Logo

भारतमा कोरोना खोप लगाएका दुईजना स्वास्थ्यकर्मीको मृत्यु, ५८० मा ‘साइड इफेक्ट’

भारतमा कोरोना खोप लगाएका दुईजना स्वास्थ्यकर्मीको मृत्यु, ५८० मा ‘साइड इफेक्ट’



काठमाडौं । भारतमा कोरोनाविरुद्धको खोप लगाएका केहीमा नकारात्मक असर देखिएको छ । भारतले पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाएको थियो । जसमध्ये अहिलेसम्म ५ सय ८० जनामा नकारात्मक असर देखिएको बताइएको छ।

तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् भने २ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा एक जना र उत्तर प्रदेशमा एक जनाको मृत्यु भएको हो।

कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा जारी खोप अभियानमा तीन दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ। खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा प्रतिकुल असर देखिएको हो।

भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरे पनि तीन दिनमा जम्मा ३ लाख ८१ हजारलाई खोप दिन सकेको हो। पहिलो दिन तोकिएकोमध्ये ६४ प्रतिशतलाई खोप प्रदान गरिएको छ । अधिकारीहरुका अनुसार कयौँ राज्यमा खोपका लागि तोकिएका व्यक्तिहरु खोप केन्द्रमा पुगेका छैनन्।

खोपका विषयमा भएका विभिन्न नकारात्मक प्रचार, जनचेतनाको अभाव लगायतका कारणले मानिसहरु खोप केन्द्रमा नपुगेको ठानिएको छ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL