काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकारको संक्रमण केहि व्यक्तिहरुमा पुष्टि भए पछि जापान सरकारले नेपाली तथा विदेशी नागरिकहरुलाई जापान प्रवेशमा रोक लगाउने भएको छ ।
जापानको विदेश मन्त्रालयले सोमबार डिसेम्बर २८ देखि जनवरीको अन्तिमसम्म सो नियम लागु हुने जनाएको छ । यस नियमअनुसार नयाँ भिषा पाएका व्यक्तिहरुले जापान प्रवेश गर्न नपाउने भएका हुन् ।
जापानका सञ्चार माध्यमअनुसार जनवरीको अन्त्यदेखि जापान प्रवेश गर्ने जापानी तथा विदेशी नागरिकले १४ दिनसम्म क्वारेन्टाईनमा रहनुपर्ने छ ।
यसबाहेक ७२ घण्टाभित्रको नमूना परीक्षणमा कोरोना पुष्टि नभएको प्रमाणपत्र ल्याएमा मात्र प्रवेश पाउने बताइएको छ ।
टोकियोमा शनिबार बेलायतबाट फर्केका दुई व्यक्तिहरुमा नयाँ प्रकारको कोरोना भेटिएपछि जापान सरकारले सो कदम चालेको हो ।