा हो । मेरो च्यालेन्ज छ, अहिले डण्डी उद्योगीले कहाँ कहाँबाट बिलेट आयात गर्नुहुन्छ र त्यसरी बनाईएको बिलेट कति प्रतिशत पत्रु प्रयोग हुन्छ ? उहाँहरुलाई यसको विस्तृतमा डाटा दिन सक्छु । पहिलो कुरा त माग अनुरुप पत्रु पाईंदैन । दोस्रो यो स्पञ्ज आईरनभन्दा पनि राम्रो बस्तु हो, यो महङ्गो पनि छ । त्यसैकारण हामीले पत्रु होइन, स्पञ्ज आईरन आयात गर्नु दिनुस भनेर माग राखेका हौं । जसले गर्दा कम लागतमा डण्डी उत्पादन गर्न सकियोस् । पत्रुमा ९५ प्रतिशतदेखि शतप्रतिसम्म स्टिल हुन्छ । उदाहरणका लागि हिजोका दिनमा २४ क्यारेटको सुनको गहनालाई पगालेर पुनः बनाउँदा त्यो सुनै काम लाग्दैन भनेजस्तै हो । अझै पनि म दाबाका साथ भन्छु अन्य उद्योगीहरुले आयात गरेको बिलेट भन्दा नेपाली उद्योगबाट उत्पादित बिलेट गुणस्तरीय छ । नेपालमा उत्पादित बिलेटको गुणस्तर विभागले गुणस्तरको चेकजाँच गर्छ, तर आयातित बिलेटको कसले चेकजाँच गर्छ ? आयात गर्दै डण्डी बनाएर बेचिरहनु भएको छ । अहिले पनि नेपाली उद्योगीहरुसँग हजारौं टनमा बिलेट स्टकमा छन् । मेरो आग्रह के छ भने त्यसमध्येबाट कुनै नमुना लिएर परीक्षण गर्नुस त्यसमा कुनै खराबी देखियो वा आयातित बिलेटभन्दा उच्च गुणस्तर भएन भने सो विषयमा बहस गर्न आउनुस ।
तपाईंको मतलब बिलेटभन्दा स्पञ्ज आयात गरेर डन्डीको उत्पादन गर्दा गुणस्तर बढी हुन्छ, भ्यालु एड बढी हुन्छ ?
भारतबाट बिलेट आयात गरेर डण्डी बनाउनु भनेको ‘सेमी ट्रेडिङ’ हो । यसरी बिलेट आयात गरेर डण्डी उत्पादन गर्दा १० प्रतिशतभन्दा कम मात्रै भ्यालु एड हुन्छ । उदाहरणका लागि स्टिल बिलेट आयात गरेर डण्डी बनाउदा प्रति टन ५ हजार रुपैयाँ भ्यालु एड र १ सय युनिट बिद्युत खपत हुन्छ भने स्पञ्ज आइरन आयात गरेर डण्डी बनाउँदा प्रतिटन २५ हजार भ्यालुएड हुन्छ भने ८ देखि ९ सय युनिट विद्युत खपत हुन्छ । हिजोका दिनमा सिमेन्ट वा डण्डी आयात गर्दा भ्यालु एड थिएन । तर उद्योग लगाएर क्लिङ्कर र बिलेट आयात गरेर यहिँ सिमेन्ट र डण्डी उत्पादन गर्दा सामान्य भएपनि भ्यालुएड भयो । अबका दिनमा स्पञ्ज आईरनबाट बिलेट र त्यहिं बिलेटबाट डण्डी उत्पादन गर्दा न्युनतम ५० प्रतिशतभन्दा बढि भ्यालुएड हुन्छ ।
‘अहिले जुन खालको विरोध भैरहेको छ यो भनेको आफूपनि नयाँ प्रविधिमा गएर देशभित्रै उद्योग स्थापना गर्न नसक्ने अनि अरुलाई पनि गर्न नदिने गतल मानसिकता मात्रै हो ।’
स्पञ्ज आईरन ल्याएर बिलेट उत्पादन गरेर डण्डी उत्पादन गर्दा आयात प्रतिस्थान हुनुका साथै विदेशी मुद्रा बाहिरिनबाट जोगिने छ, भने ठूलो मात्रामा रोजगारी सिर्जना हुनेछ । उदाहरणका लागि हिजोका दिनमा नेपालमै क्लिङ्कर उत्पादन गर्दा रातोमाटो मिसाईन्छ भनेर हल्ला गरिन्थ्यो । त्यसको कच्चा पदार्थनै रातो मोटो हो त अनि के मिसाउने ? अहिले बिलेट उत्पादन गर्दा पत्रु मिसाउँछ भन्न थालेका छन् । पत्रु नै यसको सबैभन्दा राम्रो कच्चा पदार्थ हो भने अरु के मिसाउने त ? जुन हल्ला गरिएको छ, यो विरोधका लागि विरोध मात्रै हो ।
स्पञ्ज आइरनमा दिइएको सहुलियतले त नेपालमा सञ्चालित २४ ओटा उद्योग बन्द हुन्छन्, रोजगारी गुम्छ भन्ने कुरा आएको छ । तपाईंहरु फेरि औद्योगिक क्रान्ति हुन्छ भन्नुहुन्छ । किन फरक फरक कुरा आयो ?
हामीले हिजोका दिन आयातित बिलेटबाट डण्डी बनाउथ्यौ । तर हामीले बिलेट पनि नेपालमै बनाउनुपर्छ भनेका हौं अर्थात स्पञ्ज आईरन आयात गरेर बिलेट उत्पादन गर्ने । जे गरेपनि बिलेटबाट डण्डी बनाउने प्रक्रिया यथावत नै चलिरहन्छ नि । अहिले बिलेट बनाउने प्रक्रिया थप गर्ने हो । यसबाट नयाँ उद्योग स्थापना हुन्छ । उद्योग थपिँदा कसरी रोजगारी गुम्छ ? बिलेट उत्पादन भएपछि डण्डी बनाउने प्रक्रिया सबैको उद्योगमा एउटै हो । कामदार बराबर चाहिन्छ । तर त्यसरी एउटै उद्योगबाट बिलेट उत्पादन गरेर डण्डी बनाउँदा खर्च चाहिँ केही हदसम्म कम हुन आउँछ । अर्को कुरा स्पञ्ज आईरन ल्याएर बिलेट उत्पादन गर्दा हामीलाई मात्र छुट हैन नि । सबैले पाउँछन् । हामीले ३ बर्षदेखि यहिँ माग राख्दै आएका छौं, ९ महिना भित्र उद्योग स्थापना गरेर सञ्चालन गर्न सकिनेमा विरोध मात्रै गर्नुहुन्छ । यस विषयमा रोलिङ मिल एसोसिएसन, नेपाल स्टील बिलेट उत्पादन संघ लगायत विभिन्न प्लेटफर्ममा छलफल भएको थियो । देशमा रोजगारी सिर्जना हुनुका साथै ठूलो मात्रामा भ्यालु एड हुने विषयमा किन विरोध गर्दै हुनुहुन्छ मैले बुझन सकेको छैन ।
अर्को कुरा नेपालमा क्लिङ्कर उत्पादनमा छुट दिँदा क्लिङ्कर आयात गर्ने सबै उद्योग बन्द हुन्छ भनेर विरोध भएको थियो । अहिले नेपालमा ६६ ओटा सिमेन्ट उद्योग छन् भने १६ ओटाले मात्रै आफैले क्लिङ्कर उत्पादन गर्छ । तर सबै उद्योग चलिरहेकै छन् नि । तसर्थ यसले कसैलाई फाइदा कसैलाई घाटा भन्दा पनि समग्रमा देश र उपभोक्ताको हितमा छ ।
तपाईंहरु माथि एउटा गम्भिर आरोप पनि छ नि । यहाँहरुसहित केही सिमित ठूला उद्योगीले नीति निर्मार्तालाई आर्थिक प्रलोभनमा पारेर स्पञ्ज आईरनमा भन्सार छुट गराउन सफल हुनुभयो । यस्तै गर्नुभएको होे र ?
जसको जवाफ छैन, त्यस्ता प्रश्न चिह्न खडा गरेर कुनै औचित्य रहँदैन । विना प्रमाणका मनगणन्ते कुरा गर्नुको कुनै अर्थ हुँदैन । अर्को कुरा सरकारले देशमा औद्योगिकरण गर्न यो व्यवस्था तीन बर्ष अघि नै लागू गर्न पर्दथ्यो । स्पञ्ज आईरन भनेको कच्चा पदार्थ हो भने बिलेट भनेको तयारी बस्तुजस्तै हो । यस्तो बस्तु आयातमा गर्दा भन्सारदरमा कम्तीमा १० प्रतिशत भिन्नता हुनुपर्छ भन्ने हाम्रो माग यथावत नै छ । तर अहिले जम्मा ४.७५ प्रतिशतको मात्र फरक छ । अन्तःशुल्कमा खासै फरक छैन । अहिले सरकारले बिलेट उद्योगलाई जुन् छुट दिएको छ त्यो देशमा डण्डी उत्पादनमा औद्योगिक क्रान्तिको एउटा खुड्किलो मात्रै चढेको हो । यदि वास्तविक रुपमा स्वदेशमै उद्योग लगाएर डण्डी उत्पादन गर्ने हो भने अझै पनि भन्सार दरमा दिईने छुट पुगेको छैन ।
अर्को कुरा सरकारले यो छुट कुनै एउटा उद्योग विशेषका लागि दिएको हैन । यो व्यवस्था भित्र रहेर सबै उद्योगीले स्पञ्ज आयात गरेर बिलेट उत्पादन गर्न सक्छन । यदि बैंक तथा रि–इन्स्योरेन्स जस्तो एउटालाई मात्रै लाईसेन्स दिएको भए कार्टेलिङ भयो एकाधिकार भयो भन्न मिल्थ्यो होला । तर यसमा त सबै उद्योगी समान रुपमा सहभागी हुन पाउँछन् । यदि कसैले चाहन्छ भने भोलीनै उद्योग दर्ता गरेर ९ महिना भित्र उत्पादन थाल्न सक्छ । तर, अहिले साथीहरु आफू चाहिँ देशको हितमा हुने काम नगर्ने तर कसैले देशभित्रै रोजगारी सिर्जना गरेर औद्योगिक क्रान्ति गर्न खोज्यो भने विरोध मात्रै गर्दै हुनुहुन्छ । यो भनेको आफूपनि नयाँ प्रविधिमा गएर देशभित्रै उद्योग स्थापना गर्न नसक्ने अनि अरुलाई पनि गर्न नदिने गतल मानसिकता मात्रै हो ।
विश्वभरकै इतिहास हेर्ने हो भने ब्याकवार्ड इन्टिग्रेशनबाटै देश विकास हुँदै आएको छ । हामी जसरी अहिले व्यापार मात्रै गर्ने मानसिकताबाट ग्रसित भएका छौं यसरी कहिले पनि देश विकास हुँदैन । उदाहरणका लागि भारतमा मारुती गाडि बन्न सुरु गर्दा ८५ प्रतिशत सामान आयात हुन्थ्यो । तर अहिले ९० प्रतिशत भारतमै बन्छ भने १० प्रतिशत मात्रै आयात हुँदै आएको छ । अहिले जसरी हामी सिमेन्ट निर्यात गर्न सक्ने अवस्थमा पुगेका छौं, त्यसरीनै भोलीका दिनमा डण्डी पनि निर्यात गर्न सकिन्छ । त्यसका लागि सरकारले आगामी बजेटमा स्पञ्ज आईरन र बिलेट आयातमा लाग्ने भन्सारदरमा १० प्रतिशतको भिन्नता गर्नुपर्छ ।
अहिले धेरै डण्डी उद्योगीहरु यो व्यवस्था तत्काल खारेज हुनुपर्छ अन्यथा यसले मुल्यमा कार्टेलिङ हुन्छ भनिरहेका छन् । तर तपाईहरु त अझै १० प्रतिशतको भिन्नता माग गरिरहनु भएको छ ? तपाईंहरुले कार्टेलिङलाई प्रोत्साहन गर्न त खोज्नुभएको हैन ?
कार्टेलिङ जहाँ हुन्छ, त्यहाँ एउटा वा सिमित व्यक्तिलाई मात्रै लाईसेन्स दिइन्छ । तर सरकारले सबै उद्योगीलाई एउटै सुविधा दिएको छ भने सोही अनुरुप तुरुन्तै उद्योग स्थापना गरेर कार्यान्वयनमा ल्याउन सक्नुहुन्छ । अहिले बिलेट आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगीले प्रति किलोग्राम २ रुपैयाँ महङ्गो पर्छ भन्नु भएको छ । तर नेपालमै बिलेट उत्पादन गर्ने उद्योग त कच्चा पदार्थ र तयारी बस्तुमा एउटै भन्सार दर लगाईदिँदा तीन बर्षदेखि मारमा छौं । यो भनेको तयारी जुत्ता र जुत्ता बनाउने कच्चा पदार्थमा एउटै भन्सारदर लगाएर नेपाली जुत्ता उद्योग फस्टाएर भनेजस्तै हो । यसरी हामी कहिले औद्योगिक क्रान्तिमा जाने ? कहिले स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने ? बरु क्लिङकर उत्पादन गर्न हामीले चुन ढुंगा फरक फरक ठाउँमा खोज्दै हिड्नुपर्छ जसले गर्दा लागत घटीबढी हुन सक्छ । तर स्पञ्ज आईरन त सबैले एउटै ठाउँबाट ल्याउने हो, सबैलाई लाग्ने खर्च एउटै हो ।
‘अहिले सरकारले धौवादी, फुलचोकीदेखि धेरै स्थानमा फलाम उत्खनन गर्दैछ । यदि अहिले हामीले नेपालमै एमएस बिलेट उत्पादन गर्न नथाल्ने हो भने नेपाली खानीबाट निकालिने फलाम (फलामको धाउ) कौडीको मुल्यमा भारत निर्यात गर्नुपर्ने अवस्था आउने छ ।’
यो उद्योग स्थापना गर्न त झनै सहज छ । तसर्थ जो उद्योगीहरु अहिले विरोधमा लाग्नु भएको छ त्योभन्दा स्पञ्ज ल्याएर बिलेट उत्पादनमा लाग्ने हो भने उपभोक्ता, देश र उद्योगी सबैका लागि फाइदाजनक हुनेछ ।
तपाईहरु भन्नुहुन्छ नेपालमै बिलेट उत्पादन गर्ने हो भने तत्काल २० हजार रोजगारी बढ्छ । तर यहाँ त के पनि भनिएको छ भने नेपालमा त्यस्ता दक्ष कामदार छैनन्, सबै बाहिरबाट ल्याउनु पर्छ । अर्को कुरा उद्योग पनि बन्द हुँदा भएको रोजगारी पनि गुम्छ । यो त वास्तविकता नै हैन र ?
बिलेट भनेपछि रोलिङको लागि जति जनशक्ति चाहिन्छ, हिजो र भोलीका दिनमा कुनै फरक पर्दैन । उदाहरणका लागि अहिले कुनै रोलिङ मिलले बिलेट बनाउँदैन । डण्डी मात्र बनाउँछ भने त्यसमा १ सय जना कामदार चाहिन्छ । तर त्यतिनै परिमाणको बिलेट बनाउन अर्को उद्योग लगाउदा थप २ सय जना कामदार चाहिन्छ । बिलेट आफैमा तयारी बस्तु हो । यसबाट डण्डी बनाउँदा धेरै भ्यालुएड हुँदैन । यो आयात व्यापार मात्रै हो । हाम्रो अनुमानमा अहिले नेपालको रोलिङ मिलले बिलेट आयात गरेर डण्डी बनाउँदा १० हजार कामदार कार्यरत छन् । भोलीका दिनमा त्यतिनै बिलेट नेपालमा बनाउने हो भने २० हजार कामदार तत्काल चाहिन्छ । अर्को कुरा त्यस्ता उद्योगका लागि आवश्यक जनशक्ति नेपालमै उपलब्ध छन् । केही समयमा लागि केही प्राविधिक विदेशबाट ल्याउनुपर्ने हुनसक्छ तर त्यसलाई विस्तारै नेपाली कामदारले प्रतिस्थापन गर्ने हो ।
अहिले मेरै लक्ष्मी स्टिलले स्पञ्ज आईरनबाट बिलेट उत्पादन गर्दै आएको छ । त्यहाँ सबै नेपाली कामदारनै छन् । किन चाहियो विदेशी कामदार ? हिजोका दिनमा भारतीय कामदार सस्तो भएकाले नेपाली उद्योगहरुमा उनीहरुको बाहुल्यता थियो । तर अहिले भारतीयभन्दा नेपाली कामदारनै उपयुक्त तबलमा पाउन थालिसके भने किन भारतीय कामदार राख्ने ? अबका दिनमा कुनै पनि उद्योगीले भारतीय कामदार राख्दैनन् । नेपाली कादमारलाई नै रोजगारी दिन्छन् ।
स्पञ्ज आईरनबाट बिलेट उत्पादन गर्दा धेरै जोखिम हुने, त्यसबाट जनधनको क्षति हुनुका साथै यो कामदारको हित विपरित छ भन्ने तर्क पनि छ नि ?
हाहा… । यो अर्को ठूलो हास्यास्पद कुरा हो । अहिले यहिँ तापक्रममा क्लिङ्कर बनाउने भट्टी छन । अहिलसम्म कति पड्कियो र कति मान्छे मरे ? अहिले पनि हामीले नै त्यसरी भट्टी राखेर स्पञ्जबाट बिलेट बनाईरहेका छौं तर अहिलेसम्म कुनै जनधनको क्षति भएको छैन । यसको तात्पर्थ के हो भने आकाशमा उड्ने प्लेन भुईंमा खस्न सक्छ त्यसैले ३ दिनको बाटो भएपनि म गाडिमै यात्रा गर्छु भनेजस्तै हो । यदि कसैलाई डर लाग्छ भने उद्योग नलगाउँदा भैहाल्छ नि । कुनै पनि काम गर्दा सुरक्षाका लागि सोही अनुरुपका उपकरण प्रयोग गर्नुपर्यो नि । के रोलिङ मिलमा चाहिं सेफ्टी हुन्छ र ? तातो फलामबाट प्रतिघण्टा ७२ किलोमिटर स्पिडमा डण्डी निस्किरहेको हुन्छ । उहाँहरुकै उद्योगमा त्यसरी तातो डण्डी उछिट्टिएर कामदारको मृत्यु भएको उदाहरण पनि छ ।
त्यसैले यी तथ्यहिन कुराहरु हुन । साथीहरुले विरोधका लागि विरोध मात्रै गरिरहेका छन् । त्यो भन्दा उत्तम सबै मिलेर बिलेट उत्पादन गरौं यो नै देश र उद्योगीको भलाईमा हुनेछ ।
नेपालमै पनि फलामखानी उत्खननको प्रयास अघि बढेको छ । यो सम्भव भएमा त्यसलाई रिफाइन गरेर नेपालमै डण्डी बनाउन सक्ने क्षमता हामीसँग छ कि छैन ?
छ नि किन नहुनु । स्पञ्ज आईरन भनेको ढुंगालाई कुटेर जसरी गिट्टी बनाईन्छ त्यसरीनै कच्चा फलाम (फलामको धाउ) लाई कुटेर बनाईएको गिट्टी हो । त्यहिँ फलामे गिट्टीलाई ग्याँसको चिम्नीबाट सामान्य तताएर स्पञ्ज आईरन बनाइन्छ । खानीबाट निकालिएको फलामको धाउलाई स्पञ्जमा परिणत गर्न त्यस्तो धेरै ठूलो प्रविधि तथा लगानी चाहिँदैन ।
अहिले सरकारले धौवादी, फुलचोकीदेखि धेरै स्थानमा फलाम उत्खनन गर्दैछ । तसर्थ भोलीका दिनमा स्पञ्ज आईरनसमेत आयात गर्न नपर्ने अवस्था आउनेछ । पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थबाटै डण्डी उत्पादन गर्न सक्नेछौं । तर यदि अहिले हामीले नेपालमै एमएस बिलेट उत्पादन गर्न नथाल्ने हो भने नेपाली खानीबाट निकालिने फलाम कौडीको मुल्यमा भारत निर्यात गर्नुपर्ने अवस्था आउने छ ।
खानीबाट फलाम निकालेर तीन चरण पार गरेपछि डण्डी उत्पादन हुन्छ । जसमध्ये सबैभन्दा सहज फलामको धाउबाट स्पञ्ज आईरन बनाउनु हो । त्यसपछिको अर्को सजिलो प्रक्रिया भनेको बिलेटबाट डण्डी बनाउनु हो । तर सबैभन्दा कठिन र बढी भ्यालु एड हुने भनेको स्पञ्जबाट बिलेट उत्पादन गर्नु हो । जुन हामीले अहिले गर्दै छौं । अहिले जसरी हामीले डण्डी बनाएका छौं, त्यो भनेको फलामको पाता कुटेर कुटो कोदालो बनाजस्तो मात्रै हो । त्यसमा कुनै क्वालिटी कन्ट्रोल हुँदैन । जस्तो बिलेट आयात हुन्छ, त्यसलाई तताएर तन्काउने मात्र हो डण्डी उत्पादन ।