Logo

कोरोना भाइरसको उदगमस्थल चीनको उहानका ल्याब प्रमुखले भने, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

कोरोना भाइरसको उदगमस्थल चीनको उहानका ल्याब प्रमुखले भने, हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन



न्यूयोर्क । कोरोना भाइरस इन्स्टिच्यूट अफ भाइरोलोजीबाट बाहिर नगएको इन्स्टिच्यूटका निर्देशक वाङ यीले बताएका छन । विश्वव्यापी महामारी मध्य चीनको उहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी ‘पूर्णतः बनावटी र मनगढन्ते’ रहेको निर्देशकले दाबीसमेत गरेका छन ।

निर्देशक वाङ यीले आइतबार राज्यसंचालित संचारमाध्यमलाई दिएको अन्तर्वार्तामा भने, ‘इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौं, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौं । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मंत्री माइक पोम्पेओले उहानमा भेटिएको भाइरस उहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहेका छन । धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा संक्रमित भइसकेको तथा ३ लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोना भाइरस चमेरोबाट मानिसमा संक्रमित भएको दाबी गरिरहेका छन् । यो भाइरस उहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरुको भनाई छ ।

पछिल्ला दिनहरुमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा संक्रमण देखिएको छ भने उपचार गराइरहेका बिरामीको संख्या ७९ जना मात्र छ । दी न्युयोर्क टाइम्सले आइतवार प्रकाशित गरेको समाचार पत्रमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब १ लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनीसमेत छापेको छ । ‘यो फगत नामावली मात्र होइन । उनीहरु हामीजस्तै मानव थिए,’ उपशीर्षकमा भनिएको छ ।

अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोना भाइरस संक्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताए । संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरु एकपछि अर्को खोल्नेक्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जानकारी दिएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगितासमेत रद्द गरेको छ ।

मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेलेका थिए । उनले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गरेका छन । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको संख्या १६ लाख नाघिसकेको छ । क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन् ।

न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोना भाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ । एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७९९ जनासम्मको ज्यान गएको थियो । करिब एक लाख ५५ हजार संक्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ । यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन् ।

कोरोना भाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा ७ जनामा संक्रमण भएको देखिएको छ । दुई हप्ता अघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो । ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रबिन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण संक्रमण व्यापक रुपमा फैलिएको बताएका छन् । यी मुलुकमा लाखौं मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरु सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो ।

ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक संक्रमण र मृत्युको रेकर्ड संख्या देखिएको छ । लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुबै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ । पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ । भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति संक्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ । भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या नाटकीय रुपमा बढेको छ ।

केही देशमा संक्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । (रासस–एपी)

प्रतिक्रिया दिनुहोस्