काठमाडौं । रुसले आगामी अक्टोबरमा कोरोना भाइरसको भ्याक्सिन बितरण गरिने बताएको छ । उसले आफ्ना नागरिकहरुलाई विस्तृत खोप अभियान संचालन गरेर भ्याक्सिन दिइने जनाएको छ । यसअघि कोरोना भाइरसको भ्याक्सिन बिकासमा सफलता प्राप्त भइरहेको प्रतिकृया दिएको रुसले आफ्ना नागरिकहरुलाई यही अक्टोबरमा भ्याक्सिन दिने भएको हो ।
रुस सरकारका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले आगामी अक्टोबरमै रुसी नागरिलाई भ्याक्सिन दिने योजना बनाइरहेको जानकारी दिएका छन् । रुसले यतिबेला तीब्र रुपमा भ्याक्सिन बिकासको काम गरिहेको छ । अघिल्लो महिना रुसी बैज्ञनिकहरुले कोरोना भ्याक्सिनको सुरुवाती ट्रायल पूरा गरिसकेको जानएका थिए । र त्यसको नतिजा सकारात्मक भएको दावी गरेका थिए ।
अब अक्टोबरमा दिइने भ्याक्सिन सबैभन्दा पहिले डाक्टर र शिक्षकलाई दिइने स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले रुसी मिडियालाई बताएको बीबीसी हिन्दीमा उल्लेख छ । कोरोना भाइरस बिरुद्ध भ्याक्सिन चलाउन सम्भवत यो महिनामै नियामक निकायले स्वीकृति दिनेछ ।
अमेरिकामका संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले भने रुसको यो कदमप्रति चिन्ता व्यक्त गरेका छन् । उनले रुस र चीनले आफ्ना नागरिकलाई कोरोना भ्याक्सिन दिनुअघि सम्बन्धित सबै परीक्षण तथ्य रुपमा नै गरिरहेको या बास्ताबिकता भन्दा टाढा रहेको हो कि ? भन्नेमा चिन्ता व्यक्त गरेका हुन् । उनले अमेरिकाले पनि कोरोनाको प्रभावकारी भ्याक्सिन निर्माण गरिरहेको बताए ।
डाक्टर एन्थोनी फाउचीले यो बर्षको अन्तिमसम्मा अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन ल्याउने दावी गरे । उनले भने –‘यो वर्षको अन्त्यसम्म अमेरिकाले सुरक्षित र प्रभावकारी कोरोना भ्याक्सिन ल्याउनेछ । त्यसपछि अमेरिकाले आधुनिक भ्याक्सिनका लागि कुनै अन्य देशमा निर्भर हुनु पर्दैन।’
कोरोना भाइरसले विश्वलाई भयावह स्थिती सृजना गरेका बेला अमेरिकिा, रुस र चीनसहितका अन्य थुप्रै मुलुकका बैज्ञानिकहरुले यसबिरुद्धको भ्याक्सीन निर्माण गरिरहेका छन् । अहिलेसम्म विश्वभर भण्डै २० भ्याक्सिनको क्लिनिकल ट्रायल गरिएको छ । तर कुनैपनि मुलुकले पूर्ण रुपमा कोरोना भाइरस संक्रमण रोक्न सकिने औषधि निर्माण गर्न सकिरहेका छैनन् ।
यहीबीच रुसी स्वास्थ्यमन्त्रीले भने मस्कोमा रहेको गामालेया इन्स्टिच्यूटले कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायलको सम्पूर्ण काम सक्नेक्रममा रहेका जनाएको छ । यसलाई सरकार मार्फत बैधानिकता दिन रजिस्टर गर्नको लागि कागजी प्रकृयामा रहेको जानकारी दिएको छ । एजेन्सी