काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ४ लाख ८० हजार ६८४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १६ लाख १० हजार ८०२ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ७ करोड २० लाख ८९ हजार ७६१ छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५ हजार ८२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख २० हजार २९८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार ३०९ जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४०३ हजार ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३९३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ३५४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९८ लाख ५७ हजार ३८० पुगेको हो ।
प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ६८ लाख ८० हजार ५९५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३९० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ८१ हजार १४३ पुगेको छ ।