Logo

अमेरिकाले १० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गर्यो, रुसका धनाढ्यले भ्याक्सिन लगाइसके

अमेरिकाले १० करोड डोज भ्याक्सिन किन्ने सम्झौता गर्यो, रुसका धनाढ्यले भ्याक्सिन लगाइसके



काठमाडौं। अमेरिकाले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको १० करोड डोज खरिदको लागि सम्झौता गरेको छ ।

उसले जर्मनीको भ्याक्सिन उत्पादक कम्पनी बायोएनटेकसँग १० करोड डोज भ्याक्सिन खरिदको सम्झौता गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । सम्झौता झण्डै २ अर्ब डलरमा भएको हो ।

अमेरिकी कम्पनी फाइजरसँग मिलेर भ्याक्सिन विकास गरिरहेको बायोएनटेकले बुधबार एक वक्तव्य जारी गर्दै ट्रम्प प्रशासनको प्रतिबद्धता अनुसार अमेरिकी नागरिकले निःशुल्क भ्याक्सिन पाउने जनाएको छ ।

नियामक निकायले स्वीकृति दिएपछि अमेरिकालाई भ्याक्सिन उपलब्ध गराउने गरी अमेरिका सरकारले बायोएनटेकलाई १० करोड डोज भ्याक्सिनको प्रारम्भिक अर्डर दिएको हो । सम्झौताअनुसार अमेरिकासँग थप ५ करोड डोज खरिद गर्न सक्ने विकल्प समेत भएको बाटोएनटेकले वक्तव्यमा जनाएको छ ।

उता रुसका धनाढ्यहरु र राजनैतिक रुपमा शक्तिशाली व्यक्तिहरुले यसअघि नै कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लिइसकेको दावी गरिएको छ ।

ब्लुमबर्गको रिपोर्टअनुसार रुसको सरकारी गेमालेया इन्स्टिच्युटले विकास गरेको प्रयोगात्मक भ्याक्सिन रुसका ठूला व्यवसायीहरु, राजनैतिक रुपमा शक्तिशाली व्यक्तिहरु र सरकारी उच्च पदस्थ अधिकारीहरुले अप्रिलमै लिइसकेका थिए ।

रुसले केही दिनअघि आफूले विकास गरेको भ्याक्सिन सफल भइसकेको दावी गरेको थियो । उसले आफ्नो भ्याक्सिनले सबै चरणका ट्रायल पूरा गरिसकेको सुरक्षित र प्रभावकारी रहेको दावी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL