२९ बर्षको उमेरमै निजी क्षेत्रको सबैभन्दा ठूलो छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको उपाध्यक्ष बनेका राजेन्द्र खेतान नेपालको व्यावसायिक वृत्तमा चर्चित नाम हो । व्यावसायिक घराना खेतान समुहलाई एउटा उचाईमा पुर्याउन उनको सक्रिय भुमिका रह्यो । तर, पछिल्लो समय उनी आफ्नो सार्वजनिक सक्रियता घटाइरहेका छन । अफिसमै बसेर नेप्सेको रातो र हरियो रङ्गसङ्ग दाजेर आफ्नो नाफा घाटाको हिसाबमा व्यस्त छन उनी । प्रस्तुत छ उद्यमी एवं संविधानसभाका सभासद खेतानका पछिल्ला यिनै गतिविधिसङ्ग केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानी :
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको उपाध्यक्ष भैसकेको व्यक्ति लामो समयदेखि गुमनाम हुनुहुन्छ नि । किन ?
सानै उमेरमा नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध भइयो । २५ बर्षको उमेरमा महासंघको केन्द्रिय सदस्य भएर २९ बर्ष नपुग्दै महासंघको उपाध्यक्ष हुँदा रोजगारदाता परिषद्को सभापति भएर पनि काम गरें । त्यसपछि पनि पुनः दोस्रो कार्यकालको लागि उपाध्यक्ष भए । त्यसपछि पनि म अध्यक्षमा नउठेर हाम्रो टीमले गोपाल श्रेष्ठलाई अध्यक्षमा उठाएका थियौं तर उहाँ पराजित हुनुभयो । त्यसपछि हामीे महासंघको राजनीतिबाट विस्तारै बाहिरिन थाल्यौं । त्यसमा पनि दुई ओटा कारण छन् । पहिलो त आफ्नो समुह पराजित भएपछि निर्वाचित भएर आउने व्यक्तिलाई सहज रुपमा काम गर्न दिनुपर्छ भन्ने हो । र अर्को कुरा एउटै व्यक्ति लामो समयसम्म संस्थामा बसिरहँदा नयाँ आउने पुस्ताले अवसर पाउँदैनन् । नयाँ पुस्तालाई अवसर दिनका लागि पनि मैले महासंघ छाडे । मान्छेको एउटा लिमिट वा लक्ष्य हुन्छ । जहाँसम्म पुग्न सकिन्छ पुग्यो, यदि पुग्न सकिँदैन भने टासिएर बसिरहनु हुँदैन नयाँ पुस्ताका लागि छाडिदिनुपर्छ ।
त्यसपछि म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान)को उपाध्यक्ष भए । तर त्यस संस्थामा पनि अध्यक्ष भईन । संस्थामा लामो समयदेखि सेवा गर्दै आउनुभएका धेरै पुराना व्यक्तिहरु नेतृत्वका लागि अगाडि आउनु भएको थियो । मैले नेतृत्व लिँदा उहाँहरुमाथि अपमान हुन्छ भनेर छाडिदिएँ । यहिंबीचमा संविधानसभा सभासद हुने मौका पाएँ । कुनै पनि पार्टीबाट टिकट नलिईकन विभिन्न क्षेत्रका २६ जना विज्ञमध्येबाट सभासद भएको थिएँ । हामीले त्यतिबेला पनि सभासद निलाम्बर आचार्यको नेतृत्वमा २६ जनाको गैरराजनीतिक टीम बनाएर काम गर्यौ । त्यतिबेला मैले प्र्राकृतिक स्रोत आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको मुख्य समिति, उप समिति, अध्ययन गरी तीनओटै समितिमा बसेर काम गरें । यसैगरी राज्य व्यवस्था र सार्वजनिक लेखा समितिमा समेत बसेर काम गरें । यसरी काम गर्दै जाँदा अनुभवको दायरा पनि फराकिलो हुँदै गयो । हामीले सधै नेतृत्वमा बसिरहनुपर्छ भन्ने लोभ गर्नु हुँदैन । क्षेत्रगत रुपमा आफुलाई अब्बल बनाउने हो ।
‘वित्तीय क्षेत्र अन्तर्गतका हरेक क्षेत्रलाई समेट्दै त्यसको विभिन्न तह र तप्कामा आफ्नो पहुँच कसरी पुर्याउने भन्ने विषयमा अहिले केन्द्रित भैरहेको छु । बैंकिङ् क्षेत्र तथा फाइनान्सियल मार्केटको सबै क्षेत्र समेट्ने गरी हाम्रो टीमले काम गरिरहेको छ ।’
त्यसलगत्तै वाणिज्य दूतहरुको डीन बनेर एक बर्षसम्म काम गर्ने मौका पनि पाएँ । डीनको कार्यकाल सकिएपछि अग्रवाल सेवाकेन्द्रको अध्यक्ष हुने अवसर पनि मिल्यो । मैले एकपछि अर्को गर्दै सामाजिक, राजनीतिक, धार्मिक, चेम्बर मुभमेन्ट, संविधान लेखनजस्तो महत्वपूर्ण काम गर्ने मौका मिल्यो । सोही क्रममा अहिले फ्रान्सेली कल्चरल सेन्टको अध्यक्ष हुने अवसर जुट्यो । यो क्रममा कतै न कतै आबद्ध भएर काम गर्दै आएको छु । तर कुनै पनि ठाउँमा नेतृत्व नै लिएर अघि बढ्नुपर्छ, आफै नभई हुँदैन भनेर आकांक्षा वा महत्वाकांक्षा चाहिँ राखिन ।
नेपालकै चर्चित व्यावसायिक घराना समूहका रुपमा अहिले चाहीं तपाईंको व्यावसायिक अवस्था के हो ? नयाँ लगानी पनि गर्दै हुनुहन्छ कि ?
हाम्रो समुहको पारिवारिक व्यवसाय अलग भैसकेपछि मैले औद्योगिक क्षेत्र छाडें । मेरो कार्यशैली अनुसार औद्योगिक क्षेत्र मलाई ‘सुट’ गर्दैन । किनकि उद्योगमा श्रम समस्या, जग्गाको समस्या, व्यवस्थापन देखिका समस्या समाधान गर्दा धेरै नै कठिन र जटिल छ । त्यसैले मैले आफूलाई वित्तीय क्षेत्रमा उभ्याउने प्रयाय गरें । बैंकलाई मुख्य कम्पनीको रुपमा अघि बढाएर त्यस मातहत अन्य कम्पनी थप्दै गएँ । अहिले बैंकसँगै वित्तीय क्षेत्रका ६ ओटा कम्पनी थपिसकें भने अन्य ४ ओटा कम्पनी दर्ताको क्रममा छन् । आगामी दिनमा देशका लागि आवश्यक वित्तीय क्षेत्रका नयाँ कम्पनी कसरी ल्याउने भन्ने विषयमा अध्ययन अनुसन्धान पनि गरिरहेका छौं । वित्तीय क्षेत्र अन्तर्गतका हरेक क्षेत्रलाई समेट्दै त्यसको विभिन्न तह र तप्कामा आफ्नो पहुँच कसरी पुर्याउने भन्ने विषयमा अहिले केन्द्रित भैरहेको छु । बैंकिङ् क्षेत्र तथा फाइनान्सियल मार्केटको सबै क्षेत्र समेट्ने गरी हाम्रो टीमले काम गरिरहेको छ ।
अहिले हरेक हप्ताको आईतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्मको समय सेयर बजारमा बित्छ । त्यसबाहेका अन्य समय वित्तीय क्षेत्रलाई कसरी विस्तार गर्ने, वित्तीय क्षेत्रका केकस्ता नयाँ कम्पनीहरु स्थापना हुँदैछन् त्यसमा आफ्नो संलग्नता कसरी बढाउने, आफ्नै ग्रूपभित्र वित्तीय क्षेत्रका सिस्टर कम्पनीहरु कसरी खडा गर्ने, फाइनान्सियल टेक्नोलोजी सम्बन्धी नयाँ कम्पनी खडा गर्ने विषयमा छलफल तथा अनुसन्धान गरिरहेको हुन्छु । वित्तीय क्षेत्रका ग्लोबल औजारहरुलाई नेपाल भित्र्याउन काम गर्दै आएको छुु । वित्तीय क्षेत्रमा आफ्नो पहुँच वृद्धिकै लागि लक्ष्मी बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) कै ५ प्रतिशत सेयर खरिद गर्यो । यसरी हेर्दा नेपालमा भएको वित्तीय क्षेत्रको हरेक तह र तप्कामा हाम्रो उपस्थिति छ । तर अब यसलाई थप मजबुद र फराकिलो बनाउनेतर्फ ध्यान केन्द्रित गरिरहेको छु ।
नेपालको सन्दर्भमा व्यवसायीक घरानाहरुले आफ्नो नेतृत्वपछि नयाँ पुस्तालाई पनि स्थापित गराउँदै आएका छन् । तर खेतान समुहबाट चाहिं तपाईंले जति समय नेतृत्व गर्नुभयो, त्यसपछिको पुस्ता आएको देखिएन नि ?
मैले सानै उमेरमा महासंघको उपाध्यक्षसम्मको नेतृत्व सम्हालें । त्यपछि म बाहिरिएँ । अहिले हाम्रो पछिको पुस्ताको चेम्बर मुभमेन्टमा संलग्न हुने वा त्यो भुमिका निर्वाह गर्ने प्रतिनिधि छैन । मेरो परिवारको जेठो बच्चा नै भर्खर स्नातकोत्तर गर्दैछ । अहिले नै त्यो भुमिकामा रहेर काम गर्ने समय आईसकेको छैन । समय भएपछि चेम्बर मुभमेन्टमा संलग्न हुने वा नहुने भन्ने व्यक्तिमा भर पर्छ । यदि महासंघलगायतका व्यवसायीक संघसंस्थामा रहेर काम गर्न चाहेको खण्डमा मात्रै हामीले सहयोग गर्ने हो । यस्ता विषयलाई व्यक्तिगत ईच्छामा छाडिदिनुपर्छ । आफ्नो समुहको प्रतिनिधित्व गराउने भन्दैमा ईच्छानै नभएको व्यक्तिलाई जबर्जस्ती संलग्नता गराउनु हुँदैन ।
तर अहिले त एउटै व्यक्ति बारम्बार नेतृत्वको लागि मरिहत्ते गर्ने आफू नभए आफ्नो पुस्ता खोज्ने जस्ता प्रवृत्ति हाबी देखिन्छ । यस्तो प्रवृत्तिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
कुनै पनि संस्थामा सबै जना अध्यक्ष बन्न सक्दैनन् । अध्यक्ष एउटा बन्ने हो अन्य व्यक्ति उपाध्यक्ष, समितिका सभापति तथा सदस्य बन्ने हो । समय अनुसार अघि बढ्ने हो । अध्यक्षमा आफ्नो भुमिका देखियो भने त्यसको प्रतिस्पर्धामा उत्रिने । यदि हारियो भने सहयोगीको भुमिका निर्वाह गर्ने हो । तर एउटै पदमा लामो समयसम्म दोहोरिने वा प्रतिस्पर्धामा उत्रिने गर्नुहुँदैन । एउटै व्यक्ति संस्थामा लामो समयसम्म बस्यो भने नयाँ पुस्ताले ठाउँ पाउँदैन । कुनै पनि संस्थामा आफूले गर्नुपर्ने भुमिका तथा दायित्व निर्वाह गर्ने हो । कुनै पनि संस्थामा आफूले पूँजी जुटाईदिने हो वा बौद्धिकता दिने, श्रम, विचार र व्यवस्थापन दिने हो । यो दिएपछि आफुलाई स्याचुरेट ठानेर त्यसलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जाने हो । अथवा अलगधारका वा नयाँ संस्था छन् भने त्यसमा आफ्नो आबद्धता बढाउँदै जाने हो । जो मान्छे २० औं बर्षदेखि एउटै संस्थामा बसिरहनु भएको छ उहाँहरुले पनि यस विषयमा सोंच्ने बेला आयो भन्ने मेरो अनुरोध हो ।
‘सक्रिय रुपमा काम गर्दै आएका उद्योगी तथा व्यवसायी राजनीतिक दलसँग आस्था र बौद्धिकताको आधारमा जोडिनु ठिक हो । तर क्रियाशिल राजनीति चाहिं गर्नु हुँदैन । यो राजनीतिज्ञको पेशा हो, व्यवसायीको पेशा राजनीति होइन । दुईओटा पेशालाई फ्युजन गर्ने वित्तिकै दुर्घटना हुने सम्भावना बढी हुन्छ ।’
पछिल्लो समय धेरै उद्योगी व्यवसायीहरु मुलधारको राजनीतिमा प्रवेश गरिरहेका छन् । तपाई त संविधानसभा सदस्य नै भईसकेको व्यक्ति । तपाईको पनि मुलधारको राजनीतिमा आउने तयारी छ कि ?
एउटा उद्योगी मुलधारको राजनीतिमा आयो भने आफ्नो व्यापार व्यवसायलाई अघि बढाउन कठिन हुन्छ । मुलधारको राजनीति गर्ने व्यक्तिले व्यापार व्यवसाय गर्न सक्दैन भने व्यापार गर्ने व्यक्तिले मुलधारको राजनीति गर्न हुँदैन भन्ने हो । तर त्यसो भन्दैमा राजनीतिप्रति आस्था हुँदैन भन्ने होइन । आफूले आस्था राखेको राजनीतिक पार्टीलाई बौद्धिक रुपमा सहयोग गर्नुपर्छ । आस्थाअनुसार व्यापारको प्रकृति हेरेर मुलधारको राजनीतिमा आबद्ध भैहाल्नु पर्छ भन्ने मेरो धारणा छैन ।
व्यवसायीहरुमा पार्टी प्रवेशको लहर पनि देखिन्छ नि ?
यो आआफ्नो आस्थाको विषय हो । सक्रिय रुपमा काम गर्दै आएका उद्योगी तथा व्यवसायी राजनीतिक दलसँग आस्था र बौद्धिकताको आधारमा जोडिनु ठिक हो । तर क्रियाशिल राजनीति चाहिं गर्नु हुँदैन । यो राजनीतिज्ञको पेशा हो, व्यवसायीको पेशा राजनीति होइन । दुईओटा पेशालाई फ्युजन गर्ने वित्तिकै दुर्घटना हुने सम्भावना बढी हुन्छ । अहिले झट्ट हेर्दा आस्थाको आधारमा पार्टी प्रवेशको लहर चलेको छ । त्यो ठिकै होला । तर यदि क्रियाशिल राजनीति गर्नुहुन्छ भने आफुले सम्हाल्दै आएको पेशा व्यवसाय आफ्नो परिवारका व्यक्तिलाई जिम्मा लगाएर अघि बढ्नुपर्छ । राजनीति र व्यवसायलाई अलग अलग रुपमा अघि बढाउनुपर्छ ।
उद्योगी व्यवसायीहरु आपूलाई खुला बजार अर्थतन्त्रका हिमायती सम्झन्छन् भने कम्युनिष्टहरु राज्य नियन्त्रित व्यवस्थालाई बढी प्रश्रय दिन्छन् । तर अहिले उद्योगी व्यवसायीहरुनै लामबद्ध रुपमा कम्युनिष्ट पार्टीमा प्रवेश गरिरहेका छन् । कतै यो विरोधाभाष त भएन ?
यसलाई विरोधाभाष भन्दा पनि नेपालको कम्युनिष्ट मुभमेन्टमा कम्युनिष्टहरुलाई सत्तामा आईसकेपछि लेफ्टिस्ट भित्रको राईटिस्टको रुपमा लिनुपर्छ । सत्तामा आएपछि राईटिस्ट नै देखिन्छन्, लेफ्टिस्ट देखिदैनन् । र कम्युनिष्ट सरकारमा गैसकेपछि खुला बजार अर्थतन्त्रसँग बाझिने कुनै पनि निर्णय गरेको पनि देखिदैन । हामीले संविधान सभाको कमिटिमा बसेर काम गर्दा पनि कुनै विषयमा विवाद भएन । एउटै मात्र कुरा सरकारी आवश्यकताको लागि कुनै जग्गा जमिन सरकारले लिन पर्यो भने त्यसको क्षतिपूर्ति दिने कि नदिने भन्ने विषय केही विवाद भयो । तर त्यसबाहेक सबै विषयमा सहमति जुट्यो । नेपालको कम्युनिष्ट वा कम्युनिष्ट मुभमेन्ट खुला बजार अर्थतन्त्रसँग धेरै मिलेको छ । कसैले स्वीकार गर्छ वा गर्दैन त्यो आफनो ठाउँमा छ तर नेपालको कम्युनिष्ट लेफ्ट भित्रका राईटिष्ट हुन । हामी एक अर्काका पुरक हौं त्यहिं रुपमा देखा परेका छौं । कम्युनिष्टहरु सत्ता बाहिर बस्दा लेफ्ट लेखिएपनि सत्तामा पुगेपछि गरिने व्यवहार राइटिष्ट हुँदै आएको देखिन्छ ।
तपाईं आफै सरकारको राजस्व बाँडफाडदेखि प्राकृतिक स्रोत र साधन समितिमा बसेर काम गर्नुभयो । अहिले व्यवसायीहरुमाथि राज्यले जसरी कर लगाउँदै आएको छ, त्यसलाई कसरी नियाल्नु भएको छ ?
संघीयतामा गएपछि यी कुरा अपरिहार्य हुन् । किनकि अहिले तीन तहको राज्य संचालन गर्नुपरेको छ । पहिला दुई तहको राज्य संचालन हुँदै आएकोमा प्रादेशिक प्रणाली पनि थपिएको छ । निश्चयपनि यसले व्यवसायीमा करको भार बढी बनाउँछ । राज्य भनौ वा जनताले म्याण्डेड दिएको नेतृत्वले नै उक्त कुरा स्वीकार गरेर कागजी रुपमा उतारेर कानुननै निर्माण गरेर कार्यान्वयनमा ल्याईसकेपछि हामीले बोल्ने वा विरोध गर्ने ठाउँ रहँदैन । तर यसलाई कसरी समायोजन गर्ने भन्ने विषय मुख्य हो । स्थानीय तहमा दिएको कर प्रदेश र प्रदेशमा तिरेको कर केन्द्रमा लगेर समायोजन गरिनुपर्छ । यी तीन निकायबीचको समन्वय नहुँदा उद्योगी व्यवसायीहरु मारमा परिरहेका छन् । यसमा त्रुटि भएको छ, सम्बोधन गर्नु जरुरी छ ।
हामीले संविधान सभामा काम गर्दा स्थानीय तहसँग जोडिएका विषयका कर उठौती अधिकार स्थानीय तहलाई नै दिने तर प्रदेश र संघले नउठाउने, प्रदेशसँग जोडिएको कर संघ र स्थानीय तहले नउठाउने र संघले उठाउनले कर प्रदेश र स्थानीय तहले नउठाउने भन्ने निर्णय भएको थियो । तर अहिलेसम्म समायोजन हुन सकेको छैन । यस विषयमा चेम्बर मुभमेन्टमा लागेका छाता संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ तीनओटै मिलेर सरकारसँग छलफल गरेर उद्योगी व्यवसायीका समस्यालाई निष्कर्षमा पुर्याउनुपर्छ । तर यस विषयमा सफल भएको देखिदैन ।
अहिले व्यवसायीहरु उद्योग बन्द गर्दै व्यापारतर्फ आफूलाई अघि बढाईरहेका छन् । कुनै समय नेपालको खानीदेखि उत्पादनसम्म पहुँच भएको खेतान समुहले औद्योगिकरणमा आफूलाई ‘मिस’ गर्छ कि गर्दैन ?
भारत र चीनको उत्पादनको आकार र ती दुई देशको प्रतिस्पर्धात्मक क्षमताको अगाडि हाम्रो प्रतिस्पर्धात्मक क्षमता छैन । जसका कारण हाम्रो औद्योगिकरणको ठूलो पाटो छुट्टिन पुग्यो । अब राज्यले चीन र भारतसँग सहमति गरेर त्रिपक्षीय रुपमा नेपालको औद्योगिकरणको बाटो बनाउनुपर्छ । अन्यथा हामी प्रतिस्पर्धात्मक नभई तुलनात्मक लाभको क्षेत्रमा जाने भयौं । तर हामीले अहिलेसम्म तुलनात्मक लाभका क्षेत्र पहिचान गर्न सकेका छैनौं ।
‘राज्यको नियम कानूनमा कुनै समस्या छैन । हाम्रो व्यवसाय गर्ने क्षमता नै नपुगेको हो । तर लालशाही कर्मचारीतन्त्रले ठूलो समस्या देखिएको छ । त्यसलाई निराकरण गरिनुपर्छ । त्यो राजनीतिक इच्छाशक्तिले मात्रै सम्भव हुन्छ ।’
हामी अहिले जलविद्युत, पर्यटन, कृषि तथा स्थानीय स्तरमा माग भएको उत्पादनमा अड्किएर बसिरहेका छौं । यदि नेपालले औद्योगिकरणमा फड्को मार्ने हो भने चीन र भारतसँग कसरी उभिने, त्यसरी उभिंदा सम्बन्धित देशसँग हाम्रो प्रतिस्र्धात्मक लाभको क्षेत्र कुन हो, त्यसमा चीन र भारतबाट असर नगर्ने गरी सम्झौता गर्नुपर्छ र सोही अनुरुप काम अघि बढाउनुपर्छ । यसरी काम गर्दा नेपालको ओद्योगिकरणको क्षेत्र तथा दायरा फराकिलो हुन्छ । यस विषयमा राज्य तथा निजी क्षेत्र दुवैले काम गर्न सकेन । यसमा हामी चुकिरहेका छौं । पक्कै पनि कुनै समय खानीदेखि उत्पादनसम्म आफ्नो पकड जमाएको खेतान समुहले भोलीका दिनमा आफ्नो भुमिका निर्वाह गर्नेछ ।
लामो औद्योगिक विरासत भएको खेतान समुहको अबको भुमिका के रहन्छ ?
हामी व्यापारी हौं जहाँ अवसर देख्छौै त्यहाँ काम गर्छौं । अहिलेको अवस्थामा औद्योगिकरणतर्फ मेरो ध्यान कम भएको छ । तर भोलीका दिनमा राम्रो अवसर आउँछ, बजारमा दक्ष जनशक्तिहरु उपलब्ध हुन्छ, नयाँ प्रविधि भित्रन्छ, ज्वाईन्टभेञ्चर आउँछ, सोही अनुरुप बजारको उपलब्कता हुन्छ र प्रतिस्पर्धी क्षमता हुन्छ भने हामी त्यसमा जानु पर्छ र जान्छौं पनि ।
कतिपय राज्यका नीतिका कारण व्यवसायमा समस्या आयो भन्ने गुनासो पनि सुनिन्छ । राज्यको नीति हो वा व्यवसायीको व्यवसाय गर्ने क्षमता नभएको हो ?
राज्यको नियम कानूनमा कुनै समस्या छैन । हाम्रो व्यवसाय गर्ने क्षमता नै नपुगेको हो । तर लालशाही कर्मचारीतन्त्रले ठूलो समस्या देखिएको छ । त्यसलाई निराकरण गरिनुपर्छ । त्यो राजनीतिक इच्छाशक्तिले मात्रै सम्भव हुन्छ । तर मुख्य समस्या भनेको हाम्रो प्रतिस्पर्धी क्षमता नहुनु नै हो । यसका लागि भारत र चीनसँग त्रिपक्षीय व्यवसायीक सम्झौता हुनैपर्छ । त्यस्तो सम्झौता भएपछि नेपालको कुन कुन क्षेत्रमा आफ्नो क्षमता छ वा उत्पादन गर्न सक्छ त्यस्ता मालसामान भारत र चीनले नेपालमा निर्यात गर्न नपाउने व्यवस्था गरिनुपर्छ । यदि पठाएको खण्डमा एण्टी डम्पिङ लाग्ने सम्झौता हुनपर्छ । त्यसपश्चात हाम्रो प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै तुलनात्मक लाभ पनि हुनेछ । यस विषयमा अध्ययन गरेर औद्योगिकरणलाई फराकिलो बनाउनुपर्छ । यो राज्य र निजी क्षेत्र दुवै मिलेर गर्नुपर्छ । अहिलेको अवस्थामा औद्योगिकरणमा निजी क्षेत्र असक्षम नै भएको देखिएको छ भने राज्यको पनि भारत र चीनसँग गर्नुपर्ने लबिङ पनि ज्यादै कमजोर छ । नेपालले आफूले आफुलाई औद्योगिकरणका लागि कसरी उभ्याउने हो प्रष्ट रुपमा त्रिपक्षीय रुपमा व्यापार सम्झौता गर्नुपर्छ ।